चौकुनेमा आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

शिविरमा ६ महिना उमेरदेखि ९८ वर्षसम्मका विरामी

स्काई न्यूज /फागुन २५, सुर्खेत ।
आयुर्वेद प्रतिको बढ्दो विश्वासले निशुल्क आयुर्वेद शिविरमा उत्साहपूर्ण सहभागिता बढ्दै गईरहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनमानसको बढ्दो मागलाई ध्यानमा राखेर निःशुल्क आयुर्वेद शिविर गाउँ–गाउँमा पु¥याउन थालेपछि जनमानसको उल्लासपूर्ण सहभागिता बढ्दै गएको हो । आयुर्वेदिक औषधिप्रति ग्रामीण समुदायसँगै शहरी क्षेत्रका बासिन्दाको समेत आकर्षण बढ्दै गएको छ । आयुर्वेद औषधिले ढिलो रोग निको भएपनि सस्तो, भरपर्दो र दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आकर्षण बढेको हो । प्रदेश आयुर्वेद औषधालयले शनिवार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आयोजित निःशुल्क योग तथा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा सहभागिता जनाउने अधिकांस विरामीले सरकारको प्रशंसा गरेका छन् ।

निशुल्क योग तथा शिविरको उद्घाटन गर्दे चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले प्रदेश आयुर्वेद औषधालय निरन्तर दोस्रो वर्षपनि गुटुका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएर जनता माँझ सकारामत्मक संदेश प्रवाह गरि दिएको बताए । उनले जाडो मौषमको अन्त्यसँगै बसन्त ऋतुको आगमनाताका प्रायः जसो विभिन्न मौषमी विरामीको संख्या अलि बढी हुने भएकाले सही समयमा सही उपचार उपलब्ध गराउने प्रदेश सरकारसँगै आयुर्वेद औषधालयप्रति धन्यवाद व्यक्त गरे । ‘चौकुनेका लेकाली डाँडाहरुमा पाईने बहुमूल्य जडीबुटी संरक्षण तथा उपयोग नहुँदा खेर गईरहेका छन,’ उनले भने, ‘स्थानीय सरकार अब प्रदेश तथा केन्द्र सरकारको सहयोगमा यत्रतत्र अलपत्र  जडिबुटीको खोज अनुसन्धानसँगै उपयोग एवं संरक्षण गछौं ।’ उनले गुटुमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै कम्तिमा २५ शैया आयुर्वेद चिकित्सालय खोल्ने बारे सहयोगी निकायसँग समन्वय भईरहेको जानकारी दिए । उनका अनुसार जैविक विविधताले भरीपूर्ण चौकुने पहाड आसपासका क्षेत्रमा पाईने दुर्लभ जडीबुटीहरुको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहूँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको छ ।

‘यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीको बारेमा अनभिज्ञ छन् । सरकारी स्तरबाट अहिलेसम्म कुनै अध्ययन, अनुसन्धान हुन सकेको छैन,’ उनले भने, ‘खोज अनुसन्धानको अभावमा यहाँको हजारौं हेक्टरमा फैलिएको बहुमूल्य जडीबुटीको अब स्थानीय सरकारले नीतिगत रुपमै व्यवस्थापन गर्छ ।’ उनले हिजोको दिनमा आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी प्रसस्त भएपनि राज्यको ध्यान नपुग्दा खेर गईरहेको जनाए । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले चौकुने गाउँपालिकाको गुटुमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै आयुर्वेद चिकित्सालय खोल्न आफ्नो स्तरबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पश्चिम सुर्खेत जडिबुटीको भण्डारण रहेकाले सरकारी स्तरबाट यसको खोज, अनुसन्धान तथा बहुउपयोगको नीति अबलम्वन गर्न आवश्यक भईसकेको बताए । पतंजली योग समिति सुर्खेतका अध्यक्ष शिवप्रसाद गौतमले आयुर्वेदसँगै योगलाई समेत जोडेर सँगसँगै विकास गरिनु पर्नेमा जोड दिए । शिविरमा आउने अधिकांशमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, पायल्स, ग्यास्ट्रिक, दमखोकी, पिनास, जन्डिस र मुटुरोसम्बन्धीका रोगी रहेको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए । उनले शिविरमा ६ महिना उमेरदेखि ९८ वर्षसम्मका ७ सय ३० जना विरामीले सेवा लिएको जानकारी दिए ।

उनका अनुसार ती मध्ये ५ सय १६ जना महिलासँगै २ सय १४ जना पुरुष रहेका छन् । निःशुल्क शिविरमा नसर्ने रोग ठूलो स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको पाइएको कविराज निरीक्षक श्रीराम आचार्यले बताए । उनले पछिल्लो समय गाउँघरमा पनि नसर्ने रोग जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा परेको जनाए । ‘चौकुनेको गुटु शिविरका लागि हामीले करिब ५ सयदेखि ६ सय रोगीका लागि औषधिसँगै जनशक्ति लिएर गएका छौं,’ उनले भने, ‘त्यहाँ त जनताको उत्साहपूर्ण सहभागिताले हामीले एकै दिनमा सबैलाई सेवा पु¥याउन नसक्ने भएकाले ३ बजेसम्म मात्र आएका विरामीलाई उपचार दिने निधो गरेका हौं ।’ उनले आफुसँग भएको औषधिजति वितरण गरेर अर्को चोटी प्रदेश औषधालयमै आउन सेवाग्राहीलाई आग्रह गरिएको जनाए । यता विहान दश बजेदेखि तीन बजेसम्म मात्र नाम लेखाउने समय रहेकाले धेरै विरामी लाभ लिनबाट बञ्चित रहनु परेको स्थानीय उपेन्द्र विकले बताए । उनले बाक्लो भिडमा आफुले नाम लेखाउने पालो समेत नपाएको गुनासो गरे ।

विभिन्न रोगले आजित सर्वसाधारणले आयुर्वेद जस्तो भरपर्दो औषधिसहित विशेषज्ञ डाक्टरलाई घरदैलोमै पु¥याएर सेवा दिनु असाध्य प्रशंनीय कार्य भएको चौकुनेका समाजसेवी काशीराम देवकोटाले बताए । उनले गाउँमा आयुर्वेदिक सेवा वर्षको एक पटक मात्र होइन, महिनाको कम्तीमा एक पटक उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरे । ‘जनतालाई सर्वसुलभ तरिकाले घरदैलोमै आयुर्वेदिक जस्तो भरपर्दो औषधिसँगै विशेषज्ञ डाक्टरको सेवा प्रदेश सरकारले पु¥याउनु अत्यन्तै प्रशंसनीय काम हो,’ उनले भने, ‘सरकारले अब पश्चिम सुर्खेतको चौकुनेका डाँडाहरुमा खेर गईरहेका जडिबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै आयुर्वेदिक चिकित्सालय खोल्न विशेष योजना बनाउनु पर्छ ।’ उनले गुटुमा स्वास्थ्य चौकीको भवन विगत दश वर्षदेखि कर्मचारी र ठेकेदारको मिलेमतोमा अलपत्र पारिँदा एउटा कोठाबाट स्वास्थ्य सेवा प्रवाह हुँदा सर्वसाधारणले दुःख पाईरहेको समेत जानकारी दिए ।

गुटुका स्थानीय नर माझीले स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले स्थानीयबासिन्दा उपचारमा संलग्न हुने गरेको बताए । उनले पुर्खाको पालादेखि नै चौकुनेका अधिकांस बासिन्दा आयुर्वेदिक औषधिप्रति शुरु आकर्षित हुँदै आएको जनाए । ५६ वर्षीय माझी आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाउछन् । उनले जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको यहाँ जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइने गरेको जनाए । उनका अनुसार सर्वसाधरण स्थानीयस्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आयुर्वेदिक उपचार गर्छन् । उनले आयुर्वेदिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधरणमा यसको चेतना पूर्णरुपमा पुगिनसकेको बताए ।

Translate »