२०८३ कात्तिक १८ , मंगलबार
Sky News Nepal
November 3, 2026

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु



सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को औपचारिक रुपमा काउन्टडाउन सुरु भएको छ ।

सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रादेशिक रंगशाला सुर्खेतबाट काउनडाउन सुरु भएको घोषणा गरेका हुन् । आगामी मङ्सिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिता सुरु हुन अब ठीक ३० दिन बाँकी रहेको छ ।

प्रतियोगिताको तयारीलाई तीब्र बनाउन र तोकिएकै मितिमा प्रतियोगिता हुने सुनिश्चितता गर्न सरकारले ३० दिने काउन्डाउन सुरु गरेको हुन् । यसअघि ५ पटकसम्म मिति तोक्दै र स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा आयोजना गर्ने सरकारको तयारी छ ।

प्रतियोगिताको तयारीलाई तिब्र बनाउन संघीय सरकारका मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता सहितका पदाधिकारीहरु सुर्खेत पुगेका छन् । खेलकुद परिषद्ले खेलस्थलको व्यवस्थापन, खेल सामग्री खरिद, खेलाडीको तयारी, आवास, यातायात, सुरक्षा तथा अन्य व्यवस्थापकीय पक्षलाई तीब्रता दिएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिन र व्यवस्थित बनाउने उद्देश्यले आफु अहिले सुर्खेत केन्द्रित रहेको शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले बताए । उनले पहिलो पटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन सबै पक्षसँग आग्रह गरे ।

खेलकुद प्रतियोगिताको आयोजनास्थल रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा आफुहरु युद्धस्तरमा जुटेको कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए । उनले प्रतियोगितालाई भव्य र ऐतिहासिकरुपमा सफल पार्न संघसँगै प्रदेश र स्थानीय तह विच आवश्यक समन्वय, सहकार्य गर्दै व्यवस्थापन तथा पूर्वाधारको अवस्थालगायत विषयमा कर्णाली प्रदेश सरकार केन्द्रित रहेको जनाए ।

त्यस्तै सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्णरुपमा लागिपरेकै कारणले आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । अहिले संघीय शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री मल्ललगायतको उपस्थितिमा तयारी तथा समन्वय बैठकहरु तीव्र पारिएका छन् ।

खेलकुदको महाकुम्भ सुरु हुन अब महिना दिन मात्र बाँकी रहँदा देशैभरका खेलाडी र खेलप्रेमीहरुमा भने उत्साह थपिएको छ । १० हजार दर्शक अट्ने क्षमताको अत्याधुनिक कर्णाली प्रदेश रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि आफ्नो तयारीलाई तीव्रता दिएको राखेप सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।

यता कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जिल्लास्तरीय खेलाडी छनोट, प्रदेशस्तरीय छनोट, बन्द प्रशिक्षण, खेलस्थलको व्यवस्थापन र आवश्यक पूर्वाधार सुधारका काम अघि बढाएको उपाध्यक्ष प्रमोद हमालले बताए । उनका अनुसार वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको छ ।

विभिन्न उपसमिति गठन गरेर तयारीलाई व्यवस्थित बनाउने प्रयास गरिएको उहाँको भनाइ छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोली सहभागी हुनेछन् । विभिन्न ३२ खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको मुख्य खेलस्थलका रुपमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला नै हुनेछ ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार
Translate »