

सुर्खेत । सुर्खेत प्रहरीले जिल्ला सदरमुकाम वीरेन्द्रनगरबाट जुवाखालबाटै १७ जनालाई पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको संयुक्त टोलीले घरधनी ३४ वर्षीय प्रशान्त शाहीसहित १७ जनालाई पक्राउ गरेको हो ।

गएराती वीरेन्द्रनगर नगरपालिका–४, जिरोड्याम स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १ लाख ५ हजार ६ सय ७० रुपैयाँ नगदसहित २८ बुक तास र लङ्गुरबुर्जा खेलका ६ वटा गोटी बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेखका १०, अछामका ३, सुर्खेतका ३ र बर्दियाका १ जना रहेका छन् । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेलले बताए ।
उनका अनुसार उनीहरुलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को सार्वजनिक नैतिकता विरुद्धको दफा १२५ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको छ ।










