२०८३ कात्तिक २१ , शुक्रबार
Sky News Nepal
November 6, 2026

वातावरणीय सन्तुलन कायम राख्न गिद्धमैत्री पशु चिकित्सा अभ्यासबारे छलफल



सुर्खेत ।  पछिल्लो समय गिद्धको संख्यामा आएको भारी गिरावटका लागि पशु उपचारमा प्रयोग हुने हानिकारक औषधिहरु मुख्य जिम्मेवार रहेको पाईएको छ ।

घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक ‘डाइक्लोफेनेक’ जस्ता औषधिहरुको बढ्दो प्रयोग गिद्ध विनाशको प्रमुख कारणका रुपमा रहेको पाईएको पशु विज्ञहरुले बताएका छन् ।

नेपाल पन्छी संरक्षण संघले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सरोकारवाला निकायहरु विच गिद्ध संरक्षणमा ‘गिद्धमैत्री पशु चिकित्सा अभ्यास अभियान’ सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले पशुमा दुखाइ र सुन्निएको कम गर्न प्रयोग गरिने स्टेरोइडरहित एन्टी–इन्फ्लेमेटरी जस्ता औषधि गिद्धका लागि विष सरह हुने गरेको बताएका हुन् ।

पशुअस्पताल तथा पशु सेवा कार्यालय सुर्खेतका वरिष्ठ पशु चिकित्सक डाक्टर ऋषभ गुराँगाईले डाइक्लोफेनेक प्रयोग गरिएको मृत पशुको लाशलाई गिद्धले खाएपछि उसको मिर्गौला खराब भएर केही दिनमै मर्ने गरेको पाईएको बताए । डाइक्लोफेनेकको प्रयोग तथा उत्पादनमा प्रतिबन्ध लगाइएपनि अझैपनि केही ठाउँमा यसको लुकिछिपी प्रयोग हुने गरेको पाइएको उनले जनाए ।

‘डाइक्लोफेनेकको सुरक्षित विकल्पको रुपमा मेलक्सिकाम औषधि प्रयोग गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘वैज्ञानिक परीक्षणद्वारा गिद्धका लागि सुरक्षित ठहरिएको अर्को एक विकल्प टोलफेनामिक एसिड नामक औषधि समेत रहेको छ ।’

तर, केटोप्रोफेन निमेसुलाइड र एसिक्लोफेनेक जस्ता औषधिहरु पनि गिद्धका लागि विषालु हुने प्रमाणित भएकाले पशु चिकित्सामा यस्ता औषधिको प्रयोग पूर्णरुपमा प्रयोग नगर्न सुझाव दिइएको उनको भनाइ छ । कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण परीक्षण प्रयोगशालाका सुर्खेतका प्रमुख डाक्टर उत्तम आचार्यले पशुपन्छीको स्वास्थ्य रक्षा र वातावरणीय सन्तुलन कायम गर्न औषधिको सुरक्षित तथा जिम्मेवार प्रयोग आवश्यक रहेको बताए ।

उनले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने औषधिका कारण वन्यजन्तु तथा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावप्रति सम्बन्धित सरोकारवाला निकाय सचेत हुन आग्रह गरे । त्यस्तै कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले गिद्धमैत्री पशु चिकित्सा अभ्यासलाई प्रभावकारी बनाउन पशु चिकित्सक, स्थानीय तह, वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित सरकारी निकायबीच सहकार्य र समन्वय हुन आवश्यक रहेको जनाए ।

गिद्ध संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न पशु चिकित्सक, फार्म सञ्चालक र स्थानीय किसानहरुलाई नियमित तालिम तथा सचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत राधाकृष्ण दासले गिद्ध संरक्षणको महत्व पारिस्थितिक प्रणालीमा गिद्धको भूमिका र यसको विनाशले मानव स्वास्थ्यमा पार्ने असर बारे व्यापक जनचेतना फैलाउनु पर्नेमा जोड दिए ।

गिद्ध संरक्षणका क्षेत्रमा विद्युतीय तार, वासस्थानको विनाश र नयाँ विषादीहरुको बारे सचेतना फैलाउन नसक्नु जस्ता नयाँ चुनौतीहरु समेत थपिएको उनको भनाइ छ । नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले पशु उपचारमा प्रयोग गरिने औषधिको छनोट, वातावरणीय सन्तुलन र सम्बन्धित निकायबीच समन्वयसँगै गिद्ध संरक्षणका लागि पशु चिकित्सा अभ्यासको आवश्यकताबारे आफ्नो धारणापत्र प्रस्तुत गरेका थिए ।

यसैवीच औषधि व्यवस्था विभागले पशुपन्छीको स्वास्थ्य तथा वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्न सक्ने केटोप्रोफेन, निमेसुलाइड र एसिक्लोफेनेक जस्ता औषधिहरुको पशुपन्छीमा प्रयोग, नयाँ दर्ता, उत्पादन अनुमतिपत्र, बजार बिक्रीवितरण प्रमाणपत्र तथा पैठारीसम्बन्धी सिफारिस प्रदान गर्न रोक लगाइएको जानकारी गराईएको छ ।

विभागले २०८३ वैशाख १० गते जारी गरेको सूचनाअनुसार बजारमा मौज्दात रहेको उक्त औषधि वैशाख ८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बिक्रीवितरण गर्न सकिने र त्यसपछि बाँकी रहेको औषधि सम्बन्धित उत्पादक वा आयातकर्तालाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।

यता सरोकारवालाले भने पशु स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरुलाई गिद्ध मैत्री वैकल्पिक औषधि प्रयोग गर्न प्रोत्साहन गर्नेपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार
Translate »