

हुम्ला । पारिश्रमिक भुक्तानीको विषयलाई लिएर भएको विवादमा एम्बुलेन्स चालक कुटपिटमा परेपछि हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । चंखेली गाउँपालिका–४ पिप्लाङका ४२ वर्षीय एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहमाथि कुटपिट गरेको आरोपमा गाउँपालिका–२ का ५२ वर्षीय अध्यक्ष प्यारिलाल शाहीलाई प्रहरीले मङ्सिर ४ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार मङ्सिर ३ गते पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षसमक्ष पुगेका चालक सिंहमाथि हातपात भएको थियो ।
घटनामा सिंहको टाउकोमा चोट लागेको छ भने छुट्याउन पुगेका उनका बुवालगायत अन्य व्यक्ति पनि घाइते भएको पीडित पक्षको दाबी छ । घाइते सिंहलाई थप उपचारका लागि सिमकोटबाट हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

सिंह विगत सात वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि सुर्खेतस्थित ग्यारेजमा लगिएको र मर्मत सम्पन्न भए पनि गाउँपालिकाले खर्च भुक्तानी नगर्दा एम्बुलेन्स अझै ग्यारेजमै रहेको स्थानीय ध्रुवबहादुर शाहीले बताउनुभयो । यही विषयसँगै आफ्नो पारिश्रमिक माग्न जाँदा विवाद भएको चालक सिंहले बताए ।
यद्यपि, घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानले भने फरक अवस्था देखाएको छ । चालक सिंह मादक पदार्थ सेवन गरी गाउँपालिका अध्यक्षसमक्ष पुगेको र पहिले आफैँले आक्रमण गर्न खोजेपछि अध्यक्षका आफन्तबाट भएको ढुङ्गा प्रहारले उनको टाउकोमा सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।
घटनापछि थप झडप हुन नदिन प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो । पीडित पक्षको जाहेरीपछि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान गरी कानुनअनुसार प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक खड्काले बताए ।







