‘भ्रष्टाचार अन्त्य नभएसम्म देशको विकास हुन सक्दैन्’
सुर्खेतका प्रतिष्ठित पुस्तक तथा स्टेशनरी व्यवसायी सागर भुसालसँग तपाईलाई यो देशको प्रधानमन्त्री बनाई दिए पहिलो काम के गर्नु होला ?, देश समृद्ध बनाउन प्रत्येक नागरिकको भूमिका कस्तो हुनु पर्ला भन्ने लगायतका पाँच प्रश्न सोधेका छौं । हाम्रो पुस्तक पसलका प्रोपराईटर समेत रहेका भुसालसँग समय सापेक्ष विषय वस्तुमा स्काई न्यूज दैनिकले गरेको कुराकानी ।
१. तपाईलाई यो देशको प्रधानमन्त्री बनाई दिए पहिलो काम के गर्नु हुनथ्योे होला ?
म यो देशको प्रधानमन्त्री भएको भए पहिलो काम देशमा जरो गाडेर बसेको भ्रष्टाचार उन्मूलनका लागि विशेष रुपले काम गथ्यें । देशमा भ्रष्टाचार अन्त्य नभएसम्म समग्र देशको विकास हुन नसक्ने भएकाले भ्रष्टाचार उन्मूलनका लागि कानूनी रुपमै निषेध तथा निष्तेज पार्ने विशेष योजना ल्याउँथ्यें । दोस्रो काम शैक्षिक क्षेत्रको स्तरोन्नती गरेर आम जनताको चेतनाको स्तर बढाउँथ्यें । अनि राजनीतिक हस्तक्षेप अन्त्य गरेर सुशासन कायम गर्दै जनतामा अमन चयन ल्याउथ्यें ।
२. जीवनको असली मूल्य मान्यता के हो र तपाई आफुलाई के भनेर चिनिन चाहानु हुन्छ ?
जीवनको असली मूल्य मान्यता भनेको बाँचौ र बचाऔं भन्ने नै हो । अरुको भलाईमा आफ्नो भलाई लुकेको हुन्छ । सबै नागरिकले आफ्नो मेहनत एवं ईमानदारीमा विश्वास राख्न सके देशलाई महान बनाउन कुनै समय लाग्दैन । सबै नागरिकको नियत र निष्ठा सही भएपछि देश आफै सुन्दर बन्छ । म आफुलाई कर्ममा विश्वास राख्ने एक मेहनती, ईमानदार मान्छेको रुपमा लिन चाहान्छु र अरुसँगै पनि यस्तै अपेक्षा राख्दछु ।
३. देश समृद्ध बनाउन प्रत्येक नागरिकको भूमिका कस्तो हुनु पर्ला ?
प्रत्येक नागरिकले देश समृद्ध बनाउन आ–आफ्नो स्थानबाट देशप्रति सच्चा भावनाले समर्पित हुनु पर्छ । विभिन्न प्रकारका आग्रह, पूर्वाग्रह त्यागेर राष्ट्रिय भावनाले ओतप्रोत हुनु प¥यो । समाज तथा राष्ट्रले मलाई के दियो भन्नु भन्दा पनि मैले समाज र राष्ट्रलाई के दिन सके भनेर स्वमूल्यांकन आवश्यक छ । त्यसैले प्रत्येक सच्चा नेपाली नागरिकले आ–आफ्नो ठाउँबाट मेहनत तथा ईमानदारी पूर्वक आफ्ना लागि कर्तव्य पुरा गरे त्यो नै देशका लागि हुनेछ ।
४. संख्यात्मक रुपले महिलाको संख्या बढी भएपनि पुरुषको तुलनामा महिला पछाडी किन परेका होलान र माथि उठाउन के गर्नु पर्ला ?
आधा आकाश ढाक्ने महिला माथि हिजो देखि नै सांस्कृतिक, राजनीतिक र आर्थिकरुपमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा दमन हुँदै आएको कुरा सर्वविदितै छ । संख्यात्मकरुपले महिलाको संख्या बढी भएपनि पुरुषको तुलनामा महिलालाई कुनै न कुनै बहानामा हेप्नुका साथै सामाजिकरुपले समेत पछाडी पारियो । त्यहीं परम्परावादी सोंच, संस्कार तथा व्यवहारले महिलालाई हेय दृष्टिले हेर्ने गरियो । यहाँसम्म की महिलाको चेतनाको स्तर पुरुषको तुलनामा तल राख्न शिक्षा लगायतबाट समेत पछाडी पारियो । महिलालाई एउटा वस्तुको रुपमा मात्र सीमित पारियो । यसका पछाडी महिलाका लागि महिला मात्र दोषी होइनन् की पुरुषको समेत भूमिका महिलाप्रति सन्तोषजनक रहेन । त्यसका कारण महिला सदिऔं देखि पछाडी पर्दै आएका छन् । यद्यपि पछिल्लो समय महिला क्रान्तिले केही रुपान्तरण भएपनि अझै पर्याप्त हुन सकेका छैनन् । अब महिलालाई अगाडि बढाउन या पुरुष सरह बनाउन आर्थिक, राजनीतिक तथा सांस्कृतिकरुपमा सवल सक्षम बनाउनु पर्छ । शिक्षाले उनीहरुलाई लैस पारेर गलत र सहीको पहिचान गराउने क्षमताको विकास गराई दिन मद्दत पु¥याउनु पर्छ । महिलालाई समान अवसर उपलब्ध गराएर राज्यका प्रत्येक क्षेत्रमा ५० प्रतिशत आरक्षणको व्यवस्था नै गर्नुपर्छ । महिलाको समान सहभागिताको सुनिश्चितताका लागि राज्यले विशेष योजना बनाउनु पर्छ । अनि समाजको सोंचमा समेत महिलाप्रति हेर्ने दृष्टिकोण परिवर्तित हुने थियो ।
५. देशको शिक्षा, कृषि र औद्योगिकरण नीति समय सापेक्ष बनाउन सरकारले के–के काम गर्नु पर्ला ?
सरकारले सबै भन्दा पहिले देशको शिक्षा नीति बद्ल्न आवश्यक छ । आधुनिक, वैज्ञानिक तथा व्यवहारिक शिक्षाको खाँचो छ । असल शिक्षा नीति विना देशको विकास असम्भव नभएपनि कठिन अवश्य छ । त्यसमा मानव संसाधनको विकास नभई भौतिक संसाधनको विकास हुँदैन् । त्यसैले सरकारले सबै भन्दा पहिले शिक्षा क्षेत्रको क्रान्ति ल्याउनु पर्छ । शिक्षा सबैको पहुँचमा सरल र सहजरुपमा पु¥याउन सक्नु पर्छ । अनि नेपाल जस्तो ७५ प्रतिशत जनता कृषिमा आधारित रहेपनि कृषिजन्य वस्तु आयात हुनु आफैमा दुर्भाग्य हो । कृषिको विकासमा आधुनिकीकरण ल्याएर कृषि उद्योगको रुपमा विकास गर्नु पर्छ । त्यस्तै पर्याप्त भौतिक पूर्वाधारको विकास गरेर नेपालको औद्योगिक क्षेत्रको विकासका लागि आधुनिक औद्योगिक टेक्नोलाँजी, भित्र्याएर सूचना प्रविधिको अधिकतम् उपयोग गर्नु पर्छ । औद्योगिक नीतिलाई समय सापेक्ष बद्लेर आवश्यकतामा आधारित उद्योग स्थापनाका लागि जोड दिनु पर्छ । औद्योगिक क्षेत्रको विकासका लागि मिश्रित मोड्ल आवश्यक हुन्छ । सरकारी उद्योग, सार्वजनिक उद्योग र नीजि उद्योगको अस्तित्वलाई स्वीकार गर्दै औद्योगिक विकास आवश्यक देखिन्छ ।