

सुर्खेत । कृषि उपजमा रासायनिक विषादीको प्रयोग कम गरी जनस्वास्थ्यको रक्षा गर्ने कार्य शुरु भएको छ ।
जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘पोषण प्रवद्र्धन तथा विषादी न्यूनिकरण सम्बन्धि’ सरोकारवाला विच अन्तक्रिया तथा समन्वयात्मक बैठकमा दैनिक खाने खानामा विषादी न्यूनिकरण गरी जनस्वास्थ्यको रक्षा गर्ने कार्य शुरु गर्न लागिएको जानकारी गराईएको हो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख करुणा भट्टराईले पोषण प्रवर्द्धन तथा विषादी न्यूनिकरण गर्नेका कार्य कुनै एक पक्षको मात्र नभई यो साझा मुद्धा भएको बताईन् । उनले दैनिक खाने खानामा विषादी न्यूनिकरण गर्ने र मानव पोषणलाई प्रवर्द्धन गर्नु नै अन्तरक्रियाको मुख्य उद्देश्य रहेको जनाई ।

‘जिल्लामा विषादी प्रयोगको अवस्था विश्लेषण गर्ने, सरोकारवाला निकायको सहकार्यमा विषादी नियन्त्रण तथा विषादीको समुचित प्रयोग अभियान सञ्चालन गर्ने योजना छ,’ उनले भनिन्, ‘विषादीरहित पोषणयुक्त खाद्यान्न प्रवर्द्धनको अभियान सञ्चालनका लागि सरोकारवालाको समन्वय, सहयोग तथा सहकार्य आश्यक हुन्छ ।’
उनले समुदायमा स्वस्थ खानपानको बानी विकास गर्न कृषि, पशु, वन, सामाजिक विकास मन्त्रालय तथा सरोकारवाला सबैसँग समन्वय तथा सहकार्य गरी अगाडि बढिने बताईन् ।
कार्यक्रममा कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले नेपालमा विषादीको इतिहास, बाली अनुसार विषादीको प्रयोगको अवस्था, सुरक्षित विषादीको प्रयोग, विषादीले मानव स्वास्थ्यमा पारेको नकारात्मक असरहरु, विषादी न्यूनीकरण तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका, प्राङ्गारिक कृषि जैविक विषादिको प्रयोग, असल कृषि अभ्यास, एकीकृत शत्रु जिव व्यवस्थापन लगायतका विषयमा जानकारी दिए ।


मानव शरीरमा विषादीको प्रवेश खानेकुरा, हावा, पिउनेपानीबाट हुने बताउँदै उनले विषादीको समुचित व्यवस्थापनको लागि सरोकारवाला निकायहरुको भूमिका अति आवश्यक भएको बताए । खेतीयोग्य जमिनमा प्रतिहेक्टर ३९७ ग्राम विषादी खपत हुने गरेको उनको भनाइ छ । सबैभन्दा बढी विषादीको अत्याधिक प्रयोग तरकारी बालीमा भइरहेको छ ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले कृषि उपजमा रासायनिक विषादीको प्रयोग कम गरी जनस्वास्थ्यको रक्षा गर्नु पर्नेमा जोड दिए । उनले विषादी नियन्त्रणमा सरकारी पक्षसँगै उत्पादक, वितरक तथा आम उपभोक्ताको विशेष भूमिका आवश्यक रहेको औल्याए ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले उत्पादकत्व बढाउन औषधीकै रुपमा बालीनालीमा विषादीको प्रयोग गरिँदा जनस्वास्थ्यमा नकारात्मक असर पुगिरहेको जनाए । उनले विषादीयुक्त कृषि उपजको प्रयोगले धेरैजसो मान्छेमा नसर्ने रोगको जोखिम झन् झन् बढिरहेको बताए ।
पोषण प्रवर्द्धन तथा बिषादी न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन सबै निकायबीच समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रीराम न्यौपानले पोषण प्रवर्द्धन तथा बिषादी न्यूनिकरणका लागि नीतिगत रुपमै अघि बढ्न आवश्यक रहेको औल्याए ।

उनले जलवायु परिवर्तन, वातावरण, माटोको उर्वरा ह्रासका कारण विषादी प्रयोग नगरी उत्पादन नहुने अवस्था बनेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीले यस्ता अभिमुखीकरण कार्यक्रमले पोषण प्रवर्द्धन तथा बिषादी न्यूनिकरण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘सरोकारवाला निकाय जिम्मेवार नभई नागरिक जिम्मेवार हुन सक्दैनन्, त्यसैले पोषण र विषादी व्यवस्थापनमा राज्य तथा सरोकारवाला सबै जिम्मेवार हुन जरुरी छ ।’ कार्यक्रमको सहजीकरण जनस्वास्थ्य सेवा कार्यालयका पोषण फोकल पर्सन अमरबहादुर रानाले गरेका थिए ।
कार्यक्रममा एकीकृत कृषि प्रयोशालाकाका माटो विज्ञ मोहन आचार्य, वीरेन्द्रनगर नगरपालिकाका कृषि विकास अधिकृत हेमराज केसी, पशुरोग अन्वेषण प्रयोगशाला कर्णाली प्रदेशका पशु चिकित्सक विष्णुप्रसाद ढकाल, स्वास्थ्य सेवा निर्देशनालयका बरिष्ठ पब्लिक हेल्थ नर्सिङ प्रशासक मानकुमारी गुरुङ, पोषण फोकल पर्सन भुवन गिरी, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन विसी, राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाश तारा बयकलगायतको सहभागिता रहेको थियो ।











