घरेलु तथा साना उद्योग दर्ता बढ्यो

स्काई न्यूज / साउन २७,दैलेख ।
दैलेखमा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता गर्नेहरूको संख्या बढेको छ । विगत २ आर्थिक वर्षमा मात्र जिल्लामा ९०० भन्दा धेरै घरेलु तथा साना उद्योग दर्ता भएका छन् । देश संघीयतामा गएर स्थानीय सरकार बनेपछि जिल्लाका युवाहरू आफ्नै गाउँठाउँमा स्वरोजगार उद्यमी हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा ४०७ ओटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । त्यो संख्या आव २०७६/७७ बढेर ४३७ उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै गत आवमा दुईओटा लघु उद्यम समेत दर्ता भएका छन् । उद्योगमा प्राइभेट फर्म ४२६, साझेदारी ८ र प्रालि ३ ओटा दर्ता रहेका छन् । त्यसमध्ये पनि उत्पादनमूलक ३२ ओटा, कृषि तथा वनमा आधारित २५९, पर्यटन ८९ र सेवामूलक ५५ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगमा सरकारी अनुदानको रूपमा रू. ३२ करोड २६ लाख ६२ हजार पूँजी लगानी भएको छ, जसमा स्थिर पूँजी रू. ३० करोड ६९ लाख ८५ हजार र चालू पूँजी रू. ११ करोड ५६ लाख ७५ हजार रहेको कार्यालयले जानकारी दिएको छ ।

सञ्चालित उद्योगहरू प्रायः उत्पादनमूलक रहेको उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख परशुराम आचार्यले जानकारी दिए । यस्तै ऊर्जा, खनिज तथा निर्माणमूलक उद्योगको संख्या भने शून्य रहेको छ । उद्योगहरूमा अहिले ४४६ जना उद्यमी आबद्ध छन्, जसमा १६० जना महिला छन् र २८८ जान पुरुष रहेको उनले जानकारी दिए । गत आवमा दर्ता भएका उद्योगहरूमा रोजगारी पाउनेको संख्या पनि निकै बढेको छ । जिल्लाका ४३७ ओटा उद्योगमा करीब १ हजार ४०० जनाले रोजगारी पाएको कार्यालयको तथ्यांक छ । रोजगारीमा जोडिनेमा ६०५ जना महिला र ६८५ जना पुरुष रहेका छन् । यस्तै पहिलेका २ हजार ५०० भन्दा धेरै उद्योग व्यवसायमा रोजगारीका धेरै अवसर सृजना भइरहेको कार्यालय प्रमुख आचार्यले बताए । राज्यले यस क्षेत्रमा लगानी बढाउन सके रोजगारीका थप अवसर सृजना गर्न सकिने सरोकारवालाहरूको भनाइ छ । विगतका वर्षहरूमा सञ्चालनमा आएका केही घरेलु उद्योग अहिले बन्द छन् । यस्तै उद्योगहरूको स्तरोन्नति गर्ने कार्यक्रम नभएको प्रमुख आचार्यले बताए ।
वाणिज्यतर्फ ६४९ दर्ता, १८ खारेजी
दैलेखमा वाणिज्यतर्फ पनि नागरिकको आकर्षण बढेको पाइन्छ । गएका २ आर्थिक वर्षमा वाणिज्यतर्फ करीब १ हजारको हाराहारीमा उद्योग दर्ता भएका छन् । गत आवमा मात्र ६४९ ओटा दर्ता भएका छन् । यस्तै २२४ नवीकरण गरिएका छन् भने १८ ओटा खारेजी भएका छन् । वाणिज्यतर्फ दर्ता भएका उद्यम व्यवसायमा ५० करोड ८६ लाख रुपैयाँ पूँजी लगानी भएको कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा उद्योग र वाणिज्य प्रशासनबाट रू. २५ लाख ९० हजार ८०५ रुपैयाँ राजस्व संकलन भएको छ । यो आर्थिक वर्ष २०७५ /७६ भन्दा कम हो । काम हुने समय चैत, वैशाख र जेठ महीनामा लकडाउनले कुनै पनि गतिविधि हुन नसक्दा राजस्व संकलनमा कमी आएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले बताएको छ ।

Translate »