सल्यानका जनप्रतिनिधि सुझाव संकलन र योजना निर्माणमा व्यस्त

असार ७, सल्यान । सल्यानका स्थानीय तहहरूले वडा र टोल टोलमा गएर बजेट निर्माणका लागि जनताका सुझाव संकलन र योजना निर्माणमा जुटेका छन् । एक महिना अघि भएको स्थानीय तहको चुनावबाट निर्वाचित जिल्लाका १० वटै स्थानीय तहहरूका जनप्रतिनिधिहरूले आर्थिक वर्षको बजेट बनाउनका लागि जनताको सुझाव संकलनमा व्यस्त भएका हुन ।

जनप्रतिनिधिहरूलाई निर्वाचनका क्रममा मतदातालाई दिएका आश्वासन र अपेक्षा सम्बोधन गर्नुपर्ने दबाब त छ नै आफ्नो स्थानीय तहलाई समृद्ध बनाउने दीर्घकालीन योजना समेट्नु पर्ने भएकाले अहिले जनप्रतिनिधिहरू नागरिक सँगै थप सुझाव पनि संकलन गरिरहेका छन् ।

चुनावका बेला गरेका प्रतिबद्धतालाई ध्यान दिएर आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउन लागेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए । जनप्रतिनिधिको चाहाना भन्दा पनि जनताको चाहाना र मागका आधारमा रहेर बजेट ल्याउने उनले बताए । उनका अनुसार जनताको राय सुझाव संकलनको लागि पहिलो चरणमा वडाका टोल बस्तीमा गएर भेटघाट सहितको सुझाव, योजनाको प्राथमिकीकरण, सरोकारवालाहरू, सङ्घ संस्था, राजनीतिक दलहरू सहितको सुझाव सङ्कलन र पालिका स्तरमा अन्तरक्रियात्मक गोष्ठी मार्फत संकलन गरिएको छ ।

सुझाव संकलन मा नागरिकले बिशेषगरी कृषिमा जोड, गाउँमै रोजगारीका कार्यक्रम ल्याउनु पर्ने, जनताले लाभ लिने खालका योजना ल्याउनु पर्ने, बाह्रै मास सञ्चालन हुने सडक निर्माण गर्नुपर्ने , सिचाई र खानेपानीको माग गरेको अध्यक्ष केसीले बताए ।

निर्वाचित भएर पदभार ग्रहण गरेको छोटो समय भएकाले प्रत्यक्ष जनताको बिचमा जान नसके पनि वडा अध्यक्ष मार्फत वडा र टोलमा गएर जनताको सुझाव सङ्कलन गरिरहेको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले बताए । नागरिकका के के योजना रहेका छन् भनेर नगरपालिकाले निःशुल्क टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको बताए ।

मुख्य कुरा शिक्षा, स्वास्थ्य र विद्युतलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले बताए । कतिपय पुराना योजना भएकाले योजनालाई पनि समेटेर निरन्तरता दिने र केही नयाँ योजना बनाउनु बताए
बजेट बनाउँदै गर्दा जनताका सकारात्मक सुझावको अपेक्षा सहित सार्वजनिक रूपमै सूचना जारी गरेर योजना माग गरिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए । कृषि शिक्षा, स्वास्थ्य र विभिन्न निकायका विज्ञ व्यक्तिहरू सँग पनि सुझाव मागेर बजेट ल्याउन लागेको उनले बताए । कपुरकोट तरकारीको पकेट क्षेत्र भएकाले कृषिमा जोड दिनको लागि किसानहरू सँग पनि प्रत्यक्ष भेटेर सुझाव संकलन गरिरहेको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐनले असार १० गते भित्र बजेट ल्याई सक्नु पर्ने व्यवस्था गरेको छ । त्यसैले जिल्लाका १० वटा तह यति वेला बजेट निर्माणमा लागेका छन् । ( रेडियो नेपाल)

Translate »