माटोका घरलाई विस्थापित गर्दै सिमेन्टका पर्खाल

मुगु । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका परम्परागत घरहरुको अस्तित्व संकटमा पर्दै गईरहेको छ ।

बजारिकरण र आधुनिकतासँगै पक्की घर निर्माणको लहर तीव्र बन्दै जाँदा परम्परागत घरहरुको अस्तित्व संकटमा परेको हो । बद्लिँदो समयसँगै पछिल्लो समय आएको आधुनिकताले पहाडी भेगका परम्परागत घर विस्तारै लोप हुने अवस्थामा पुगेका छन् ।

नयाँ पुस्तामा आधुनिक कंक्रिटका घरप्रति आकर्षण बढेसँगै माटो, ढुङ्गा र काठबाट निर्मित परम्परागत घरहरू क्रमशः हट्दै जान थालेका हुन् । विशेषगरी पहाडी क्षेत्रमा इतिहास र पहिचान बोकेका माटो, ढुङ्गा र काठले बनेका पुराना शैलीका घरहरू क्रमशः हराउँदै गएका छन् ।

बजारीकरण र आधुनिकतासँगै पक्की घर निर्माणको लहर तीव्र बन्दै जाँदा पुराना संरचनाहरू विस्थापित हुँदै गएका हुन् । स्थानीयवासीका अनुसार बजार क्षेत्रमा मात्र नभई गाउँघरमै पनि नयाँ बन्ने घरहरु प्रायः इँटा, सिमेन्ट र सरियाबाट निर्माण हुन थालेका छन् ।

‘पछिल्लो समय बजार क्षेत्रमा आधुनिक भवन निर्माण तीव्र रुपमा बढेको छ,’ बाजुराको बडिमालिका नगरपालिका–९ का जसबहादुर विकले भने, ‘अहिले इँटा, सिमेन्ट र सरियाले बनेका घरहरु धेरै बन्न थालेका छन्, जसले परम्परागत गाउँको स्वरुप नै बदलिदिएको छ ।’

बाजुराका नौवटै स्थानीय तहका केन्द्रहरु तथा सदरमुकाम मार्तडी, बाम्का, फालासैन, तांप्रीसेरा, जडाङ्गा, कोल्टी र पिलुचौर क्षेत्रमा पुराना घरहरु देख्नै मुस्किल भइसकेको छ । पहिले गाउँको पहिचान झल्काउने कच्ची घरहरू अहिले आधुनिक भवनले प्रतिस्थापन गरिरहेका छन् ।

विशेषज्ञहरुका अनुसार परम्परागत घरहरु केवल बसोबासका लागि मात्र नभई स्थानीय संस्कृति, जीवनशैली र इतिहासको महत्वपूर्ण धरोहर हुन् । तर, सुरक्षित र टिकाउ आवासको खोजी, आधुनिक सुविधा तथा सामाजिक प्रतिष्ठासँग जोडिएको सोचका कारण पुराना घरप्रति आकर्षण घट्दै गएको देखिन्छ । यसरी परम्परागत संरचनाहरु हराउँदै जाँदा गाउँको मौलिकता र सांस्कृतिक पहिचानसमेत सङ्कटमा परेको छ ।

स्थानीयका अनुसार आधुनिक घरहरू सुविधाजनक, सुरक्षित र दिगो हुने भएकाले उनीहरू परम्परागत शैली त्याग्न बाध्य छन् । ‘हिउँदमा चिसो, वर्षायाममा चुहिने समस्या र भूकम्पीय जोखिमका कारण परम्परागत घर छोड्नुपरेको हो,’ मुगुका स्थानीयवासी कर्णबहादुर हितानले बताए । तर, जिल्लाका बुढापाकाहरु भने परम्परागत घरहरूको हराउँदै गएको अस्तित्वप्रति चिन्तित देखिन्छन् ।

‘यी घरहरु केवल बसोबासका लागि मात्र होइन, स्थानीय संस्कृति, इतिहासको झल्को दिने महत्त्वपूर्ण प्रतीक हुन् र जो जसले जेजति भने पनि हिमाली भेग तिर सिमेन्टका घरहरु अन्य घरहरू भन्दा स्वास्थ्यको दृष्टिकोणले त्यति , फाईदा जनक हुँदैनन् । पुरानै माटो ,काठ,सोतर स्याउला र ढुङ्गाले बनेका घरनै स्वास्थ्यको दृष्टिकोणले ठिक हुन् र परम्परागत संरचनामा धर्म, संस्कृति र पुर्खाहरूको साईनो जोडिएको हुन्छ।’

छायाँनाथ रारा वडा नं २ निवासी धार्मिक अभियानता तिलक प्रशाद चौलागाईले बताए । तिनै तहका सरकारले पुराना संरचनाको संरक्षण र ब्यबस्थित गर्नका लागि केही योजना अघि सारेको छैनन् , पुराना संरचना जस्ताको तस्तैमा राखी ब्यबस्थि गर्ने सघाउने खालका कार्यक्रममा सहयोग गर्न आबश्यक पर्यटकिय तथा संस्कृतिक दृष्टिकोणले पनि आबश्यक देखिन्छ ।

Translate »