कालीमार्सी धानको रोपाइँ शुरु

जेठ १६, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ शुरु भएको छ ।

त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा ८ प्रकारका कालीमार्सी धान रोपिएको हो ।

कालीमार्सी धान संरक्षण तथा प्रवर्द्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ शुरु भएको हो ।

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ हुने मौसम र पाटनमा यार्सा संकलनको मौसम एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छोडिएको थियो ।

कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवर्द्धनकर्ता महताराले बताए ।

कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख  गणेशबहादुर अधिकारीले बताए ।

गतवर्ष कारोनाका कारण धान रोपाइँ हुन सकेको थिएन । यसपटक धुमधामका साथ धान रोपिएको स्थानीयवासी बताउँछन् । पछिल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा विक्री हुने गरेको छ । रासस

Translate »