

सुर्खेत । प्रहरीले डोल्पा कारगारबाट सुरुङ खनेर फरार भएका मध्य आज थप दुई जना कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४, का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१, का यज्ञ विक रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाका अनुसार लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४, रंग गाउँको जंगलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । गत कार्तिक १४ गते दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जनामध्य हालसम्म ६ जना पक्राउ परिसकेका छन् ।
प्रहरीका अनुसार चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५, का तिलक भण्डारी र वडा नम्बर–३, का आदेश भण्डारी भने अझै फरार छन् ।











