२०८३ मंसिर ४ , बिहीबार
Sky News Nepal
November 20, 2026

सुर्खेतबाट उद्दार गरिएको घोरललाई सदर चिडियाखाना ललितपुर पठाईयो



सुर्खेत ।  सुर्खेतबाट उद्दार गरिएको संरक्षित वन्यजन्तु घोरललाई थप संरक्षणका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पठाईएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतले गत असार १२ गते वीरेन्द्रनगर–१४, बाट उद्दार गरिएको भाले घोरललाई आज कानूनी प्रक्रिया पुरा गरी थप संरक्षण तथा व्यवस्थापनका लागि सदर चिडियाखाना पठाएको हो ।

उद्दार गरिएयता करिब पाँच महिनासम्म डिभिजन वन कार्यालय सुर्खेतकै रेखदेखमा पालेर राखिएको उक्त घोरलको कार्यालय स्तरबाट दीर्घकालीन व्यवस्थापन गर्न कठिन भएपछि चिडियाखाना पठाउने निर्णय गरिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिए ।

उनले घोरलको उचित व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यालय मार्फत सदर चिडियाखाना ललितपुरलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार बच्चा सानो उमेरको भएकाले प्राकृतिक बासस्थान (जङ्गल) मा एक्लै छाड्दा बाँच्न नसक्ने अवस्था देखिएपछि विशेषज्ञ पशु चिकित्सा सेवा र सुरक्षित वातावरणका लागि चिडियाखाना पठाउने निर्णय गरिएको हो ।

कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण स्तनधारी वन्यजन्तु घोरलको चोरीसिकारी तथा बासस्थान विनाशका कारण पछिल्लो समय संरक्षणमा समस्या हुँदै आएको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानबाट १४ वटा विभिन्न जातका वनजन्तुको उद्दार गरी सुरक्षित वासस्थानमा छोडिएको उनको भनाइ छ ।

यसअघि आमाबाट बिछोडिएर घाइते अवस्थामा भेटिएको उक्त घोरललाई डिभिजन वन कार्यालय सुर्खेतकै परिसरमा पालेर सुरक्षित राखिएको वरिष्ठ वन अधिकृत भरतकुमार थापाले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उद्दार गरिएको उक्त घोरललाई मुचुल्का उठाई राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको सदर चिडियाखानालाई हस्तान्तरण गरिएको बताए ।

घोरल हस्तान्तरण कार्यक्रममा सुर्खेतका चर्चित पशुप्रेमी तथा समाजसेवी नवराज बोहरा उर्फ भेडाको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार
Translate »