कर्णालीमा रोकिएन बेरोजगारी !


सरकारले हरेक वर्ष बेरोजगारी कम गर्ने योजना ल्याएको बताएपनि त्यो हवाई घोषणा बाहेक यर्थातमा केही गरेको पाईनदैन् । बरु सरकारीकै तथ्यांकले नै हरेक वर्ष बेरोजगारी दर बढेको देखाउँछ । अहिलेपनि कर्णाली देशकै सर्वाधिक बेरोजगार उत्पादन केन्द्र बनेको छ । यसको अर्थ के भने कर्णालीको विद्यमान अवस्था अझैपनि ठिक नभएको विभिन्न तथ्य–तथ्याङ्कहरुले देखाएका छन् । प्रदेश सरकारले संकलन गरेको तथ्यांकअनुसार कर्णालीमा २० हजारभन्दा बढी साना उद्योग छन् । जसमा ५९ हजार १ सय २५ जनाले रोजगारी पाएका छन् । यद्यपि कम पुँजीमा लगानी गरिएका साना उद्योगबाट पर्याप्त रोजगारीका अवसर सिर्जना हुन सकिरहेका छैनन् । प्रदेश सरकारले स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका मुख्यमन्त्री रोजगार र संघीय सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धिविहीन बनेका छन् ।कर्णालीमा ठूला लगानीका उद्योग व्यवसाय सञ्चालन नहुँदा पनि युवाहरुलाई रोजगारीका अवसरहरु सिर्जना हुन नसकिरहेको अवस्था हो ।

सरकारले हरेक वर्ष गरिबी न्यूनीकरण र दुखारी कर्णालीवासीलाई ‘सुखारी र समृद्ध’ बनाउने उद्देश्यसहित वार्षिक नीति, कार्यक्रम र बजेट ल्याउने गरेपनि कार्यान्वयनमा कमजोर हुँदा आर्थिक, सामाजिक, भौतिक अवस्थामा खासै रुपान्तरण हुन सकेको देखिदैन् । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो तथ्यांकीय प्रतिवेदनले समेत बेरोजगारी दर १२.६ प्रतिशत पुगेको देखाएको छ । जीवनस्तर सर्वेक्षणका अनुसार १५ देखि २४ वर्ष उमेर समूहका २२.७ प्रतिशत युवा बेरोजगार छन् । प्रतिवेदनका अनुसार कर्णालीमा बेरोजगारी दर सर्वाधिक २३.८ प्रतिशत छ भने मधेशमा सबैभन्दा कम ५.५ प्रतिशत मात्रै छ । कर्णालीबाट बर्सेनि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्षको फागुनसम्म कर्णालीबाट १२ हजार युवाहरु बिदेसिएका छन भने आर्थिक वर्ष २०८०÷८१ मा मात्र २४ हजार १ सय ७५ जनाले श्रमस्वीकृति लिएका थिए । जसमा १ हजार ८ सय ६६ जना महिला छन् । कर्णालीमा सुखद र सुरक्षित भविष्यको सपना पूरा गर्ने एक मात्र विकल्प पनि वैदेशिक रोजगारी हो । अधिकांस बरोजगार कर्णालीबासीलाई भारतदेखि मलेसिलगायतका देशमा गएर गुजारा गर्नुपर्ने बाध्यता बढ्दैछ ।
अर्कोतर्फ पेट पाल्नका लागिभन्दा पनि राम्रो कमाई गर्न वैदेशिक रोजगारीमा जाने चलन पछिल्लो समय देखिएको छ । पहिले गाउँका मानिस प्रायः कालापहाड नै रोजगारीका लागि जाने चलन थियो । अहिले बढी मानिसहरुको रोजाइ कालापहाडभन्दा अन्य देश बन्ने गरेका छन् । विकास, समृद्धि र रोजगारीका अवसरहरु नआउँदा गाउँमा सिंहदरबार मात्र होइन, घरआँगनको सरकार आयो भनेर गफ दिनुको कुनै तुक देखिदैन् । स्थानीय सरकारहरुले सडक निर्माणलाई प्राथमिकता दिने र डोजरलाई मात्र सडक निर्माणमा प्रयोग गर्ने गरेपछि डोजर चलाउनेहरुले मात्र रोजगारी पाएँ । बाँकी युवा नेताहरुले चुनावमा उपयोग गर्ने हतियार मात्र बनेपछि बेरोजगार हुने क्रम नरोकिएको हो । युवालाई रोजगारी दिने र स्वरोजगार बनाउने कार्यक्रमभन्दा पनि स्थानीय सरकारले कहाँबाट बढी कमिसन उठाउन सकिन्छ भन्ने गलत धारणाका कारण पनि कर्णालीमा बेरोजगारी दर कम गर्न सकिएको छैन् । अब सरकारले यकिन तथ्यांकहरु संकलन गरी युवा लक्षित प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । तत्कालिन भन्दापनि दिर्घकालिन प्रभावदेखि कार्यक्रम ल्याएर उत्पादनसँग युवालाई जोड्न सके बेरोजगारी दर घटाउन सकिन्छ ।

