नेताहरु साइबर हमलाको शिकार, साइबर सुरक्षामा गम्भीर चिन्ता


काठमाडौं । तनहुँ–१ का रास्वपा उम्मेदवार डा स्वर्णिम वाग्लेले केही दिनअघि पहेंलो वस्त्र लगाएर मन्दिरका पुजारीसँग बसेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरे ।
त्यही फोटो शेयर गर्दै बागमती प्रदेश सांसद लक्ष्मी घिमिरेले विकिपिडियाको स्क्रिनसट राख्दै फेसबुकमा लेखिन्, ‘क्रिश्चियन धर्म मान्नेलाई पनि चुनावका बेला हिन्दुकै शरण पर्नुपर्ने रहेछ । जागो जनता, सधैं भ्रममा नपरौं ।’
त्यस्तै, मोहन लामा रुम्बा नाम गरेको फेसबुक युजरबाट पनि विकिपिडियाको स्क्रिनसट राखेर लेखिएको छ, ‘लौ लौ छिटो छिटो यो विकिपिडियामा इडिट गरेर धर्मको महलमा श्रीश्रीश्री १०००८ स्वामी स्वर्णिमेश्वर महाराज, घण्टेश्वर पीठाधीश भनेर मिलाई हाल्नुस् ।’
यी दुवैले शेयर गरेको विकिपिडियाको स्क्रिनसटमा डा स्वर्णिम वाग्लेको धर्म क्रिश्चियन लेखिएको छ । अहिले सामाजिक सञ्जालमा स्वर्णिम वाग्ले क्रिश्चियन भएको भन्दै चर्को प्रचार गरिएको छ ।
यो प्रचार गर्नुको उद्देश्य वाग्ले हिन्दु धर्मलाई हेला गर्छन् भन्ने भाष्य बनाउनु हो । सञ्जालभर डा वाग्लेविरुद्ध साइबर हमला गरी हेटस्पिच फैलाइएको छ । खासगरी विकिपिडियामा उनको हिस्ट्री हेर्दा डा वाग्लेको विकिपिडियाको विवरण २ दिनमा करीब डेढ सयपटक एडिट गरिएको छ ।
उनले नेपालमा बारबरा फाउन्डेशन र चर्च स्थापनाका लागि मिशनको सदस्यका रूपमा काम गर्ने गरेको भनेर विकिपिडियामा लेख्न खोजिएको छ । विकिपिडियामा सामग्री लेख्न र भएको सामग्री सम्पादन गर्न एउटा सामान्य विकिपिडिया अकाउन्ट बनाएर त्यसमा लग इन गरे पुग्छ । तर, एडिट गर्न चाहेको विवरणको स्रोत भने अनिवार्य रूपमा राख्नुपर्ने हुन्छ । अहिले यही प्रविधिको दुरुपयोग गरी डा वाग्लेविरुद्ध अनर्गल प्रचार गरिएको छ ।
डा वाग्लेले आफूविरुद्ध साइबर हमला गरी प्रचार गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी पनि दिइसकेका छन् । सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भ्रम सृजना गर्ने, धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने उद्देश्यले फैलाइएको भन्दै उनले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको उनको सचिवालयले बतायो ।
अनलाइनमार्फत ब्युरोमा दिएको उजुरीमा डा वाग्लेले बागमती प्रदेशका सांसद लक्ष्मी घिमिरे र अर्का व्यक्ति मोहन लामा रुम्बालगायत व्यक्तिहरूले आफूविरुद्ध फैलाइएका सामग्रीलाई सामाजिक सञ्जालमा शेयर तथा प्रवर्द्धन गरेको दाबी गरेका छन् । ती सामग्री हटाई दोषीमाथि छानबिन र आवश्यक कारबाही गर्न उनले साइबर ब्युरोसँग आग्रह गरेका छन् ।
वाग्लेजस्तै दर्जनौं नेता साइबर हमलाको शिकार हुन थालेका छन् । प्रतिनिधिसभा सदस्य चुनाव नजिकिएसँगै पछिल्लो समय उम्मेदवारहरूलाई कमजोर बनाउन साइबर हमलामार्फत चरित्र हत्या गर्न अनेकौं प्रयास गरिएको छ । कतिपय उम्मेदवारको चरित्र हत्या गर्न एआई दुरुपयोग गरिएको छ भने कतिपयलाई विकिपिडिया एडिटमार्फत हमला भइरहेको छ ।
एआई दुरुपयोग गरी खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा, एमाले सचिव महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाहमाथि साइबर हमला भइरहेको छ । खासगरी टिकटक, फेसबुकहरूमा उनीहरूका डिप फेक भिडियो छ्यापछ्याप्ती छन् ।
हेलिकोप्टर चढेर भागेकोदेखि बाख्रा चराएकोसम्म
खासगरी एमाले अध्यक्ष केपी ओलीलाई एआई दुरुपयोग गर्दै टिकटकमा हेलिकोप्टर चढेर भागेको, जनताले लखेटेको, घण्टी बजाएको, हामीलाई माफ गर्नुहोला हामीले काम गर्न सकेनौंजस्ता ‘स्क्रिप्ट’ मा भिडियो बनाई चरित्र हत्या गर्ने काम भइरहेको छ ।
त्यस्तै, कांग्रेस सभापति गगन थापाले बाख्रा चराइरहेको, घण्टी बजाइरहेको, जनताले लखेटिरहेको जस्ता स्क्रिप्टमा एआई भिडियो बनाई उनको चरित्र हत्या गर्ने काम भइरहेको छ । रास्वपा सभापति रवि लामिछानेको चरित्र हत्या गर्न सहकारी ठगेर जनताको पैसा कुम्लोमा बोकेर हिँडिरहेको, जनताले लखेटिरहेको भिडियो बनाइएको छ । रास्वपा वरिष्ठ नेता एवं रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको बालेन्द्र शाहमाथि पनि साइबर हमला भएको छ । उनीमाथि एआई प्रयोग गर्दै चरित्र हत्या गर्ने काम भएको छ ।
टिकटक, फेसबुकमा बालेनलाई सिंहदरबार जलाउनेदेखि लुसिफरको लुक्समा एआईमार्फत प्रस्तुत गराइएको छ । साइबर हमलाको शिकारमा पूर्वसञ्चारकर्मी एवं आम जनता पार्टीबाट चुनाव लडिरहेका ऋषि धमला पनि परेका छन् । तेरे नामको गीतमा उनले अनेकौं काम गरिरहेको भिडियो सामाजिक सञ्जालमा व्यापक बनाइएको छ ।

खासगरी हाँसो मजाकका रूपमा धमलालाई एआईको माध्यममार्फत प्रस्तुत गरिएको छ । त्यस्ता भिडियोमा थ्रुपै लाइक कमेन्ट आइरहेका छन् । यसरी एआईमार्फत नेताहरूको चरित्र हत्या गरेका भिडियोहरूलाई विपक्षी नेता तथा कार्यकर्ताले शेयर गर्ने गरेका छन् । कतिपय एआई भिडियोहरूमा नेताले भेडालाई सम्बोधन गरिरहेको देखाइएको छ । जनतालाई भेडाका रूपमा प्रस्तुत गर्न खोजिएको छ ।
अनुसन्धान गर्दै संयन्त्रहरू
नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोका अनुसार त्यसरी चरित्र हत्या गरेको उजुरी पछिल्लो समय बढिरहेका छन् । त्यसमाथि छानबिन भइरहको प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए । ‘एआई प्रयोग गरी टिकटक, फेसबुकमार्फत चरित्र हत्या भएको भन्दै दिनहुँ निर्वाचन आयोग र प्रहरीमा उजुरी आइरहेको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ अवस्थीले भने । उनले साइबरको दुरुपयोग गर्दै भइरहेको दुष्प्रचार, चरित्र हत्यालाई नजिकबाट नियालिरहेको बताए ।
उनका अनुसार सूचनाप्रविधिको द्रुत विकास र बढ्दो प्रयोगसँगै आपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोग बढिरहेको छ । सोही कारण अपराधका नयाँ–नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्न खडा गरिएको ब्युरोले अनुसन्धान बढाइरहेको छ ।
निर्वाचन आयोगले पनि एक उच्चस्तरीय संयन्त्र बनाई निगरानी गरिरहेको बताएको छ । आयोगका अनुसार एआई प्रयोग गरी कसैको चरित्र हत्या गर्ने कार्य आचारसंहिताविपरीत हो । अहिले निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएर त्यस्ता कार्य गर्नेमाथि निगरानी गरिरहेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘नेपाल प्रहरीदेखि आईटी विज्ञहरुसमेत सम्मिलित एउटा संयन्त्र बनाएर त्यस्ता कार्य गर्नेलाई कारबाहीको लागि प्रहरीमा सिफारिश गरिरहेका छौं,’ उनले भने ।
भट्टराईका अनुसार उक्त समितिले दैनिक रूपमा सामाजिक सञ्जालमा आइरहेका पोस्टहरूको विश्लेषण गरेर आचारसंहिताविपरीतका पोस्ट भए सूची बनाई हटाउन र कारबाहीका लागि सम्बद्ध निकायलाई पत्राचार गरिरहेको छ । त्यस्ता पोस्टहरू हटाउन सामाजिक सञ्जालसँग पनि समझदारी शुरू गरिएको छ ।
गम्भीर चिन्ता
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र डिजिटल अधिकारको प्रवर्द्धनमा क्रियाशील २० नागरिक समाज संस्थाले साइबर सुरक्षा तथा मिथ्या र भ्रामक सूचनाको बढ्दो जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन यी डिजिटल चुनौतीलाई राष्ट्रिय सुरक्षाको मुद्दाका रूपमा सम्बोधन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
निर्वाचनअघिको समग्र अवस्था, विशेष गरी मतदान हुनुभन्दा अघिका अन्तिम ३ दिनलाई उनीहरूले अत्यन्तै संवेदनशील मानेका छन् । संस्थाले नेपालको निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ का रूपमा प्रयोग गरिन सक्ने सम्भावनाप्रति सचेत गराउँदै यसले निर्वाचनको विश्वसनीयता, सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा अपूरणीय क्षति पुर्याउन सक्ने उल्लेख गरेका छन् ।
निर्वाचन आयोग र केही संस्थाहरू मिथ्या सूचना पहिचानमा सक्रिय देखिए पनि समग्र निर्वाचन पर्यवेक्षण संयन्त्र यो गम्भीर चुनौतीप्रति पर्याप्त मात्रामा सक्रिय हुन नसकेको उनीहरूको निष्कर्ष छ ।
डिजिटल युगमा साइबर सुरक्षाले लोकतान्त्रिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारले नेपाल प्रहरीको साइबर ब्युरोलाई तत्काल पर्याप्त स्रोत, जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउनुपर्ने माग विज्ञप्तिमा गरिएको छ । साथै निर्वाचन आयोगले मेटा र टिकटकजस्ता अन्तरराष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्मसँग तत्काल समन्वय गरी मिथ्या सामग्री पहिचान र नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिइएको छ । जनमत निर्माणमा प्रभाव पार्ने सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरलाई जिम्मेवार र उत्तरदायी बनाउन तथा मिथ्या सूचनाविरुद्ध सचेतना अभियान तीव्र पार्नसमेत ध्यानाकर्षण गराइएको छ ।
मिडिया क्षेत्रको हकमा संस्थाले सम्पादक तथा पत्रकारका लागि ‘मिथ्या सूचना ड्यासबोर्ड’ जस्ता साझा संयन्त्र विकास गर्न र तथ्यमा आधारित द्रुत खण्डन प्रणाली निर्माण गर्न आग्रह गरेका छन् । ‘अनफलो क्याम्पेन’ वा विभिन्न दबाब र धम्कीका कारण छापा तथा अनलाइन मिडियाले गर्ने स्वनियन्त्रण पत्रकारिताको व्यावसायिक आचारसंहिता र लोकतान्त्रिक जिम्मेवारीविपरीत हुने भन्दै उनीहरूले निर्धक्क सूचना प्रवाह गर्न आह्वान गरेका छन् ।
यसरी ऐक्यबद्धता जनाउने संस्थाहरूमा डिजिटल राइट्स नेपाल, डिग्निटी इनिसिएटिभ, सेन्टर फर मिडिया रिसर्च–नेपाल, फ्रिडम फोरम, ओपन इन्टरनेट नेपाल, मिडिया एड्भोकेसी ग्रूप (म्याग), चाइल्डसेफनेट, डिजिटल मिडिया फाउन्डेशन, मिडिया एक्शन नेपाल र ह्युमन राइट्स एन्ड जस्टिस सेन्टरलगायत छन् । निर्वाचनको विश्वसनीयता सुरक्षित मतपेटिकाले मात्र नभई तथ्यपरक सूचनामा आधारित जनमतले निर्धारण गर्ने उनीहरूको साझा ठहर छ ।
(आर्थिक अभियानबाट)

