के हो ‘सापू’ फैलाउने सेतो पुतली ?

काठमाडौँ — सेतो पुतलीबाट ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस'(सापू) रोग सर्ने भन्दै चिकित्सकहरुले अहिले सचेत गराएका छन् । आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षणहरु सापू भएकाहरुमा देखिन्छ ।

विशेषतः बालबालिकाहरुमा यो रोग हरेक दुई वर्षमा नेपालमा देखिँदै आएको छ । सापू लगाउनका लागि मुख्य भूमिका खेल्ने भनिएको यो निसाचर पुतली(मोथ) को नेपाली नाम दिइएको छैन ।

पुतली प्रजातिसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएका प्राध्यापक भैया खनालकाअनुसार ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट यो रोग लाग्छ ।

जेनस ग्याजालिनाका ६ प्रजाति भेटिएका छन् । तीमध्ये नेपालमा क्राइसोलोफा, एप्सरा र ट्रान्सभेरा पाइएको उनले बताए । सापू लगाउने चाही ‘ग्याजालिना क्राइसोलोफा’ हो । यो रातको समयमा सक्रिय हुन्छ । ‘क्राइसोलोफा’ मानवीय तथा वन क्षेत्रको आसापसमा पाइन्छ भने एप्सरा र ट्रान्सभेरा प्रजाति भित्री जंगलमा पाइन्छन् ।

प्राध्यापक खनालकाअनुसार क्राइसोलोफाको पोथी निसाचर पुतलीको पेट(एब्डोमिन)को पछाडि भाग केही पहेंलो हुन्छ । मसिना धर्सा जस्ता देखिने पहेंलो रौं(स्पाइक)का कारण यो भाग पहेंलो हुन्छ । सामान्य हावा चलेको अवस्थामा यी रौंहरु छुट्टिन्छन् । यही मसिना धर्साका कारण सापू देखिने गरेको उनले बताए ।


‘यी पहेंला धर्सा सेतो निसासचर पुतलीको विष ग्रन्थीसँग जोडिएको हुन्छ,’ प्राध्यापक खनालले भने,’ फुलको सुरक्षाका विष ग्रन्थीबाट रौंहरु निस्किएका हुन्छन् ।’ उक्त मसिना धर्सा सम्बन्धी नेपालमा अध्ययन नभएपनि पाकिस्तानमा गरिएको एक अध्ययनले हिस्टामिन र पोटासियम साइनेड पाइएको उनले जानकारी दिए । यिनीहरु चम्किलो प्रकाशतिर आकर्षित हुन्छन् । मुख्यगरी उत्तिसको पात खाने यो पुतली नेपालकाे पूर्वदेखि पश्चिम क्षेत्रसम्म पाइन्छ ।

प्रायः पुतलीहरुको जीवनचक्र एक वर्षमा समाप्त हुन्छ । यो प्रजातिका पुतलीको आयु ११ महिना मात्रै रहेको अनुसन्धानहरूले देखाएका छन् । एक पटकमा यीनीहरुले ३ सयवटा सम्म फुल पार्ने प्राध्यापक खनाल बताउँछन् ।

नेपालमा निसाचर पुतलीहरूको संख्या धेरै नै छ । हालसम्म ३ हजारभन्दा बढी पाइने उल्लेख भएपनि सबै प्रजाति भेटिएका छैनन् । निसाचर प्रजातिहरुमध्ये केही हानिकारक पनि छन् । केहि प्रजातिलाई छुने बित्तिकै एलर्जी हुन्छ भने केही भ्यागुतालगायतका जीवहरूको आहर प्रजाति पनि बन्छन् । विभिन्न रंगमा भेटिने यस्ता पुतलीका केही प्रजाति लार्भा अवस्थामा हानिकारक पनि छन् । जस्तो कि ‘पुश मोथ’को लार्भाहरुमा हुने स्पाइकले एलर्जी गराउँछ । नेपालमा पुतली प्रजाति सम्बन्धी विस्तृत अध्ययनहरु नभएको प्राध्यापक खनालले जानकारी दिए ।

पुतलीहरुको जीवन चार चक्रमा बाँडिएकको हुन्छ । फुल, लार्भा, प्युपा र वयस्क अवस्था । प्रायः वयस्क पुतलीहरुको आयु २ देखि ४ महिनासम्म हुने गरेको अध्ययनहरुले देखाएको छ । स्फिङ्क्स निसासचर पुतली(मोथ) व्यस्क भएको २ देखि ३ महिनासम्म बाँच्छ भने रेशम किरा(मोथ) वयस्क भएको एक हप्ता र युका मोथ प्युपाबाट निस्किएको २ दिनपछि मर्ने गरेको पाइएको द लेपिडोप्टेरिस्टिस सोसाइटीले जनाएको छ । (कान्तिपुर)

Translate »