

गुटु । कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा सिँचाइ अभाव हुन नदिन जुम्ल्याहामुलमा मानव निर्मित ‘ताल’ निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
चौकुनेको अन्न भण्डारका रुपमा चर्चित गुटुको खेतीयोग्य जमिनलाई बाह्रै महिना सिंचाई सुविधा पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको १४ करोड लगानीमा जुम्ल्याहामुल ताल निर्माण कार्य अन्तिम चरण पुर्याईएको हो । चार हेक्टर क्षेत्रफलमा निर्माण भईरहेको कृत्रिम ताल तोकिएको समयमा सम्पन्न भएमा चौकुनेका ६, ७ र ८ नम्वर वडाका १४ सय बढी घरधुरीलाई बाह्रै महिना सिंचाई सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
तीव्रगतिमा निमार्णाधिन जुम्ल्याहामुल ताल बहुउद्देश्यीय परियोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको जुम्ल्याहामुल ताल संरक्षण तथा व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर बुढाक्षेत्रीले बताए । उनले जुम्ल्याहामुल तालबाट खानेपानी, सिँचाइ, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनसँगै स्थानीय स्तरमा रोजगारी समेत सृजना गर्न सकिने देखिएको जनाए ।
‘कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलको पहल तथा सक्रियतामा शुरुको भएको मानव निर्मित ताल निर्माण कार्यले चौकुनेको कृषि क्रान्तिमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ,’ उनले भने, ‘जुम्ल्याहामुल ताल निमार्णपछि सिंचाई, माछापालन, ¥याफिटिङलगायत पर्यटनसँग सम्बन्धित अन्य व्यापार तथा व्यवसाय गर्नका लागि नयाँ आयाम खुल्ने देखिन्छ ।’


उनले बहुउद्देश्यीय तालबाट सिंचाईसँगै अन्य पक्षका नयाँ आयामबाट लाभ लिन थप लगानीका लागि प्रदेशसँगै संघीय सरकारको समेत सहयोग अपरिहार्य रहेको जनाए । गुटुको उर्वर भूमिमा बाह्र महिना सिंचाई सुविधा पुर्याउन सके वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धन गरी एकीकृत विकासको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको चौकुने–८, का स्थानीय दृष्टि देवकोटा बताउँछिन् ।
‘चौकुने ६ र ७ नम्वर वडाका दुईटा खोलाको दोभानको बिचमा पानीका मूल फुट्ने ‘जुम्ल्याहामुल’ पर्यटकीय सम्भावना बोक्नुका साथै अब मत्स्यपालनका लागि पनि उपयुक्त देखिन्छ,’ उनले भनिन्, ‘जुम्ल्याहामुल ताल क्षेत्रको उज्जवल सम्भावना देखेर जिल्ला सदरमुकाम वीरेन्द्रनगरबाट आएका व्यापारी, कर्मचारीहरुले समेत आयोजना आसपासमा जग्गा खरिद गरिरहेका छन् ।’
उनले अर्कोतर्फ सिँचाइ अभाव झेलिरहेको गुटुलाई पर्याप्त पानी पुर्याउन सके कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने बताईन् । अब तालको वरिपरि फुटपाथ, उद्यान, विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यका लागि काम गर्न थप लगानी आवश्यक देखिएको चौकुने–८, का स्थानीय शिवराज न्यौपाने बताउँछन् ।
उनले यसअघि जुम्ल्याहामुलमा तीन करोड ६० लाख लागतमा लिफ्ट सिंचाइ आयोजना निर्माण सम्पन्न हुँदा व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई सहज भएको जानकारी दिए । उनका अनुसार करिब ३० हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुगेपछि गाउँमा व्यावसायिक कृषिको लहर छाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा जुम्ल्याहामुल ताल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित थप ३ करोड रकम विनियोजन गरेको छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गत खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत जुम्ल्याहामुल ताल बहुउद्देश्यीय परियोजनाको काम भईरहेको छ । आयोजना आर्थिक वर्ष २०८१/०८२ देखि शुरु भएको हो ।











