देशभर १३ सय सामुदायिक विद्यालय बन्द

विद्यालय घटे पनि विद्यार्थी संख्या भने २०७६ यता बढ्यो

असार २१, काठमाडौं । देशभर सामुदायिक विद्यालयको संख्या घट्दै गएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार विद्यार्थी अभावका र सरकारको विद्यालय समायोजन नीतिका कारण सामुदायिक विद्यालय बन्द हुने क्रम बढेको हो ।

आर्थिक सर्वेक्षण प्रतिवेदनमा शैक्षिक सत्र २०७७ मा निजी–सामुदायिक गरी ३५ हजार ६ सय ७४ विद्यालय सञ्चालनमा भएको देखिन्छ तर २०७८ मा १३ सय ६ विद्यालय बन्द भएर ३४ हजार ३ सय ६८ वटा मात्रै कायम छन् । बन्द हुनेमा सबै सामुदायिक विद्यालय मात्रै हुन् । २०७७ सम्म २७ हजार ८ सय १३ सामुदायिक विद्यालय रहेकामा २०७८ मा २६ हजार ४ सय ५४ रहेको छ । निजी र धार्मिक विद्यालयको संख्या अघिल्लो वर्षभन्दा झनै वृद्धि भएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले केन्द्र र स्थानीय सरकारले विद्यालय समायोजनका लागि प्रोत्साहन गरेकाले सामुदायिक विद्यालयको संख्यामा कमी आएको बताए । मन्त्रालयले २०७५ मा विद्यालय समायोजन निर्देशिका जारी गरेर अनुदानसमेत दिने व्यवस्था गरेको थियो । तर विद्यालयहरूले बजेट अभावमा अनुदान भने पाउन सकेका छैनन् । अनुदान नदिए पनि स्थानीय तहले नै विद्यालय मर्जमा जोड दिएको शर्माले जनाए । ‘एउटै पालिकामा ५/६ वटा विद्यालय मर्ज भएका छन्, प्रत्येक स्थानीय तहमा कम्तीमा २ वटाको दरले मर्ज भए पनि १५ सयभन्दा बढी विद्यालय बन्द हुन्छन्,’ उनले भने, ‘केन्द्रले पनि विद्यालय मर्ज गर्न प्रोत्साहन नीति लिएको छ ।’ विद्यार्थी नभएका ठाउँका विद्यालय बन्द गरेर शिक्षकको दरबन्दी विद्यार्थी भएको ठाउँमा पठाउन थालिएको मन्त्रालयले जनाएको छ ।

केन्द्रका सहसचिव डिल्लीराम लुइँटेलले मर्ज भएकाले विद्यालय संख्यामा कमी आएको जनाए । २०७७ अघिदेखि नै विद्यालय समायोजन हुँदै आएकाले अहिले तथ्यांक घटेको देखिएको केन्द्रका कर्मचारीहरूको भनाइ छ । विद्यालय संख्या घटे पनि विद्यार्थी संख्या भने २०७६ यता बढेको केन्द्रको तथ्यांक छ । २०७७ मा ७० लाख ८२ हजार विद्यार्थी भर्ना भएकामा २०७८ मा त्यो संख्या करिब १० हजारले वृद्धि भएर ७० लाख ९० हजार पुगेको छ । २०७५ अघिको तुलनामा भने विद्यार्थी संख्या पनि ह्वात्तै घटेको हो । २०७५ मा ७२ लाख विद्यार्थी अध्ययनरत रहेकामा २०७६ मा दुई लाखले घटेको थियो । त्यसपछि फेरि करिब १० हजारको दरमा वृद्धि भएको देखिन्छ ।

कोभिड महामारीका वर्षमा निजी विद्यालयमा करिब ३ हजार शिक्षक घटे पनि विद्यालय संख्या भने झनै बढेको छ । धार्मिक विद्यालयको संख्या पनि थपिएको प्रतिवेदनमा उल्लेख छ । २८ वटा निजी विद्यालय थपिएर ६ हजार ७ सय ६० वटा पुगेका छन् । गुम्बा, गुरुकुल, मदरसा लगायतका धार्मिक विद्यालय २०७७ सम्म ११ सय २९ वटा रहेकामा २०७८ मा ११ सय ५४ वटा भएका छन् । केन्द्रका सूचना प्रविधि महाशाखाका उपसचिव रामचन्द्र शर्माले विद्यालय, विद्यार्थी र शिक्षक संख्या वर्षैपिच्छे घटबढ हुने भए पनि सामुदायिक विद्यालयको संख्या क्रमशः घट्दो क्रममा रहेको जनाए । साढे ७ सयभन्दा बढी विद्यालय समायोजन भएर बन्द भइसकेको उनको भनाइ छ । ‘अनलाइनबाट विवरण भर्नुपर्छ, कुनै विद्यालयले समयमै विवरण भर्न सकेनन् भने पनि तथ्यांक तलमाथि हुन सक्छ,’ उनले भने ।

आर्थिक सर्वेक्षण प्रतिवेदनमा सामुदायिक विद्यालयका शिक्षकको संख्या अस्वाभाविक रूपमा घटेको देखिन्छ । दुई वर्षको तुलना गर्दा ४० हजारभन्दा बढी शिक्षक कम देखिन्छन् । वार्षिक अनुमानित १० हजार शिक्षकले नियमित अवकाशमा जागिर छाडे पनि यो तथ्यांकलाई आधिकारिक मान्न नसकिने शर्माले बताए । पछिल्ला वर्ष स्वैच्छिक अवकाश लिएर जागिर छाड्ने शिक्षकको संख्या पनि बढेको विद्यालय शिक्षक किताबखानाले जनाएको छ । अनिवार्य र स्वैच्छिक अवकाशमा जागिर छाडे पनि निजी स्रोतमा शिक्षक भर्ना हुन्छन् । (इकान्तिपुर)

Translate »