कर्णालीका ३ मन्त्रीको सामुहिक राजिनामा

स्काई न्यूज /चैत २४, सुर्खेत ।
कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेबाट सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाएका छन् । तीनै जना मन्त्रीले राजिनामा दिएपछि नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन भएको थियो । नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् । माओवादी केन्द्रका १३ जना सांसद मध्ये दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाई पछि केन्द्रसँग अब १२ जना मात्र सांसद रहन गएकाले प्रदेश सभामा समेत अब कुल ३९ जना मात्र सांसद रहने छन् ।