मानव तस्करको हतियार बन्दै सामाजिक सञ्‍जाल

प्रयोगका जोखिमबारे थाहा नहुँदा विभिन्न प्रलोभन देखाई फसाउने प्रवृत्ति बढ्दो ‘मानव तस्करीका पछिल्ला घटनामध्ये ७० प्रतिशतभन्दा बढी सामाजिक सञ्जालबाटै’

नयाँदिल्ली — गत मंसिर ९ देखि हराइरहेकी चन्द्रागिरि नगरपालिका बस्ने १६ वर्षीया सीता (नाम परिवर्तन) लाई चार दिनपछि काठमाडौंबाट करिब १३ सय किलोमिटर टाढा भारत मध्यप्रदेशको सिहोरबाट स्थानीय प्रहरीले उद्धार गर्‍यो । किशोरीले प्रहरीलाई बताएअनुसार उनको दुई वर्षअघि टिकटकमार्फत महेश नामका एक भारतीय युवकसँग सम्पर्क भएको थियो । त्यसपछि उनीहरू फेसबुकमा साथी बने । ती युवकले किशोरीलाई विवाह गर्नेसम्मको प्रलोभन दिएर भोपाल बोलाएका थिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा युवकले केटीसँग सम्पर्क गर्न बेग्लै ‘पिटर’ नाममा फेसबुक आईडी नै खोलेको पाइयो । युवक हाल थुनामा छन् । चितवन घर भएकी २८ वर्षीय रमिला (नाम परिवर्तन) गत माघ ४ मा ८ वर्षीया छोरीसहित घरबाट बेपत्ता भइन् । सैलुनमा व्यस्त श्रीमान्ले घर फर्किएपछि मात्रै श्रीमती र छोरी बेपत्ता भएको चाल पाए । तत्कालै प्रहरीलाई खबर गरे । सामाजिक सञ्जालमा तस्बिरसहित सूचना राखे । प्रहरीले तत्काल खोजी सुरु गर्‍यो । मोबाइलबाट भएको सम्पर्कलाई पछ्याउँदै जाँदा भारत उत्तर प्रदेशको बरेलीस्थित एक नम्बरसँग सम्पर्क जोडियो । त्यहाँको एउटा घरमा छापा मार्दा आमाछोरी दिल्लीमा रहेको खुल्यो । घर छाडेको एक महिनापछि दुवै जनालाई दिल्ली प्रहरीले स्थानीय भजनपुराबाट उद्धार गर्‍यो । छोरीसहित ती महिलाको दिल्लीसम्मको यात्रापछाडि सामाजिक सञ्जाल नै कारण रहेको खुल्यो । दुई वर्षअघि उनी फेसबुक र इन्स्टाग्राममार्फत एक भारतीय युवकसँग जोडिएकी थिइन् । ती युवकले उनलाई विवाहको प्रलोभन दिएर दिल्ली बोलाएका रहेछन् । जयसपुर बाँकेकी १७ वर्षीया मीना (नाम परिवर्तन) पनि गत साउन अन्तिम साता घरबाट एकाएक बेपत्ता भइन् । परिवारमा रुवाबासी भयो । स्थानीय प्रहरीले खोजी थाल्यो । घरबाट हराएको करिब एक सातापछि उनको दिल्ली–जयपुर हाइवेबाट उद्धार भयो । प्रहरीलाई उनले दिएको विवरणअनुसार केही महिनादेखि फेसबुकमार्फत उनी एक भारतीय युवकसँग सम्पर्कमा थिइन् । विवाह गर्ने आश्वासन दिएपछि उनी युवकले भनेअनुसार बस चढेर दिल्ली आइन् । दिल्लीमा भेट पनि भयो । त्यसपछि ती युवकले उनलाई ‘जयपुर जाऔं’ भने । तर मीनाले मानिनन् । जयपुर जान नमानेपछि ती युवकले उनलाई दिल्ली–जयपुर हाइवेमै छाडिदिएका थिए ।

विराटनगर घर भएकी १७ वर्षीया सुष्मा (नाम परिवर्तन) गत वर्ष असोजमा घर छाडेर हिँडिन् । तीन महिनासम्म उनीबारे केही पत्तो लागेन । त्यसपछि उनलाई राजस्थानको अल्बरबाट प्रहरीले उद्धार गर्‍यो । सुष्मा हराउनुको कथा पनि उस्तै थियो । फेसबुकमार्फत भारत जोगवनीका एक युवकको सम्पर्कमा आएकी थिइन् सुष्मा । उनै युवकले सुष्मालाई अल्बर पुर्‍याएका थिए । नेपाली किशोरी/युवती/महिलाहरूका लागि सामाजिक सञ्जाल ‘धराप’ बनेका यी प्रतिनिधि घटना मात्र हुन् । सामाजिक सञ्जाल प्रयोग गर्दाका जोखिमबारे जनचेतनाको अभाव हुँदा यस्ता घटना बढ्दो क्रममा छन् । सरोकारवालाहरू पछिल्ला वर्ष मानव तस्करहरूले सामाजिक सञ्जाललाई गतिलो हतियारका रूपमा प्रयोग गर्न थालेको दाबी गर्छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको लागूऔषध तथा अपराधसम्बन्धी आयोगले केही महिनाअघि सार्वजनिक गरेको एक प्रतिवेदनले पनि पछिल्लो १० वर्षमा मानव तस्करीमा सामाजिक सञ्जालको प्रयोग उल्लेख्य मात्रामा बढेको देखाएको छ । परिचय लुकाउन पाइने भएकाले पनि मानव तस्करीका लागि सामाजिक सञ्जाल गतिलो हतियार बनेको प्रतिवेदनको निष्कर्ष छ । सामाजिक सञ्जालमा राखिने व्यक्तिगत विवरणले पनि मानव तस्करलाई आफ्नो जालो विस्तार गर्न सहज बनाएको प्रतिवेदनमा दाबी गरिएको छ । मानव तस्करीविरुद्धको अभियानमा सक्रिय रहँदै आएको केआई नेपालका भारत प्रतिनिधि नवीन जोशी पनि मानव तस्करीका पछिल्ला घटनाहरूमध्ये ७० प्रतिशतभन्दा बढीमा सामाजिक सञ्जाल नै प्रयोग भएको पाइएको दाबी गर्छन् । ‘पहिले गाउँमै पुग्ने तस्करहरू अहिले भने सामाजिक सञ्जालमार्फत किशोरीहरूदेखि यौन हिंसाको सिकार भएका महिलाहरूलाई अनेकन प्रलोभन देखाएर फसाउने प्रवृत्ति देखिएको छ,’ जोशीले भने । प्रविधि र सञ्चारको सुविधा विस्तारसँगै मानव तस्करहरूले नेपाली महिलालाई फसाउन पनि सामाजिक सञ्जालकै बढी साथ लिन थालेको जोशीको निष्कर्ष छ । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक वीरेन्द्र बस्याल पनि मानव तस्करीका लागि सामाजिक सञ्जालको दुरुपयोग बढेको स्विकार्छन् । बस्यालका अनुसार स्थानीय निकायहरूले आफ्ना नागरिकहरू को, कहाँ गए भन्ने अभिलेख राख्ने गरेको खण्डमा सामाजिक सञ्जाललगायत विभिन्न माध्यम हुँदै गरिने मानव तस्करी धेरै हदसम्म नियन्त्रणमा आउनेछ । केआई नेपालका जोशी भने सरकोरवाला निकायले जनचेतना बढाउने र सीमामा कडाइ गर्नुपर्ने बताउँछन् । ‘सामाजिक सञ्जालको प्रयोगको जोखिमका बारेमा अभिभावकहरूलाई थाहा हुनुपर्छ । आफ्ना छोराछोरी र परिवारका सदस्यले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन् भन्नेमा पनि अभिभावकले ध्यान दिनुपर्‍यो । त्यो नगर्दा मानव तस्करले सफ्ट तार्गेट पाइरहेका छन्,’ जोशीले भने । यसका लागि कुनै एउटा निकायभन्दा पनि राज्यस्तरबाटै पहल हुनुपर्नेमा उनको जोड छ ।(कान्तिपुर)

Translate »