द्विभाषिक र बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण
लोकप्रसाद ढकाल
मा.वि. शिक्षक(सूचना अधिकारी)
श्री जन नमूना माध्यामिक विद्यालय
वीरेन्द्रनगर-६, सुर्खेत
नेपाल एक बहुभाषिक मुलुक हो । यहाँका केही मानिसहरुले नेपाली भाषालाई पहिलो भाषाका रुपमा ग्रहण गरेका छन । नेपाल साँस्कृतिक र भाषिक विविधताले भरिएको मुलुक हो । एउटै कक्षामा समभाषिक विद्यार्थीहरु पाउन गाह्रो छ।यस प्रकारको विविधता भएको मुलुकमा नेपाली विषयको शिक्षण जटिल मानिएको छ । विसमभाषिक कक्षाकोठामा नेपाली विषयको शिक्षणलाई सरलताका साथ अगाडी बढाउन शिक्षक सक्रिय भएर अगाडि बढ्नुपर्छ । नेपाली भाषामा विद्यार्थी कमजोर हुने वित्तिकै त्यसको प्रभाव अन्य विषयमा पनि पर्ने भएकाले यसको शिक्षणलाई एक चुनौतीका रुपमा लिएको छ । जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने वाक्याशमा आधारित हुँदै प्राथमिक तहका बालबालिकामा यस प्रकारको द्विभाषिक र बहुभाषिकताको अवस्था बढी देखिने हुनाले यसलाई नै प्रभावकारी रुपमा तिनिहरुको मातृभाषासँग सम्बन्धित हुँदै नेपाली विषयको शिक्षण गर्नुपर्दछ । विद्यार्थीहरुमा यही द्विभाषिकता र बहुभाषिकताको अवस्थाले गर्दा नेपाली विषयमा विद्यार्थीहरुको परीक्षाफलमा सुधार भएको देखिएको छैन । यस्तो अवस्थामा नेपाली विषयको शिक्षणलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने कुरा यसमा समावेश गरिएको छर ती कक्षामा कसरी नेपाली विषय शिक्षण गर्नु पर्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ ।
अध्ययनको पृष्ठभूमि
नेपाल बहुभाषिक मुलुक भएको हुनाले यहाँका वालवालिकालाई नेपाली भाषा सिकाउनु त्यति सजिलो छैन । नेपाली पहिलो भाषा हुने वालवालिकालाई नेपाली भाषा सिकाउन केही सहज भएतापनि नेपाली भाषालाई दोस्रो भाषाको रुपमा सिकाउनुपर्नै वालवलिकालाई पक्कै पनि चुनौतिपूर्ण कार्य मानिन्छ । एउटै कक्षामा दुई वा दुई भन्दा वढि भाषाभाषि भएका वालवालिकाहरु रहेका छन् भने त्यस्तो कक्षालाई द्विभाषिक कक्षा भनिन्छ । कतिपयले द्विभाषिक र बहुभाषिकतालाई एउटै रुपमा लिईएका छन् तर यसलाई यसरी पनि देखाउन सकिन्छ ।कुनै कक्षामा नेपाली र मैथेली समुदायका वालवालिका हुनु द्विभाषिक कक्षाका रुपमा चिनाउन सकिन्छ भने एउटा कक्षामा नेपाली, मैथेली, भोजपुरी, नेवारी आदि समुदायका वालवालिका हुनु भनेको बहुभाषिकताका रुपमा चिनाउन सकिन्छ । वर्तमान अवस्थामा सरकारी तवरवाट मातृभाषामा शिक्षा दिनुपर्छ भन्ने मान्यता आगाडि सरेकाले पनि नेपाली विषयको शिक्षण जटिल वन्न गएको देखिन्छ । मातृभाषामा शिक्षा दिन थालेपछि सबै ठिक भइहाल्छ विद्यार्थीले अन्य भाषा स्वतः सिकिहाल्छन् भन्नु भ्रमसिवाय केही होइन (लेखनाथ शर्मा पाठक) ।प्राथमिक तह सम्मको शिक्षा मातृभाषामा प्रधान गर्ने नीतिले पनि नेपाली भाषा सिकाइमा समस्या सिर्जना गरिदिएको छ । नेपालमा वर्तमान समयसम्म १२९ भाषाहरुले कानुनी रुपमा मान्यता प्राप्त गरेका छन् । अझै कति भाषा कथ्यका रुपमा मात्र सिमित रहेका छन् । यति धैरै संख्यामा रहेका भाषाहरु जो वालवालिकासँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यसरी हेर्दा वालवालिकाको घरको भाषा एक विद्यालयको पठनपाठनको माध्यम भाषा अर्को हुँदा समस्या सिर्जना भएको देखिन्छ । यस प्रकारको बहुभाषिक कक्षामा नेपाली विषयको शिक्षण गर्नु एक समस्याको रुपमा देखापरेको छ । यस्तो अवस्थामा सबै वालवालिकालाई समेटेर शिक्षण गर्नु ज्यादै कठिन कार्य हो । केही विद्यालयहरुमा एक भाषिक विद्यार्थीहरु रहेता पनि धैरै जसो विद्यालयहरुमा इतर विद्यार्थीहरुकै संख्या धैरै रहेको छ । यस्ता विविध कुराहरुलाई भाषा शिक्षण गर्ने शिक्षकले बुझेर शिक्षण गर्नु पर्दछ । विद्यालय तहमा नेपाली विषयको शिक्षण गर्नु भनेको भाषिक सिप(सुनाइ,बोलाइ,पढाइ, लेखाइ) आदिमा सक्षम बनाउनु हो । द्विभाषिक र बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकले विद्यार्थी कुन पृष्ठभूमिको हो उसको रुचि कस्तो छ आदि पक्ष हरेर शिक्षणका गतिविधिलाई आगाडि बढाउनु पर्छ । विद्यार्थीको स्वभाव क्षमता रुचि हरेर समूह विभाजन गरेर पनि शिक्षण गर्न सकिन्छ । वालवालिकालाइ नेपाली भाषामा नै छलफल कुराकानी अन्तक्रिया गराई शिक्षणलाई आगाडि बढाउनु सन्दर्भिक हुन्छ।नेपाली मातृभाषा हुने र नहुने विद्यार्थीकावीचमा कुनै शिर्षकमा बोल्न लगाएर पनि शिक्षणका गतिविधिलाई आगाडि बढाउदा सिकाई प्रभावकारी हुन जान्छ । विद्यालय सबै विद्यार्थीहरुको साझा थलो हो । यस थलोमा सवै थरीका वालवालिकाहरु पढ्न आउने गर्दछन् भन्ने कुरालाई शिक्षकले ध्यान दिन जरुरी हुन्छ । ति वालवालिकाहरुको मातृभाषा एक भइरहेको अवस्थामा विद्यालयतहमा आउदा उनिहरुले अर्को भाषासँग वा विद्यालयको पठनपाठनको माध्यम अर्को हुने गर्दछ । यसरी फरक फरक पृष्ठभूमिवाट आएका वालवालिकालाई समेटेर शिक्षण गर्नु पर्ने हुन्छ । यस्ता विसमभाषाभाषी भएका वालवालिकालालाई उपयुक्त शिक्षण विधि र प्रविधिका माध्यमवाट शिक्षण गर्नुपर्दछ । उनिहरुलाई नेपाली भाषा प्रति रुचि उत्पन्न गराउने खालका क्रियाकलापमा जोड दिदै अगाडि बढ्नु पर्छ । विद्यालयमा इतर नेपाली भाषी विद्यार्थीहरुकै बाहुल्यता रहेको छ । मेरो कक्षामा अन्य भाषाभाषीका विद्यार्थीहरु पनि छन् भन्ने कुरामा शिक्षक सधै चनाखो भएर शिक्षण गरिएको खण्डमा सिकाइ प्रभावकारी हुन जान्छ । यस्ता पक्षलाई भाषा शिक्षकले गम्भिरतापूर्वक लिनुपर्दछ । विविध भाषाभाषी भएको कक्षामा शिक्षकले नेपाली भाषामा कुराकानी गर्ने अभ्यासात्मक क्रियाकलाप गराउने र अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने खालका क्रियाकलापहरु गराउनु सान्दर्भिक मानिन्छ । त्यसै गरी शिक्षकले द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली नेपाली भाषा शिक्षण गर्दा उपयुक्त सामग्रीको छनोट शिक्षण विधि र प्रविधिको उपयुक्त तरिकाले छनोट गरी शिक्षण गर्नु पर्दछ । यस्तो विविधता युक्त कक्षामा शिक्षकले उनिहरुलाई निरन्तर रुपमा सुधारात्मक शिक्षण र निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियालाई अपनाउनु पर्दछ।यसले गर्दा शिक्षकले विद्यार्थीलेका भाषा सिकाईमा गरेका गल्तीहरु सजिलै थाहा पाउन सकिने हुँदा उनिहरुलाई सुधार हुने अवसर प्राप्त गराउन सकिन्छ ।
द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा निम्न कुरामा ध्यान दिनु आवश्यक छः
- विद्यार्थीको भाषिक अवस्था पत्ता लगाउने
- विद्यार्थीको समूह विभाजन गर्ने
- गरेका गल्ती पहिचान गर्ने
- कठिनाई क्षेत्र पत्ता लगाउने
- शिक्षण विधि र शैक्षिक सामग्री प्रयोग गर्ने
- त्रुटि विश्लेषण र निराकरणात्मक तरिकावाट शिक्षण गर्ने
- सम्भव भएसम्म द्विभाषिक शिक्षकको व्यवस्था गर्ने ।
द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा देखिएका समस्याहरुः
१.आधुनिक शिक्षण प्रविधि र विधि प्रयोगमा ल्याउन नसक्नु
२.माध्यमको समस्या
३.बहुभाषिक शिक्षकको अभाव
४.कक्षाकोठाको अभाव
५.सबै विद्यार्थीहरुको रुचिलाई समेट्न नसक्नुआदि ।
नेपाली भाषा शिक्षणका चुनौतीहरु
- स्तरीय नेपाली भाषा सिकाउने चुनौती
- निर्माण गरिएका भाषा पाठ्यपुस्तकहरु विद्यार्थीको रुचिलाई ध्यान नदिएको
- दक्ष तथा तालिम प्राप्त शिक्षकको अभाव
- नेपाली विषयप्रतिको नकारात्मक दृष्टिकोण
- शिक्षण विधि र शैक्षिक सामग्री निर्माण सम्बन्धि समस्या आदि ।
द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा अपनाउने विधिहरुः
- प्रत्यक्ष भाषा विधि
- व्याकरण अनुवाद विधि
- निगमनात्मक विधि
- आगमनात्मक विधि
- सम्प्रेषणात्मक विधि
- श्रुति भाषिक विधि
आदि प्रकारका विधिहरु प्रयोग गरी शिक्षण गरिएको खण्डमा द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण प्रभावकारी हुन्छ र विद्यार्थीले सजिलैसँग भाषा सिक्न सक्दछन् भन्ने दृष्टिकोण यस भित्र पर्दछ ।
द्विभाषिक तथा बहुभाषिक कक्षामा निम्न कारणले गर्दा नेपाली भाषा शिक्षणको आवश्यकता पर्न गएको होः
- नेपाली भाषा नेपालको साझा सम्पर्कको माध्यम भाषा भएकाले,
- अन्य भाषासँग सम्बन्ध स्थापित गर्न,
- सम्प्रेषणात्मक क्षमताको विकास गर्न,
- संज्ञानात्मक क्षमताको विकास गर्न,
- उच्च दक्षता हाँसिल गर्न ।
निष्कर्ष
विद्यालय तहमा त्यसमा पनि द्विभाषिक र बहुभाषिक कक्षामा नेपाली भाषाको शिक्षण गर्नु एक चुनौती पूर्ण कार्य भएतापनि त्यसलाई भाषा शिक्षकले बोझका रुपमा नलिई एक अवसरको रुपमा लिएर शिक्षणका कार्यलाई आगाडि बढाउनु पर्दछ । विद्यार्थीको घरको भाषा एक हुन्छ र पठन पाठनको माध्यम भाषा अर्को हुने हुँदा यसले वालवालिकाको भाषा सिकाइमा प्रत्यक्ष प्रभाव पार्दछ । जसले गर्दा वालवालिका अल्मलिने सम्भावना रहन्छ । त्यस्ता वालवालिकालाई शिक्षकले पहिचान गरी उचित तरिकाबाट शिक्षण गर्नुपर्दछ । विद्याललय तहमा त्यसमा पनि प्राथमिक तहमा द्विभाषिक र बहुभाषिक विद्यार्थीको संख्या बढी हुने र त्यस्तो कक्षामा शिक्षकले प्रभावकारी रुपमा सबै विद्यार्थीहरुलाई समेटेर शिक्षण गर्नुपर्दछ र सहज तरिकावाट शिक्षणका गतिविधिलाई आगाडि बढाउन सकियो भने नेपाली भाषा शिक्षण प्रभाकारी हुन्छ । यस प्रकारको विविधता भएको कक्षामा नेपाली विषयको शिक्षणलाई रुचिपूर्ण व्यावहारीक हुने गरी शिक्षण गर्नुपर्दछ ।द्विभाषिक र बहुभाषिक कक्षामा शिक्षकले नेपाली भाषाको शिक्षण गर्दा उनिहरुलाई मातृभाषासँग सम्बन्धित गराई शिक्षण गराउनु पर्दछ ।यस्तो विविधताले भरिएको कक्षामा नेपाली विषयको शिक्षणलाई चुनौतीका रुपमा लिइएता पनि शिक्षकले त्यसप्रकारको गतिविधिलाई सरलताका साथ आगाडि बढाउनुपर्छ।नेपाल बहुभाषिक मुलुक हो । १२९ भाषाले मान्यता पाएका छन् । यस्तो भाषिक विविधतामय कक्षामा नेपाली भाषा शिक्षणको आवश्यकता देखिन्छ । नेपाली भाषा सरकारी कामकाजको भाषा र जन सम्पर्कको भाषा भएको हुँदा विद्यार्थीलाई नेपाली भाषामा नै अभ्यास गराउने कार्य गर्नुपर्छ । विद्यालय तहमा नेपाली भाषा पढाउनुको मूलभूत उद्देश्य भाषिका सिपको विकास गराउनु हो । वालवालिकामा भाषिक सिपको विकास गराउन नेपाली भाषी विद्यार्थीलाई केही सहज भएतापनि विमातृभाषी विद्यार्थी लाई भने भाषिक सिपको विकास गराउनु त्यति सहज हुँदैन । यसका लागि शिक्षकले विद्यार्थीलाई तिनिहरुको भाषिक पृष्ठभूमि कस्तो छ पहिचान गरी शिक्षण गरिनुपर्दछ । नेपालका अधिकांश विद्यालयहरुमा यस्ता किसिमका समस्याहरु देखिन्छन् त्यस्तो अवस्थामा भाषा शिक्षकले ती विद्यार्थी कुन भाषिक समुदायबाट आएका हुन त्यसको निर्धारण गरी सोही आधारमा नेपाली भाषा शिक्षण गरियो भने द्विभाषिक तथा बहुभाषिक कक्षामा नेपाली विषयको शिक्षण प्रभावकारी हुन जान्छ ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्गराज (२०५०), नेपाली भाषा शिक्षण, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, केदारप्रसाद र माधवप्रसाद पौडेल (२०६०), नेपाली भाषा र साहित्य शिक्षण,न्यू हिरा बुक्स इन्टरप्राइजेज कीर्तिपुर, काठमाडौँ ।