खाद्य कम्पनीमा उपभोक्ताको आकर्षण बढ्दो

चाडपर्व लक्षित सुपथ मूल्य पसल


स्काई न्यूज / असोज २७, सुर्खेत ।
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता आकर्षित भएका छन् । सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुपथ मूल्य पसलसँगै अनलाईन होम डेलिभरी समेतको सेवा उपलब्ध गराएपछि उपभोक्ताको थप आर्कषण बढेको हो । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता खुसी भएका छन् । यता सुर्खेतमा चिनीको आपूर्ति नहुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई नून मात्र उपलब्ध गराईरहेको छ । कम्पनीको सुपथ मूल्य पसलबाट हाललाई चामल र सिमी विक्री वितरण भइरहेका छन् । सुपथ मूल्य पसलमा सोना मन्सुली चामल प्रतिकिलो ४५, सोना मन्सुली स्टिम चामल प्रतिकिलो ५७, जापानीज चामल प्रतिकिलो ५१ रुपैयाँ ५० पैसा, मकवानपुर चामल प्रतिकिलो ४८ रुपैयाँ ५० पैसा, कर्णालीको तिते फापर प्रतिकिलो ५० रुपैयाँ र कर्णालीको सिमी प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

बाहिरको दरभन्दा किलोमा ५ देखि १० रुपैयाँसम्म छुट गरिएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले सामान किन्ने मात्रै नभएर गुणस्तरीय सेवा समेत लिने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्नी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीमबहादुर थापाले दावी गरे । उनले चाडपर्वको समयमा सुपथ मूल्य पसलमासमानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको बताए । यो वर्ष कर्णालीका अन्य जिल्लाहरुमा भने सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन । यो वर्ष कोरोना महामारीले अनलाईन होम डेलिभरी सेवा समेत प्रभावकारी बन्दै गएको उनको भनाइ छ । ‘बजार मूल्यभन्दा सस्तोमा चामल, तिते फापर, सिमी बिक्री हुन थालेपछि ग्राहकको पहिलो रोजाइ बनेको हो,’ उनले भने, ‘ खाद्यन्न किन्ने ग्राहकहरु हामी कहाँ किन्नु हुन्छ । बजार मूल्यभन्दा सस्तोमा दिएकै कारण हाम्रोमा ग्राहकको दैनिक भीड लाग्ने गरेको छ ।’ उनले दशै आसपाससम्म चिनी, नून, दाल, पिठो, तेल, केराउ दानालगायतका सामाग्री समेत उपलब्ध हुने जानकारी दिए । असोज १५ गतेदेखि सुरु भएको सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म सञ्चालनमा रहने उनले बताए । पसल सञ्चालनमा आएदेखि ग्रामीण भेगबाट समेत मानिसहरु चामल, तिते फापर र कर्णालीको सिमी किन्न सुपथ मूल्य पसलमा पुग्ने गरेको उनको भनाइ छ । यता उपभोक्ताले भने दशै अगावै चामल, तिते फापर, सिमीसँगै चिनी, नून, दाल, पिठो, तेल, केराउ दानालगायतका सामाग्री उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य भीमकुमारी भुसालले सुपथ मूल्य पसल शहर केन्द्रित रहेकाले ग्रामीण भेकसम्म पु¥याउन खाद्य व्यापार कम्पनीलाई आग्रह गरिन् । खाद्य व्यापार कम्पनीले ग्रामीण भेगमा दैनिक सुपथमूल्य पसल सञ्चालन गर्न नसकेपनि कम्तीमा घुम्ती सेवा सञ्चालन गरिनु पर्ने उनले माग राखिन् ।


प्रभावकारी बन्दै अनलाइन कारोबार
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनलाइनमार्फत अर्डर लिएर होम डेलिभरी सेवा सुर्खेतमा प्रभावकारी भएको बताएको छ । कोरोना महामारीमा कम्पनीले गत बैशाखदेखि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा अनलाइनबाट खाद्यान्न होम डेलिभरी सेवा सञ्चालनमा ल्याएपछि उपभोक्ता माँझ प्रभावकारिता बन्दै गएको हो । कम्पनीका कर्णाली प्रदेश प्रमुख भीमबहादुर थापाले कोरोना महामारीका वीच अनलाईन अर्डर लिएर होम डेलिभरी सेवा मार्फत दैनिक ३÷४ वटा अर्डर आइरहेको बताए । उनले नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट चाहिएको सामान घरमै पु¥याउने गरी सेवा उपलब्ध रहेको जनाए । उनका अनुसार कम्पनीसँग हाल सोना मनसुली, जापनिज चामल, कर्णालीको सिमी र तीतेफापर उपलब्ध छ । ‘लकडाउनको समयमा उपभोक्तालाई सहज होस् भन्नका लागि घरमै खाद्यवस्तु डेलिभरी सुरु गरेका हौ’, उनले भने, ‘शुरुका दिनमा नजिकैको क्षेत्रबाट शुरुवात गरेपनि निकट भविष्यमै जिल्ला आसपासका शहरका आम उपभोक्ताको घरमा होम डेलिभरी गर्ने र्छौ ।’ उलने खाद्य कम्पनीसँग उपलब्ध खाद्यान्न खरिद गर्न चाहनेले प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको खरिद गर्नसक्ने जानकारी दिए । नेपाल बैङ्क लिमिटेड र सेन्चुरी बैङ्क, खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरेको छ । यसबाट अनलाइन पेमेन्टलाई प्रोत्साहित गरी रकम आदानप्रदान गर्न नपर्ने अवस्थाको सिर्जना गर्न खोजिएको उनको भनाई छ । घरमा खाद्यान्न मगाउँदा अनलाइन पेमेन्ट पनि गर्न सकिने छ भने सामान पु¥याउन आउने व्यक्तिलाई नगदै दिने गरी पनि कारोबार गर्न सकिने व्यवस्था समेत रहेको उनी बताउँछन् । उनले कम्पनीका चामल र कर्णालीका सिमी बजारको तुलनामा धेरै सस्तो मूल्यमा बिक्री गरिरहेको जनाए । हाल थोरै सामान बिक्री गरिरहेको खाद्य कम्पनीले विस्तारै ग्राहकको मागलाई ध्यानमा राखेर दालका परिकार पनि बिक्री गर्ने योजना बनाइसकेको बताएको छ ।

पहिलो पटक अनलाईन सेवा
कम्पनीका अनुसार हाललाई सुर्खेतको वीरेन्द्रनगर उपत्यकाभित्र बसोबास गर्ने उपभोक्ताले नेपाल डट जीओभी डट एनपीमा लग इन गरी अर्डर गर्नसक्ने छन् । सरकारी कम्पनीहरुले अनलाइनमार्फत सेवा दिन थालेको यो नै पहिलो पटक हो । अहिलेसम्म निजी क्षेत्रबाट सञ्चालित अनलाइन पोर्टलहरुले मात्रै होम डेलिभरीको व्यवस्था गर्दै आएकोमा सरकारी खाद्य कम्पनीले यो सेवा सुरु गरेसँगै बजार मूल्यदेखि गुणस्तरीयतामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । यससँगै उपभोक्ताले सरकारले तोकेकै मूल्यमा सामान खरिद गर्न पाउने छन् भने बजार मूल्य नियन्त्रणमा समेत सघाउ पुग्ने कम्पनीको विश्वास छ ।

 

Translate »