

सुर्खेत । डोल्पाबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्दार गरी सुर्खेत ल्याइएको छ ।
आज डोल्पाको विकट बस्ती छार्काताङसोङ–४, निवासी २६ वर्षिया जुनु बुढालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याईएको हो ।
स्थानीय स्तरमा पर्याप्त उपचार सुविधा नहुँदा जुनुलाई तत्काल उद्दार गरी सुर्खेत स्थित सुविधासम्पन्न प्रदेश अस्पताल कालागाउँ ल्याईएको छ ।पाटेघरको समस्याले पीडित जुनुलाई उपचार सुरु भएपछि अहिले स्थिति सामान्य बन्दै गईरहेको प्रदेश अस्पताल कालागाउँ सुर्खेतका सूचना अधिकारी (उपसचिव) अनिता ज्ञवालीले जानकारी दिईन् ।

भौगोलिक विकटतासँगै स्थानीय स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ चिकित्सक तथा शल्यक्रिया सेवाको अभाव रहेका क्षेत्रबाट आपतकालीन अवस्थामा गरिने ‘हवाई उद्दार’ मानव जीवन बचाउन प्रभावकारी माध्यम बनेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरुका लागि सञ्चालित कार्यक्रम अन्तर्गत जुनुको हवाई उद्दार गरिएको हो ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले आपत्कालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो मद्दत गर्दै आएको छ ।










