२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै



२७ साउन, काठमाडौं ।
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । विगतका वर्षहरुमा मुलुक भरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् । कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने ललितपुरको पाटन स्थित प्रसिद्ध कृष्ण मन्दिर आज बन्द गरिएको छ । यहाँ राष्ट्रपति समेत दर्शनका लागि जाने प्रचलन छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिईन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार
Translate »