राउटे समुदाय : कल्याल धेरै, स्वबंशी र रास्कोटी कम हुँदा समस्या

साउन २७,सुर्खेत ।
लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका श्रीमान दलबहादुर शाहीको साउन १८ गते मृत्यु भयो । १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो । १३ वर्षको हुँदा उनले छोरीलाई जन्म दिइन् । केही महिनामै जन्मिएकी छोरीको मृत्यु भयो । राउटे संस्कार अनुसार अव उनले अर्को विवाह गर्न पाउँदिनन् ।

१८ वर्षीया किताव शाहीका श्रीमान मानसिंह शाहीको पनि साउन २९ गते मृत्यु भयो । किताव १४ वर्षकी हुँदा २५ वर्षका मानसिंहसँग विवाह भएको थियो । दुई वर्षअघि कितावले पनि छोरीलाई जन्म दिएकी थिइन् । केही महिनामै छोरीको मृत्यु भयो । कितावले पनि अव विवाह गर्न पाउँदिनन् । राउटे समुदायमा श्रीमान गुमाएका महिलालाई विवाह गर्न बर्जित छ । बस्ती एउटै भएपनि ‘विधवा’लाई छेउतिर छुट्टै घरमा राख्ने चलन यो समुदायमा छ ।

लोपोन्मुख घुमन्ते समुदाय राउटे समुदायको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले २०७१ चैतमा राउटे समुदायका नागरिकहरुको फोटोसहितको गणना गरेको थियो । उतिबेला राउटेको संख्या १८४ थियो । अहिले त्यो संख्या घटेर १४२ मा झरिसक्यो। राउटे समुदाय अस्थायी साधनको प्रयोग गदैनन् । एउटै महिलाले १८ वटासम्म बच्चालाई जन्म दिएका उदाहरणहरु छन् । यति हुँदाहुँदै पनि राउटेको संख्या किन घट्दै गएको छ त ? धेरैले मदिरालाई मुख्य कारण मान्छन्। मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण गोत्रसँग जोडिएको छ ।

राउटे समुदायका तीन वटा गोत्र छन् । उनीहरुको आफ्नै गोत्रभित्र विहेवारी चल्दैन् । रास्कोटी, स्वबंशी र कल्याल गोत्रबीच एक–अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्वबंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवा–युवतीको पनि विवाह हुन मुस्किल हुन्छ। स्वबंशी र रास्कोटी गोत्रका छोराछोरीको उमेर नपुग्दै विवाह हुन्छ ।

‘कल्याल गोत्रका छोराछोरी धेरै भए, अरु दुई गोत्रको संख्या अत्यन्तै न्यून भयो,’ राउटे समुदायसँग काम गर्दै आएका सामाजिक परिचालक लालबहादुरर खत्रीले भने, ‘अनमेल विवाह, बाल विवाह र कलिलैमा श्रीमान गुमाएपनि दोस्रो विवाह गर्न नपाउने परम्पराका कारण पनि राउटे समुदायको जनसंख्या घट्दै गएको हो ।’ उनले भनेजस्तै राउटे समुदायका कोहीको १२ वर्ष नपुग्दै विवाह भइसक्छ । कसैको ३० वर्ष उमेर पुगिसक्दा पनि विवाह भएको छैन । यसको मुख्य कारण एउटा गोत्रको संख्या धेरै हुनु र अरु गोत्रको संख्या कम हुँदै जानु हो ।


साउन १८ गते मृत्यु भएका दलबहादुर र २९ गते मृत्यु भएका मानसिंह कल्याल गोत्रका हुन्। दुवैले स्वबंशी र रास्कोटीकी छोरीसँग विवाह गरे । अर्को गोत्रकी छोरी १२ वर्ष नपुग्दासम्म विवाह गर्न मिल्दैन् । त्यसैले दुबैले आफूभन्दा करिव आधा उमेरकी केटीसँग विवाह गरे । पछिल्लो समय राउटे समुदायमा मदिराको अत्याधिक प्रयोग हुन्छ । त्यसैको कारण धेरैले युवा अवस्थामै ज्यान गुमाइरहेका छन् ।

राउटे मुखिया सूर्यनारायण शाही कल्यालको संख्या स्थिर रहे पनि स्वबंशी र रास्कोटीको संख्या धेरै घटेको बताउँछन् । ‘हाम्रोमा एउटै गोत्रभित्र विवाह हुँदैन्, कल्यालका छोराछोरी धेरै छन्, रास्कोटी र स्वबंशी कम छौं,’ रास्कोटी गोत्रबाट मुखिया बनेका शाहीले भने, ‘हाम्रा छोरी सानैमा कल्यालले लैजान्छन् ।’ सूर्यनारायणका अनुसार श्रीमानको मृत्यु भएमा एकल महिलाले विवाह गर्नु संस्कार अनुसार अपराध मानिन्छ।

राउटे समुदाय एकल महिलालाई तुच्छ भाषाको प्रयोग गर्छ । श्रीमान परेकी महिलालाई बस्तीकै छेउमा घर बनाउन लगाइन्छ । उल्टो ढोका राख्न लगाइन् । राउटे समुदाय बाह्य समुदायसँग नजिक छैन् । बाह्य समुदायसँग उनीहरुको बिहेवारी चल्दैन् ।

१४२ राउटे मध्ये कल्यालको संख्या ८१ छ । रास्कोटी ४० र स्वबंशीको संख्या २१ मात्रै छ । राउटे समुदायमा ७५ जना महिला छन् भने पुरुषको संख्या ६८ छ । कल्यालमा महिलाको संख्या ४६ छ भने पुरुषको संख्या ३५ छ । स्वबंशीमा पुरुषको संख्या आठ मात्रै छ। महिलाको संख्या १३ छ । रास्कोटीमा महिलाको संख्या २१ छ भने पुरुषको संख्या १९ छ । कल्याल गोत्रका युवा–युवतीहरुले रास्कोटी र स्वबंशीका छोरी र छोराहरु नहुँदा उमेर ढल्कँदा पनि विवाह गर्न पाएका छैनन् ।

कल्याल गोत्रका विवाह गर्ने उमेरका युवाहरुको संख्या १७ जना छ । २८ वर्ष पुगेका सुविराम, २७ वर्ष पुगेका बबाल, २३ वर्ष पुगेका सोविन, २२ वर्ष पुगेका दीपक, २४ वर्ष पुगेकी गाजली, २० वर्ष पुगेकी बाटुली, सिस्नेरीलगायतको विवाह हुन सकेको छैन् । (नागरिक)

Translate »