अस्तित्वको लडाइँमा नेपाली गजल
सन्दर्भ
‘बहरवादीहरूले स्वतन्त्रवादीहरूलाई हेपे, बेवास्ता गरे । यसकारण हामी पनि उनीहरूलाई बहिष्कार गर्छौं ।’
सन्दर्भ र परिवेश बदलिएपछि ‘बहरवादी’ भन्न रुचाउनेहरू ‘स्वतन्त्रवादी’ भन्नेहरूलाई गजलकार नै ठान्दैनन् । उनीहरूका रचनालाई गजल पनि मान्दैनन् । केही समयअघि नेपाली गजलमा ‘बहरवादी बहिष्कार अभियान’का नाममा सामाजिक सञ्जालमा गजल स्रष्टाहरूले नै लेखेपछि लगभग साम्य भएको गजलको विवाद फेरि सतहमा आएको छ । आफूलाई ‘स्वतन्त्रवादी’को कित्तामा उभ्याउनेहरूले यस्तो आसयका अभिव्यक्ति दिइरहेका छन् ।
यो सिलसिला झन्डै २० वर्षदेखि जारी छ नेपाली गजलमा। अनि यसबारे वा गजलमा देखिएका विवादबारे जोकोहीले प्रस्टसँग बोल्न पनि सकिरहेका छैनन् । गजलसिद्दान्तका जानकार र गजलमै विद्यावारिधि गरिसकेकाहरूले पनि वर्तमानको गजलको विवादमा मौन बसिरहेका थिए।
२०७६ माघमा सम्पन्न ‘राष्ट्रिय गजल महोत्सव’मा जारी घोषणापत्रमा सबै ‘अग्रज’, ‘गजलविज्ञ’, ‘गजल अभियानी’ र विभिन्न ‘धार’का भनिएका स्रष्टासमेतले हस्ताक्षरसहित घोषणापत्र जारी गरेपछि गजलको विवाद सकियो भनिएको थियो । तर, अझै किन यस्ता विवाद उचालिइरहन्छन् नेपाली गजलमा ? त्यो पनि उक्त घोषणापत्रमा हस्ताक्षर गर्नेहरूबाटै ? धेरैको चासो र चिन्ताको विषय बनेको छ अहिले नेपाली गजल ।
गजल आफैंमा गेय विधा भएकाले र पद्य साहित्यकै एक भेद हो गजल। लेखनका लागि निश्चित लयहरू निर्माण छन् यसका । ती लयहरू छन्द वा बहरका रूपमा चिनिन्छन् । नेपाली स्रष्टाहरूले शास्त्रीय छन्द वा बहरमा मात्र नलेखेर आक्षरिक गीतिलय र लोकलयमा समेत रचना गर्दै आएका छन् । र, यही गजलमा लयको विषय नै आजको नेपाली गजलमा देखिएको प्रमुख विवाद र बहसको विषय बनेको छ ।
लय भन्नाले कुनै पनि रचनामा हुने यति र गतिको उचित संयोजन भन्ने बुझिन्छ । ह्रस्व, दीर्घको एकरूपता, अक्षर र मात्राको एकरूपता, अनुप्रासयोजना, शाब्दिक कला आदिका कारण पाठमा लय उत्पन्न हुने गर्छ । कविता, गीत, मुक्तक, गजललगायतका काव्यिक विधामा छन्दयोजना, अक्षर, मात्राको एकरूपता र अनुप्रासयोजनाद्वारा लय उत्पन्न हुने गर्छ । गजलमा लय उत्पन्न गराउने वा लय निर्धारण गर्ने विभिन्न तरिका छन् । जसमध्ये छन्दयोजना र बहरलाई गजल सिद्दान्तले स्वीकार गरेको पाइन्छ ।
अध्ययन, विश्लेषण र छलफलहरू कम हुनु, गजलविज्ञ र अग्रज गजलस्रष्टाबीच अस्तित्वको लडाइँ शीतयुद्धका रूपमा चर्किनु नेपाली गजल विवादित हुने कारण देखिन्छ।
गजलमा लय भन्नाले संगीतकारले राग र आलापका साथ तयार पारेको लय भन्ने धेरैको बुझाइ छ। तर गजलमा हुनुपर्ने लय आक्षरिक वा वार्णिक ध्वनिगत एकरूपतामा आधारित लय हो । यसर्थ गजलका निम्ति विभिन्न छन्द र बहरहरू प्रचलनमा छन् । शास्त्रीय बहर वा शास्त्रीय छन्दमा लामो, छोटो उच्चारणका वर्णहरू (ह्रस्व र दीर्घ)को एकरूपता हुनाले साथै निश्चित स्थानमा यति (विश्राम) र गति (पढ्दा उत्पन्न हुने स्वाभाविक प्रवाह) समान हुने हुनाले गर्दा छन्दोबद्ध वा बहरबद्ध रचना स्वाभाविक रूपमै गेय वा लयबद्ध हुने गर्छन् ।
अहिले नेपाली गजलमा देखिएको सबैभन्दा ठूलो मतभिन्नता पनि यही लयका बारेमा हो । कतिपय सर्जक र विश्लेषकहरू गजलमा लयभन्दा महत्वपूर्ण कुराहरू यसको शिल्प र गजलले अभिव्यक्त गर्ने भाव हो भन्ने तर्क राख्दै आएका छन् । उनीहरू लयका नाममा गजलको भाव र शिल्पमा अवरोध आउनु नहुने र भाव र शिल्पका लागि लयमा सम्झौता गर्नुपर्ने तर्क गर्छन् ।
गजलमा लयको अनिवार्यतालाई महत्व दिनेहरू पनि दुई भागमा विभाजित छन्। एक पक्ष गजल शास्त्रीय छन्द वा शास्त्रीय बहरमै लेखिनुपर्ने मान्यता राख्छन्। अर्काथरी शास्त्रीय बहर वा शास्त्रीय छन्दसँगै लोकलय र अन्य सममात्रिक र समआक्षरिक लयको प्रयोग पनि गजलमा हुनुपर्ने अडान राख्छन् ।
गजलमा लय हुनुपर्ने कुरामा प्रायः सबैको एक मत देखिन्छ तर गजलको लयका बारेको बुझाइमा भने मतभिन्नता पाइन्छ । मतभिन्नता रहनुमा केही कारण छन्। शास्त्रीय छन्द वा बहरका बारेमा धेरैमा ज्ञान नहुनु, अध्ययन गर्ने जाँगर सर्जक र विश्लेषकमा नहुनु, मुक्तकीय संरचनाका सिर्जनाहरूले वाहवाही प्राप्त गर्नाले लोकप्रियतालाई जोगाइ राख्न परिष्कार गर्न वा परिमार्जित हुन नरुचाउनु यसको कारण देखिन्छ।
अग्रजले गरेका सबै सिर्जनालाई आदर्श मान्नु र सोहीअनुसार गजलको संरचनालाई बुझिदिनु तर आफूले आदर्श मानेका अग्रजका सिर्जना र उनीहरूले गरेका प्रयोग उचित छन् कि छैनन् भनेर जाँच्ने जाँगर नचलाउनु पनि हो।अध्ययन, विश्लेषण र छलफलहरू कम हुनु, गजलविज्ञहरू र अग्रज गजलस्रष्टाबीच अस्तित्वको लडाइँ शीतयुद्धका रूपमा चर्किनु अर्को कारण देखिन्छ।
अस्तित्व रक्षार्थ आआफ्ना स्वार्थमा तर्कहरू दिइनु र तिनै तर्कलाई अनुज पुस्ताले अन्धसमर्थन गरिदिनु आदि पनि यसका कारक हुन्। छन्द वा बहर बढी कठोर र जटिल हुने हुँदा नेपाली कविता, गीत र गीतिकवितामा प्रयोग गरिने लयहरूको प्रयोग गरिनुपर्ने केहीको तर्क छ। शास्त्रीय बहरमा गजल लेख्दा मात्र गजल गेय हुन्छ भन्ने मान्यतालाई परिमार्जन गर्दै अन्य लयको प्रयोगलाई पनि नेपाली गजलले स्वीकार गर्नुपर्छ भन्ने उनीहरूको मत छ।
गजलले यसको उत्पत्ति र विकासकालको शास्त्रीयतालाई नभुलीकन आजसम्म आएको छ। गजलकै नाममा लेखिएका रचनाले गजलकै आधारभूत शास्त्रीयता खोज्छन्। यस अर्थमा गजलमा बहर जरुरी छ भन्ने तर्क पनि कमजोर देखिँदैन। गजलमा लय अनिवार्य तत्व हो, ऐच्छिक होइन ।
कुनै पनि उपविधाका कुनै विशेष संरचनागत घटकलाई हटाउने, त्याग्ने वा बेवास्ता गर्ने हो। ती विधाका रूपमा नरहेर अन्य कुनै विधाका रूपमा हुन जान्छन्। सम्बन्धित विधाका आधारभूत विधागत मान्यता र संरचनागत घटकलाई भुल्नु वा बेवास्ता गर्नुले उक्त विधाको मूल पहिचान हराउँछ र त्यो अर्कै बाटोमा हिँड्छ। नेपाली गजलको वर्षौंदेखिको विशेषगरी लय वा बहरका बारेका विवादलाई निरूपण गर्न २०७६ माघमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय गजल महोत्सव’मा जारी घोषणापत्रलाई बुझिदिएर सोहीअनुसार सबैले पालना गरे पुग्छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गजल महोत्सवले तय गरेको घोषणापत्रका बुँदा ३ र ४ नै नेपाली गजलको सम्पूर्ण विवादको समाधान हो। सर्वस्वीकार्य निर्णय मान्ने हो भने नेपाली गजलमा विवाद नै रहँदैन।
महोत्सवकै सन्दर्भमा विभिन्न कोणबाट सबाल उठेका थिए। प्रा.डा. कृष्णहरि बरालले उर्दू, हिन्दी गजल परम्परामा पनि लयमा बहरको विकल्पको खोजी भइरहेको बताएका थिए। डा. नेत्र एटमले स्रष्टामा विद्रोहचेत सिर्जनामा र लेखन शैलीमा पनि हुनुपर्ने, पुराना मान्यता भत्काउँदै लेखक अघि बढ्नुपर्ने धारणा राखेका थिए। अरबी माटोबाट भित्रिएको गजललाई अरबी साहित्यमा प्रचलित गजलका सिद्दान्त र मान्यतालाई अनुसरण गर्नुपर्नेमा धेरैले मत राखेका थिए।
घोषणापत्रमा सबै कुरा प्रस्टै छन्। विवाद गर्नुपर्ने पनि होइन। घोषणापत्रका बुँदा ३ र ४ नै नेपाली गजलको सम्पूर्ण विवादको समाधान हो। सर्वस्वीकार्य निर्णय मान्ने हो भने नेपाली गजलमा विवाद नै रहँदैन। बरु नेपाली गजल परिष्कृत र उत्कृष्ट बन्नेछ। घोषणापत्रको बुँदा ३ मा गजलमा छन्द/बहर अनिवार्य भएको प्रस्ट उल्लेख छ। गजलमा छन्द/बहर अनिवार्य छ भनेपछि लयको विवाद गर्नै परेन। उक्त बुँदाले त भन्यो कि अब छन्द/बहरमा लेख्न सिक्नु र अभ्यास गर्नुपर्ने भयो।
ती रचनालाई सैद्दान्तिक मान्यताले गजलको रूपमा नस्वीकारे पनि नेपाली गजलको आधार तिनै रचना हुन् भन्ने इतिहासमा उल्लेख गर्ने भनिएको छ। तर, अब ती शैली र लयकै रचना होइन, परिष्कृत र शास्त्रीय लय (छन्द/बहरबद्ध) गजल लेख्ने भनिएको प्रस्ट बुझिन्छ। बुँदा ४ ले अझ प्रस्ट पारेको छ। यस बुँदाले छन्द/बहरको अनिवार्यता प्राविधिक हो। तर कुनै गजल भनिएको रचनामा सुन्दर शिल्प, कला, चामत्कारिकता, कोमलता, प्रस्तुतिमा उच्च शिल्प नभए त्यो पनि गजल हुन सक्दैन भनेको छ।
अहिले देखिएका भनिएका दुवै पक्ष– बहरवादी र स्वतन्त्रवादीलाई यी २ बुँदाले प्रस्ट सम्बोधन गरेका छन्। घोषणापत्रका बुँदाले बहरमा लेखेर शिल्प, कला, चमत्कार छैन भने त्यो गजल हुन सक्दैन। यसरी नै जति नै शिल्प सौन्दर्य वा कलात्मक र चामत्कारिक भए पनि छन्द/ बहर छैन भने त्यो पनि गजल हुँदैन भनेका छन्। यसकारण अब यही घोषणापत्रलाई मूलआधार बनाएर गजल लेख्छौं भन्नेले आफूलाई परिष्कार गर्नैपर्र्छ। त्यति भए गजलमा सबैभन्दा ठूलो मानिएको लय वा बहरको विवाद टुंगिने छ। (घनेन्द्र ओझा/ अन्नपूर्ण पोस्ट)