लोप हुँदै सुगन्धवाल

फागुन १६, सल्यान । सल्यानका मध्य तथा उच्च पहाडी जङ्गलमा केही समय अघि प्रशस्त पाइने सुगन्धवाल लोप हुन थालेको छ । जिल्लाका अधिकांश स्थानमा पाइने सुगन्धवाल पछिल्लो समय संरक्षणको अभावमा लोप हुँदै जान थालेको छ । समुद्री सतहको १ हजार ५ सय मिटर देखि ३ हजार ६ सय मिटर उचाइको चिसो, सेपिलो र ओसिलो ठाउँमा पाइने सुगन्धवाल हिजोआज निकै कम ठाउँमा मात्र पाउने गरेको छ । बजारमा ६ सय देखि ७ सय रुपैयाँ प्रति किलो सम्ममा बिक्री हुने सुगन्धवाल हराउँदै गए पनि वन उपभोक्ता समितिहरूले संरक्षणका बारेमा खासै चासो नदेखाउँदा हराउँदै गएको वनस्पति कार्यालयका विज्ञ कृष्ण पुनले बताए । उनले भने, ‘‘आयुर्वेदिक औषधीको रुपमा मुखको अल्सर, झाडा पखाला, पेट दुख्ने, वायु नाशक, मिर्गौला सम्बन्धी रोग लगायतका विभिन्न रोगका औषधीका साथै शक्तिवर्धकको रुपमा प्रयोग गरिन्छ ।’ सुगन्धवाल अत्यधिक दोहनका कारण लोप हुने अवस्थामा पुगेको हो । कतै कतै बारीका डिल तथा कान्लामा यसको अव्यवस्थित खेती गरेको पाइएता पनि व्यवसायीक खेती कहीँ कतै नगरको वनस्पति कार्यालय सल्यानले बताएको छ । जिल्लाको कालिमा सामुदायिक वन उपभोक्ता समूह धनवाङ र गरगरे सामुदायिक वन उपभोक्ता समूह गुराँसेमा यसको वृक्षारोपण गरिएको विज्ञ पुनले जनाए । कर्णलीमा पछिल्लो समय जडीबुटीको संरक्षण तथा सम्बद्र्धनप्रति सर्वसाधारणको चासो कम हुँदा गएको पाईएको छ । जथाभावी दोहन र राज्यको नीति समेत स्पष्ट नहुँदा मूख्यतः जटामसी, सगन्धवाल, सुनपाती, तीतेपाती जस्ता जडीबुटीहरू सहजरुपमा पाउन छोडेका छन् । कर्णाली सदरमुकाम सुर्खेत आसपासका क्षेत्रमा विभिन्न प्रकार जडीबुटीहरू पाइने भएपनि झण्डै २०÷२५ प्रकारका जडीबुटीको मात्रै खरिद बिक्री हुने गरेको छ । जिल्लामा पाइने जडीबुटी संकलन गरी बाह्य जिल्लामा निर्यात गर्नुपर्ने बााध्यताका कारणले कम मूल्यमै जडीबुटी विक्री गर्नुपरेको जडीबुटी संकलक बताउँछन् ।

Translate »