जुम्ला–जाजरकोट सडकको त्रिवेणी– टोप्ला खण्ड एक सातादेखि अवरुद्ध

सागर परियार/ जुम्ला ।  लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरी खोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ ।

जुम्ला जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्ड अन्तर्गतको तातोपानी गाउँपालिका –७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौँ गाउँ बस्तीका नागरिकको जनजीवन प्रभावित भएको छ ।

एक सातादेखि अवरुद्ध सडक खण्ड नखुलेपछि सवारी आगमनसहित मान्छेलाई आवतजावतमा समेत अप्ठ्यारो भएको स्थानीयवासीले बताएका छन्  ।

तीन ठाउँमा खसेको पहिरो स्थानीयबाट पन्छाउन सम्भव नहुँदा दैनिकी कष्टकर बन्दै गएको तातोपानी गाउँपालिका–७ सर्मका स्थानीय प्रेम रावले बताए ।

सडक अवरुद्ध हुँदा पुन नुन, चामल लगायतका दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ ।


तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए ।

“पालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरेका छौँ । पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । जनजीवन पनि प्रभावित भएको छ । चाँडै सडक सुचारु गर्ने तयारीमा छौँ । भत्केको ठाउँमा निर्माण गर्नुपर्ने भएकोले बजेटको व्यवस्थापन गर्दैछौँ चाँडै खुल्छ ।” उनले भने ।

जुम्ला जाजरकोट सडकको त्रिवेणी टोप्ला सडक खण्डमा पछिल्लो समय अत्यधिक पहिरो आइरहेको आवतजावतमा समस्यासँगै बस्तीहरू पनि जोखिममा रहेको अध्यक्ष न्यौपानेले बताए ।

सडक डिभिजन कार्यालय जुम्लाले छिट्टै सडक सुचारु हुने जनाएको छ ।

अवरुद्ध सडक सुचारु गर्न तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताए ।

अबको २/३ दिन भित्र सुचारु गर्ने तयारी भएको उनले जानकारी दिए ।

प्रमुख भण्डारीले भने, “कार्यालयका आफ्नै डोजर प्रयोग गरेर पहिरो पन्छाउने कार्य गरिने छ । केही दिनमा सडक सुचारु हुन्छ । स्थानीय आत्तिनु पर्दैन ।”

Translate »