

सुर्खेत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार–प्रसार उपसमितिको आयोजनामा सुर्खेतका पत्रकारहरुका लागि एक दिने ‘खेलकुद रिपोटिङ्ग सम्बन्धि’ अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
आगामी (मंसिर १६ गतेदेखि २७ गतेसम्म ) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई थप प्रभावकारी, व्यवस्थित र जनस्तरसम्म पु¥याउने उद्देश्यले एक दिने ‘खेलकुद रिपोटिङ्ग सम्बन्धि’ अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा आयोजना गरिएको ‘खेलकुद रिपोटिङ्ग सम्बन्धि’ अभिमुखिकरण कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन पत्रकारहरुले सत्य, तथ्य सूचना जनतासम्म पु¥याई दिन आग्रह गरे ।

उनले ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ लाई कर्णालीको मात्रै नभएर देशकै गौरवको उत्सवका रुपमा बनाउन सञ्चारमाध्यमहरुले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिए । पहिलो पटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेल उत्सवलाई सकारात्मकरुपले प्रविधिमैत्री रिपोर्टिङ हुनेमा आफु आशावादी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेश खेलपरिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रयोगिताको तयारी तीव्र गतिमा भइरहेको सन्दर्भमा खेल मेलालाई व्यापक र प्रभावकारी प्रचार–प्रसार, व्यवस्थापन तथा मिडिया समन्वयका लागि राखेप प्रचार–प्रसार उपसमितिले विभिन्न गतिविधिहरु अगाडि बढाइरहेको जानकारी दिए ।

उनले खेलकुदको विकासका लागि खेल पत्रकारिता मेरुदण्ड सरह रहेकाले कर्णाली प्रदेश खेलकुद परिषद् सधैं पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार–प्रसार उपसमितिको संयोजक मोनालिसा खम्बुले खेलकुद पत्रकारितासँगै सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले खेलकुद रिपोटिङ्ग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जनाईन् ।
उनले खेलकुद विधा आफैंमा प्राविधिक र संवेदनशील हुने भएकाले नियम, अनुशासनसँगै मर्म बुझेर गरिने रिपोर्टिङले मात्र न्याय पाउने धारणा राखिन् । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले खेलकुदका गतिविधिहरुलाई जनस्तरसम्म प्रभावकारी रुपमा पु¥याउन ‘खेलकुद रिपोटिङ्ग सम्बन्धि’ अभिमुखिकरण कार्यक्रम प्रभावकारी हुने दावी गरे ।
उनले राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा खेलकुद समाचार संकलन, लेखन, सम्प्रेषणलाई थप व्यवस्थित र व्यावसायिक बनाउन यस्ता अभिमुखीकरण पत्रकारहरुका लागि सहयोगी भएको जनाए । कार्यक्रममा राष्ट्रिय स्तरका वरिष्ठ खेल पत्रकार तथा विज्ञहरुले खेलकुद समाचार संकलन, लेखन, मल्टिमिडिया प्रयोग, खेलकुदको नियम सम्बन्धी प्राविधिक ज्ञानसँगै अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए ।
मुख्यतः पत्रकार पवन आचार्य, प्रज्वल ओली र ऐलु जोशीले दिएको प्रशिक्षण उपयोगी रहेको अभिमुखिकरण कार्यक्रमका सहभागि पत्रकार देव रानाले बताए । उनले यस प्रकारका प्राविधिक अभिमुखीकरणले मैदानभित्रका गतिविधिलाई अझै स्पष्ट र रोचक ढङ्गले पाठक तथा दर्शकमाझ पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।











