आयुर्वेदप्रति बढ्दो जनविश्वास

 नाम अनुरुपको लगानी बढेन

स्काई न्यूज/ फागुन २४, सुर्खेत ।
सुर्खेतको चौकुने गाउँपाकिलाकी ६८ वर्षीया नरु टमट्टा ७ वर्ष अघिबाट बाथरोगको समस्याले थला परेकी थिइन । गाउँकै मेडिकलमा सुई लगाएर केही राहत त पाउँथिन् तर समस्या फेरि बल्झिइरहन्थ्यो । यो वर्ष भने उनी सुई लगाउन मेडिकल गएकी छैनन् । प्रदेश आयुर्वेद औषधालय सुर्खेतले शनिबार स्वास्थ्य चौकी गुटुमा आयोजना गरेको निःशुल्क योग तथा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा त्यही समस्या लिएर आइन् । उनले आयुर्वेदिक विधिबाट उपचार गराउँदा राहत मिलेको महसुस गरिन् । जाडोयाम शुरु हुनासाथ गाउँघरमा बुढापाकाहरुको व्यथा बढ्न थाल्छ । घुँडा, हातका जोर्नी, कम्मरलगायत शरीरका विभिन्न भागहरु दुख्न थाल्छन । खपी नसक्नु दुखाइले ज्येष्ठ नागरिकहरु पिरोलिन थाल्छन् । कतिपय उपचार गर्दागर्दै थाक्छन ।

दिनहुँको पिरलोले परिवारका सदस्यहरुले पनि कष्ट बेहोर्नुपर्ने अवस्था आइलाग्छ । डाक्टरहरु वृद्धावस्थामा बढी देखापर्ने जोर्नी दुख्ने समस्यालाई बाथ रोग भन्छन । पछिल्लो समय बाथ रोगीहरुको आयुर्वेदिक उपचार विधितर्फ विश्वास बढ्न थालेको छ । तर उनीहरुको विश्वास बढेझैं सरकारले सेवा भने विस्तार गर्न सकेको छैन । बरु त्यस क्षेत्रतर्फ सरकारको लगानी घटदै गएको महसुस बिरामीहरुले गर्न थालेका छन । ६० वर्षीया देउरुपा थापा पनि मेडिकलको सुई लगाएर थाकेको भन्दै उपचारका लागि आयुर्वेदिक शिविरमा पुगेकी छन । ‘पैसाको सत्यानास भयो तर रोगले सताउन छाडेन,’ देउरुपाले सम्झँदै भनिन्, ‘आयुर्वेद उपचारमा लागेपछि कम्मरमा सुन्निएको भाग सन्चो छ, राति निद्रा पनि पर्न लागेको छ ।’ नरु र देउरुपा मेडिकलको उपचारभन्दा आयुर्वेदको उपचारबाट बाथ रोग लागेका बुढापाकाको विश्वास बढदै गएको बताउँछन् । गत साता प्रदेश आयुर्वेदिक औषधालयमा पुग्दा बाथरोगी बुढापाकाहरुको घुइँचो थियो । औषधालयमा कार्यरत वैद्य दिपेन्द्र कँडेलले दिनमा १ सय जनासम्म रोगी आउने गरेको सुनाए । कार्यरत स्वास्थ्यकर्मीहरुलाई बाथ रोगीको उपचारका लागि भ्याईनभ्याई थियो ।

पहिलोपटक उपचारका लागि आएकी पञ्चपुरी नगरपालिका विद्यापुरकी हरिकला बयकले भने उपचार सेवादेखि नै वाक्क भए । बिरामीको घुइँचो लाग्दा औषधालयमा सीमित कर्मचारीले काम चलाइरहेका थिए । दिउँसो १२ बजेबाट उपचारका लागि पालो कुर्दा ३ बजे मात्र उनले समय पाईन् । ‘यो विधिबाट उपचार ठिक हुन्छ भनेर गाउँदेखि खर्च गरेर आएँ,’ बयकले भनिन, ‘तर साँघुरो कोठा, न्यून स्वास्थ्यकर्मी देख्दा दिक्क लाग्यो ।’ वीरेन्द्रनगर–९, का गणेशबहादुर बोगटीले पनि सेवाप्रति चित्त बुझाएनन् । उपचारका लागि बुढेसकालमा दुःख पाउनुपरेको उनको दुखेसो छ । ‘एउटै अँध्यारो कोठा रहेछ, पालो कुर्नुपर्ने,’ उनले भने, ‘महिला र पुरुष सबैको त्यहीँ उपचार हुँदा लुगा फुकाल्न, फेर्न अप्ठ्यारो महसुस भयो ।’ उनले महिला र पुरुषका लागि बेग्लाबेग्लै स्वास्थ्यकर्मी र कोठा हुनुपर्ने माग राखे । उपचारका लागि आउने अधिकांशले उपचार विधिमा विश्वास बढे पनि सेवाप्रति असन्तुष्टि पोखे ।


के हो बाथ रोग ?
प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा. शंकरप्रसाद रिजालका अनुसार बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । १ सयभन्दा बढी प्रकारका बाथ रोगहरुमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए पनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।


संरचना र जनशक्ति अभाव
सुर्खेतस्थित प्रदेश आयुर्वेदिक औषधालयमा उपचारका लागि दिनहुँ बिरामीहरूको घुइँचो लाग्ने गरे पनि उपचार सामग्री, भौतिक संरचना र जनशक्तिको आवश्यक व्यवस्थापन हुन सकेको छैन । औषधालयमा रहेका  नयाँ भवनका ६ कोठामध्ये ३ वटा कार्यालयका अन्य काममा प्रयोग छन । एउटा साँघुरो कोठामा मात्र बिरामीहरुलाई उपचार गर्नुपर्ने बाध्यता छ । उपचार सेवा प्रभावकारी गर्न प्रदेश औषधालयमा डाक्टरको दरबन्दी एउटा पद मात्र छ । आयुर्वेद सेवाको बढ्दो मागलाई ध्यानमा राखेर औषधालय व्यवस्थापन समितिले एक जना डाक्टर करारमा राखेको अध्यक्ष विनोद ढकालले बताए । उनले थप दरबन्दी र भौतिक संरचना बढाउन प्रदेशसँग समन्वय भईरहेको जनाए । उनका अनुसार १ डाक्टर, २ वैद्य, १ कविराज, १ लेखापाल र २ कार्यालय सहयोगीको भरमा प्रदेश स्तरको औषधालय सञ्चालनमा रहेको छ ।
लगानी बढाइएको दाबी
सरकारले पछिल्लो समय आयुर्वेदिक क्षेत्रमा लगानी बढाइरहेको दाबी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको छ । मन्त्रालयका निमित्त सचिव विष्णुप्रसाद अधिकारीले प्रदेश आयुर्वेद औषधालयलाई २५ शैयाको चिकित्सालय बनाउने सैद्धान्तिक सहमति भईसकेको जानकारी दिए । उनले २५ शैयाबाट विस्तारै ५० शैयासम्मको चिकित्सालयसँगै जडिबुटी संकलन तथा रुरल फार्मेसी बनाउने योजना रहेको बताए । उनका अनुुसार आयुर्वेदसँगै योग केन्द्रको समेत विकास गरिने छ । पहिलेको तुलनामा आयुर्वेद औषधालयको विकासका लागि पछिल्लो दुई वर्षमा करिब २५ करोड लगानी भईसकेको मन्त्रालयको दावी छ ।

Translate »