२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

कोभिड खोपको दोस्रो मात्रा लगाउन ढिला भए के हुन्छ?

चिकित्सक भन्छन्ः आत्तिनुपर्दैन


काठमाडौं– कोरोना भाइरस संक्रमण विश्वभर पुनः उकालो लागि रहेको छ। एक वर्षभन्दा बढी समयदेखि कोरोनासँग जुधिरहेको विश्वले अझै कोरोनाबाट मुक्ति पाउने देखिदैन। एक वर्षको अवधिमा कोरोना भाइरसका विभिन्न भेरियन्ट विकास भइरहँदा धेरै देशमा कोरोना भाइरसविरुद्ध विकास गरिएको खोप पनि लगाउने क्रम तीव्र रुपमा भइरहेको छ। कोरोना भाइरसबाट बच्नका लागि विकास गरिएको खोपको माग विश्वभर अत्याधिक रुपमा भइरहदा यसको अभाव सिर्जना भइरहेको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ। नेपालले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइरहेको छ। माघ १४ गतेदेखि चैत ६ गतेसम्म सम्पन्न खोप अभियानमा करिब १६ लाख बढीले खोप लगाइसकेका छन्। तर, भारतले खरीद गरेको १० लाख खोप समयमा नपठाउँदा खोप अभावका कारण खोप अभियान भने रोकिएको छ। सेरमसँग नेपालले २० लाख डोज खोप खरीदका लागि अग्रिम भुक्तानी गरेको थियो। त्योमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। सेरमले बाँकी खोप अप्रिल अन्तिमसम्म पठाउने बताएको स्वास्थ्य मन्त्रालयको भनाई छ। कोरोनाको खोपको सुरुवात गर्ने क्रममा नेपाल जसरी अघि बढेको थियो, पछिल्लो समय खोपको दोस्रो मात्रा लगाउन र पहिलो समेत नपाएकाहरुलाई खोप उपलब्ध गराउन सकिरहेको छैन। हुन त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएका नागरिकलाई बैशाख ७ देखि १४ गतेसम्म दोस्रो डोज खोप लगाउने घोषणा गरिसकेको छ। पहिलो मात्रा लगाएका धेरै नागरिकहरु खोप अभावका कारण दोस्रो मात्रा लगाउन नपाइने हो कि, दोस्रो मात्रा लगाउन नपाए वा ढिला भएमा के हुने भन्ने जस्ता जिज्ञासाले चिन्तित बनिरहेका छन्।
कोरोना खोपको दोस्रो मात्रा लगाउन ढिलाइ भएमा के हुन्छ ?
कोरोनाविरुद्ध उत्पादन गरिएको र आपतकालिन प्रयोगका लागि अनुमति पाएका धेरै खोप दुई डोज लगाउनुपर्ने प्रकृतिका छन्। नेपालमा लगाइएको खोपको पनि दुई डोज नै लगाउनु पर्ने हुन्छ। खोपको पूरा मात्रा लगाएको एक महिनापछि शरीरमा न्युट्रोलाइजेन एन्टिबडी बन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। पहिलो खोप लगाएको २८ दिनदेखि धेरैमा ३ महिनाभित्र दोस्रो डोज लगाइसक्नुपर्ने उनको भनाई छ। खोप लगाएको एक महिनापछि मात्रा शरीरमा एन्टिबडी बन्ने अध्ययनले देखाएको उनको भनाई छ। पछिल्लो समय विकास गरिएको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको खोप भने एक डोज लगाए मात्र पुग्ने बताइएको छ। तर, अन्य खोप भने दुई मात्रा लगाउनुपर्ने प्रकृतिका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम दोस्रो मात्रा ढिलाइ भएमा वा नलगाएमा पनि खासै असर नपर्ने बताउँछन्। उनी भन्छन्,‘ डब्ल्यूएचओका अनुसार कोभिड खोपको प्रभावकारीता ७२ प्रतिशत हो। पहिलो मात्राको ६० प्रतिशत प्रभावकारीता हुन्छ भनिएको छ। बाँकी १२ प्रतिशत पुरा गर्नका दोस्रो मात्रा आवश्यक छ। ७ दिन जति भयो डब्ल्यूएचओले दोस्रो भन्दा पहिलो मात्रा लगाउनमा जोड देउ भनेको छ। समयमा लगाउन सकियो भने त राम्रो भयो। हामीले सबैलाई दोस्रो मात्रा दिने नै भनेका छौँ।’ उनले विश्व स्वास्थ्य संगठनले पनि पहिलो र दोस्रो मात्रा बिचको अन्तर तीन महिना तोकेकोले अझै ढिला भइनसकेको बताउँछन्। उनी दोस्रो डोज पनि समयमा नै लगाउन पाइने दाबी गर्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला पनि दोस्रो मात्रा लगाउन ढिलाइ हुँदा समस्या नहुने बताउँछन्। उनी भन्छन,‘पहिलो डोज लगाएपछि खोपले तीन महिना काम गर्छ भन्ने हो। दोस्रो खोप लगाउने बित्तिकै कोरोना नलाग्ने वा नसर्ने भन्ने होइन। त्यसैले दोस्रो डोज ढिलाइ हुँदा आत्तिहाल्नु पर्दैन।’ खोपको लागि काम गरिरहेको द भ्याक्सिन एलाइन्स गाभीले पनि खोप दोस्रो मात्रा लगाउन नपाएको खण्डमा डराउने पर्ने अवस्था नरहेको जनाएको छ। अमेरिकास्थित रोचेस्टर युनिभर्सिटी न्यूयोर्कका माइक्रोबायोजोजिष्ट तथा इम्यूनोलोजिष्ट डेभिड तोपहमले खोप अभावमा दोस्रो मात्रा लगाउन नपाइमा त्यो ठूलो समस्या नभएको बताएका छन्। (स्वास्थ्य खबरपत्रिका)

 

प्रकाशित मिति : २०७७ चैत २२ गते आइतबार
Translate »