नेपाल–भारत सीमा क्षेत्रमा ४२ नयाँ स्तम्भ निर्माण


बाँके। नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने संयुक्त फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । सर्वेक्षणका क्रममा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने १०९ वटा सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ ।
नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय सहमतिअनुसार परिचालित फिल्ड सर्वेक्षण टोली नम्बर–३ ले नवलपरासीको त्रिवेणीघाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमारेखा क्षेत्रमा प्राविधिक अध्ययन सम्पन्न गरेको हो । टोलीले सीमा स्तम्भहरूको अवस्थिति यकिन गर्ने, हराएका तथा क्षतिग्रस्त स्तम्भहरूको विवरण संकलन गर्ने र अभिलेख अद्यावधिक गर्ने कार्य गरेको थियो ।
टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला भए पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मतसम्भारको काम सम्पन्न गरिएको हो ।
नापी विभागका प्रमुख नापी अधिकृत खिम रानाका अनुसार नेपाल र भारत दुवै पक्षको सहकार्यमा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने १०९ वटा सीमा स्तम्भ मर्मत गरिएको छ । तीमध्ये बाँके जिल्लामा मात्रै ३५ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ । साथै नेपालतर्फ ४९ र भारततर्फ ४६ गरी कुल ९५ वटा सीमा स्तम्भको मर्मतसम्भार सम्पन्न गरिएको छ ।

सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सीमा स्तम्भहरूलाई भू–उपग्रह (जीपीएस) प्रणालीमा आबद्ध गर्ने तयारीसमेत गरिएको छ । यसका लागि नवलपरासीको बर्दघाट, कपिलवस्तुको तिलौराकोट, दाङको लमही र बाँकेको कालाबञ्जरमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर जीपीएस अवलोकन गरिएको थियो ।
प्रमुख नापी अधिकृत रानाले भने, ‘नेपाल र भारत दुवै पक्षको सहकार्यमा सीमा स्तम्भलाई भू–उपग्रह प्रणालीसँग आबद्ध गर्ने उद्देश्यले विभिन्न स्थानमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर अवलोकन गरेका छौं । ’
भविष्यमा सम्पूर्ण सीमा स्तम्भलाई जीपीएसमा आधारित प्रणालीसँग जोड्ने लक्ष्यअनुसार सहायक मापन केन्द्र स्थापना गर्न आवश्यक स्थानहरूको छनोटसमेत सम्पन्न गरिएको जनाइएको छ ।
फिल्ड सर्वेक्षण सम्पन्न भएसँगै नेपाल–भारत सीमासम्बन्धी संयुक्त सुरक्षा संयन्त्रको समीक्षा बैठक नेपालगन्जमा आयोजना गरिएको थियो । बैठकमा नेपालतर्फ बाँके, दाङ, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फ श्रावस्तीसहित सम्बन्धित जिल्लाका अधिकारीहरूको सहभागिता रहेको थियो ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार बैठकले सीमा स्तम्भहरूको अवस्था, मर्मतसम्भारको प्रगति, पुनर्निर्माण तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरेको हो ।
तीन महिनासम्म सञ्चालन गरिएको यो अभियानले नेपाल–भारत सीमाको व्यवस्थापन, अभिलेखीकरण र सुरक्षालाई थप व्यवस्थित तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण आधार तयार गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

