आगामी आर्थिक वर्षको बजेट : १७ खर्ब ९३ अर्ब ८३ करोड

स्काई न्यूज  / जेठ १६, सुर्खेत । संघीय सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/ ०८० को बजेट चालू आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालूतर्फ कुल ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत बराबर रहने गरी प्रबन्ध गरिएको छ । त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बराबरको बजेट प्रबन्ध गरिएको छ । सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ बराबर जोहो गर्ने छ ।

यस्तै वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरकोे आन्तरिक ऋणबाट जोहो गर्नेछ । सरकारले चालू आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यसमा संघले गर्ने खर्च ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । त्यस्तै पूँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड रुपैयाँ अर्थात् २२ दशमलव ७ प्रतिशत बराबर थियो । त्यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ बराबर थियो । त्यस्तै प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बराबर उपलब्ध गराइएको थियो । सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । साथै उसले उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पूँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सृजना र गरिबी निवारण गर्ने लक्ष्य लिइएको बताएको छ ।
बजेटमा कर्णाली
सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने बताएका छन् । त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका स्थित रामघाटमा विमानस्थल निर्माण गरिने भनिएको छ । अर्थमन्त्रीले आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै रामघाटमा विमानस्थल निर्माण गरिने बताएका हुन् । उनले कर्णालीमा रैथाने बालीको संरक्षण गरि कृषिलाई आधुनिकिकरण गरिने कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिए । उक्त कार्यक्रमका लागि ५५ करोड बजेट छुटयाइएको छ । यस्तै कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिएको छ भने सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ ।

सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर खानी सञ्चालन एवं उद्योग निर्माण गरिने बताईएको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षको बजेटमा कर्णाली प्रदेशका डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास गर्ने उल्लेख गरेको छ । कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत जुम्लाको सिंजा उपत्यकाको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । त्यसैगरी दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । त्यसका लागि आगामी आर्थिक बर्षमा बजेटको व्यवस्थापन गरिएको अर्थ मन्त्री शर्माले जानकारी दिए । उनले सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पतालाई पनि मेडिकल कलेजका रुपमा विकास गरिने बताए । उनले भन, ‘सुर्खेतको सुभाघाटमा वृहत खानेपानी आयोजना आगामी आर्थिक बर्षमै सम्पन्न गरिने छ ।’ उता प्रदेश अस्पताललाई डायलासिस मेशिन खरिद गर्न २० करोड बजेट व्यवस्थापन गरिएको छ भने जुम्लाको टोप्ला पाटनमा हाईअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गरिने छ । हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने बजेटमा उल्लेख छ ।

 

Translate »