रैथाने बाली लोपउन्मुख : कर्णालीमा आयातित खाद्यान्नले कुपोषण बढ्दो

स्काई न्यूज/ जेठ १६, सुर्खेत । कर्णाली प्रदेशका मध्य तथा उच्च पहाडी क्षेत्रमा पाईने स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धन नहुँदा कुपोषणको समस्या देखा पर्न थालेको छ । जन स्वास्थ्य कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णालीमा पाईने स्थानीय रैथाने पोषक खाद्य वस्तुको प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धन नहुँदा कुपोषणको समस्या देखा पर्न थालेको जानकारी दिईएको हो । पोषिलो खाद्यवस्तुको अभावमा प्रदेशमा पुड्कोपनको समस्या ४८ प्रतिशत, ख्याउटेपन १८ प्रतिशत, रक्तअल्पता ४८ प्रतिशत र ३० प्रतिशत बालबालिकामा अहिलेपनि कुपोषणको समस्या रहेका पाईएको छ ।

कर्णालीमा वर्षेनि कुपोषणका कारण बालबालिकाको मृत्यु हुने क्रम समेत बढ्दो छ । तर सरकारी निकायसँग यसबारे एकीन तथ्यांक छैन । योजना आयोगले सार्वजनिक गरेको प्रथम पञ्चवर्षीय योजनाअनुसार कर्णालीमा शिशु मृत्युदर २९, नवजात शिशु मृत्युदर ४७ र ५ वर्षमुनिको मृत्युदर ५८ प्रतिशत छ । आयोगका अनुसार अधिकांस बालबालिकाको कुपोषणका कारण ज्यान जाने गरेको हो । पोषिलो खानाको अभावमा कर्णालीमा कुपोषणको समस्या धेरै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए । उनका अनुसार ५ वर्षमुनिका बालबालिका अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कमतौल र सुकेनासजस्ता समस्याबाट ग्रसित छन् । निर्देशनालयको तथ्यांकअनुसार ४८ प्रतिशत बालबालिकामा कम उचाइको समस्या देखिएको छ । त्यस्तै १७.६ प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या देखिएको निर्देशनालयको भनाइ छ ।

५ वर्षमुनिका ३७.४ प्रतिशत बालबालिकाहरु कम तौलका छन् भने ६० प्रतिशत बालबालिकाले जन्मेको एक घण्टाभित्र आमाको दूध पिउन पाउँदैनन् । ६८ प्रतिशत बालबालिकाले जन्मेको एक घण्टामा पनि आमाको दूध पिउन पाएका छैनन् । ‘धेरैले सधैं एकै प्रकारको खाना खाइरहेका छन्,’ उनले भने, ‘गरिबीका कारण अधिकांश अभिभावकले बालबालिकालाई सन्तुलित भोजन खुवाउन सकेका छैनन् ।’ कर्णालीका २९.५ प्रतिशतले मात्रै खानामा विविधता उपभोग गर्न पाएको उनले जानकारी दिए । युनिसेफले गरेको अध्ययनअनुसार ६ देखि २३ महिनाको अवधिमा कर्णालीका ३० प्रतिशत बालबालिकाले मात्रै न्यूनतम आहारा पाउने गरेका छन् । पोषण आहाराको कमीकै कारण कर्णालीका ४८ प्रतिशत बालबालिकामा रक्तअल्पता देखिएको छ ।

अहिलेपनि हुम्लामा पुड्का बालबालिकाको दर झण्डै १५ प्रतिशत छ । कर्णालीका आमाहरु कुपोषित हुँदा त्यसको असर बालबालिकामा पनि परेको देखिन्छ । महिला गर्भवती भएका बेला र सुत्केरी भइसकेपछि उचित खानपान र स्याहार नपाउँदा कुपोषित हुने एउटा कारण हो भने सुत्केरी अवस्थामा बच्चालाई पर्याप्त स्तनपान गराउन नसक्दा बालबालिकामा थप कुपोषण हुने सम्भवना बढ्ने विज्ञहरु बताउँछन् । सन् २०२५ सम्म कुपोषणको दर शून्यमा झार्ने संघीय सरकारको लक्ष्य छ । तर, कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन मुस्किल देखिन्छ । सरकारले पोषणमा सुधार ल्याउन कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन् । उक्त कार्यक्रममा प्रदेश र स्थानीय तहले १५ प्रतिशत बजेट छुट्याउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ । तर, स्थानीय तहले भने पोषणका क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् । वर्षेनि करोडौं रकम खर्च भए पनि कुपोषण नियन्त्रण हुन सकेको छैन् । कुपोषणको बारेमा आम नागरिकलाई जानकारी नहँुदा अभिभावककै लापरबाहीले धेरै बालबालिकालाई कुपोषणको सिकार हुने गरेका छन् ।

रैथाने बाली संकटमा
रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरु हुन् । जुन मानव भोजन र पशुवस्तुका चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छ । खाद्य तथा पोषण सुरक्षार बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिन्छ । रैथाने बालीले विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम जस्तै सुख्खा खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन् । यी गुणहरु बाली प्रजनन् तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित हुन्छ ।
रैथाने बालीमा छिर्के–मिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी धान, पोखरेली जेठोबुढो, घैया धान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् । उच्च तथा मध्य भेगीय जिल्लाहरु कर्णालीका मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पासँगै जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा समेत पाइन्छ । कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पछिल्लो समय उत्पादन घट्दोक्रममा रहेको पाइन्छ ।

चामलको तुलनमा चिनो, कागुनोमा सबै खाले पोषण तत्व पाइन्छन् जसका कारण आज तिनै रैथाने बालीको शहरी क्षेत्रमा दिनदिनै आकर्षण बढ्दै गएको पाईन्छ । हिजोका दिन गरिब जनताले चिनो, कागुनो आफ्नो आहाराको रुपमा लिने गर्थे भने आज शहरी क्षेत्रका धनिमानी मान्छे खोजि खोजि खाने गरेको पाईन्छ । शहरी क्षेत्र खानाका रुपम मात्रै नभई ओषधीका रुपमा लिने गरेको पाईन्छ । शहरी क्षेत्रमा दिन दिनै मधुमेह अथवा सुगर रोगीहरुको संङख्या बढदै गएकाले चिनो, कागुनोले यस रोगको नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने जनविश्वास रहेको छ । यसअघि गरिबले मात्र कोदो, जौ र मकैबाट बनेका परिकार खान्छन् भन्ने मानसिकताको असरले पनि रैथाने बालीको लोप हुनुको एक कारण मान्न सकिन्छ । अन्य बालीमा जस्तो अनुदान नभएको, यहीको परिवेश अनुसारको अनुसन्धान नहुनु लोप हुने मुख्य समस्या हो । सरकारको बेवास्ताले पनि रैथाने बाली छिटो लोप हुन थालेका हुन् । विशेष संरक्षित क्षेत्र घोषणा गरेर रैथाने बालीको संरक्षण र प्रवर्द्धन नगरिएमा बीउ समेत लोप हुने खतरा बढ्दो छ । पहिले भारत लगायत अन्य मुलुकबाट खाद्यान्न लगायतका वस्तुहरु आयात नहुने भएकाले पनि किसानहरु यी बालीका उब्जानीलाई विशेष प्राथमिकतामा राखी उत्पादन गर्ने गर्दथे । तर हाल खाद्यान्नको सहज आयातले कृषकहरु रैथाने बाली लगाउनुभन्दा आयात गरिएको खाद्यान्न बाट नै आवश्यक दैनिक खाद्य परिपूर्ति गरिरहेका छन् । रैथाने बालीको संरक्षणका निम्ति कृर्षकहरुलाई तालिम र प्रोत्साहन दिनु आवश्यक देखिन्छ ।

हाल सरकारले खाद्यबाली अन्तर्गतका कोदो, फापर, चिनो, उवा, कागुनोलगायत बालीको उत्पादन र उपभोगमा जोड दिइएको छ । ‘रैथाने बालीमा पौष्टिक तत्व प्रचूर मात्रामा छँदैछ, यसबाट मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्नेछ । बेजोड स्वाद, वस्तु विविधीकरणको सम्भावना रहेकाले कृषि पर्यटनलाई समेत रैथाने बालीले थप मद्दत गर्छ । रैथाने बालीलाई कम लगानी र सीमान्त जमिनमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रुपमा पनि लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । परापूर्वकालदेखि स्थानीय समुदायले खेती र संरक्षण गर्दै आएका बाली भएकाले किसानलाई खेती गर्न सिकाइरहनु पर्दैन । बरु यी बालीका महत्व, वस्तु विविधीकरण र बजारीकरणका उपायमा सहयोग गरिदिनु पर्छ । रैथाने बाली उत्पादन गरी प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा उपलब्ध गराउने समूह तथा सहकारी सदस्यलाई प्रोत्साहन गर्न जरुरी छ । रैथाने बाली उत्पादक किसानलाई शतप्रतिशत अनुदानमा औजार उपकरण, प्याकेजिङ र लेबलिङ गर्न सहयोग गर्नुपर्नेमा विज्ञहरुको जोड छ । रैथाने बालीको बीउ उत्पादनमा सहभागी हुने समूह, सहकारी र सामुदायिक बीउ बैंकका सदस्यलाई प्याकेजिङ, लेबलिङ, ट्यागिङ र ब्रान्डिङ गरी बीउ उत्पादन तथा बजारीकरण गरेबापत प्रतिकेजी उत्पादनमै प्रोत्साहन सहयोग आवश्यक छ ।

रैथाने बालीमा के पाइन्छ ?
धान र गहुँको तुलनामा सबै रैथाने बालीमा प्रोटिन र फलाम तत्व बढी हुने पोषणविज्ञको भनाइ छ । कोदोमा क्याल्सियम, फस्फोरस र फलामको मात्रा प्रचूर हुन्छ । फापरमा पाइने साढे ७१ प्रतिशत कार्बोहाइड्रेटमध्ये १० प्रतिशतमा पाच्य रेसा हुन्छ । खेती गरिने बालीमा फापरमात्र एक त्यस्तो हो, जसले रुटिन पदार्थ (दाना, मुन्टा र पात सबै भागमा) बनाउँछ । जसले रक्तकेशिका बलियो गर्ने, रगत बग्ने रोगलाई रोक्ने औषधिको रुपमा प्रयोग गरिन्छ । उवाको औद्योगिक महत्व छ । मकैको तुलनामा कम चिल्लो पदार्थ र प्रशस्त भिटामिन बी कम्प्लेक्स पाइन्छ । चिनो भात वा खीरको परिकार बनाइन्छ । यसको दाना भुटेर वा पिठो बनाई विभिन्न परिकार तयार गर्न सकिन्छ । कागुनो धान र गहुँको तुलनामा चिल्लो पदार्थ, प्रोटिन र खनिज पदार्थ श्रेष्ठतर हुन्छ ।

Translate »