सिद्धार्थ ग्रूपका अध्यक्ष लक्ष्मण न्यौपानेको संघर्ष : कठिनाइ एक्लै झेले, नाफामा साझेदारी

साउन २५, काठमाडौं । नेपालमा अतिथि सत्कार व्यवसायमा सिद्धार्थ ग्रूप अफ हस्पिटालिटीको विशेष पहिचान छ । स्थापनाको २५ वर्षमा व्यावसायिक साम्राज्यको परिचय बनाइसकेको यो ग्रूपको नेतृत्व ५३ वर्षीय लक्ष्मण न्यौपानेले गरिरहेका छन् ।

गुल्मीमा जन्मेका न्यौपानेले भारतको गुवाहाटीमै व्यवसाय शुरू गरेका थिए । तर, स्वदेशमै केही गर्नुपर्छ भावनाले उनलाई त्यहाँ बस्न दिएन । जन्मभूमिमै व्यवसाय गर्ने सोच बोकेर गुवाहाटीबाट फर्केको दिन नै आजको अवस्थामा आइपुग्ने टर्निङ प्वाइन्ट भएको न्यौपानेले सुनाए ।

उनले शुरुआती समयमा टीकापुरमा फुसको छाप्रोमा सिद्धार्थ होटेल खोलेर मःमः र चाउमिन बेचेका थिए । त्यहीँबाट व्यवसाय शुरू गरेको र यहाँसम्म आइपुग्दा थुप्रै आरोहअवरोह पार गरेको न्यौपानेले बताए ।  उनले नेपालको आर्थिक उन्नति पर्यटन, कृषि र हाइड्रोपावरबाटै सम्भव भएकाले त्यसैअनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । विश्वकै महत्त्वपूर्ण प्राचीन तथा पौराणिक शहर काठमाडौंमा पर्यटक आकर्षित गर्ने प्रशस्त सम्भावना देख्छन् उनी । ‘तर, प्राचीन संरचना र संस्कृतिको संरक्षणतर्फ काम गर्न ढिला भइसकेको छ,’ न्यौपानेले भने, ‘काठमाडौं, भक्तपुर र ललितपुरका प्राचीन संरचनाहरू लोपोन्मुख अवस्थामा छन् ।’ सम्पदा संरक्षणसँगै दीर्घकालीन सोच र योजनाका साथ काम गरे वार्षिक ५० लाख पर्यटक भित्र्याएर आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता उनले औंल्याए ।

न्यौपानेका अनुसार सिद्धार्थ ग्रूप अफ हस्पिटालिटी प्राथमिक शेयर निष्कासन (आईपीओ) प्रक्रियामा जाने तयारीमा छ ।

प्रगतिका लागि व्यवसाय नै गर्नुपर्छ भन्ने सोचका साथ अतिथि सत्कार क्षेत्रमा अघि बढेका उनले नेपालगञ्जमा १२५ कोठाको सिद्धार्थ होटेल सञ्चालनमा गरिरहेका छन् । नेपालगञ्जको व्यवसायले नाम र दाम दुवै दिएपछि ठूलो आत्मसन्तुष्टि मिलेको उनको भनाइ छ ।

न्यौपानेले थालेको पारिवारिक व्यवसायमा अहिले ८० भन्दा बढी साझेदार छन् । कठिन समय एक्लै झेलेका न्यौपानेले व्यवसाय नाफामा जान थालेपछि साझेदार थप्दै आएको सुनाए । यसलाई व्यवसायको विस्तार र विविधीकरण अनि पूँजी आवश्यकताको नतीजा ठान्छन् उनी । लिमिटेड कम्पनीमा गएर सर्वसाधारणलाई शेयर विक्री गरेपछि उनले स्थापना गरेको व्यवसायले आर्जन गर्ने मुनाफा हजारौं शेयरधनीसम्म पुग्नेछ ।

पहिला बैंकसम्म पुग्न नसक्दा चर्को ब्याजमा ऋण लिएको तीतो अनुभव सँगालेका लक्ष्मण पैसाभन्दा इमानदारी र काममा लगावलाई सफलताको सूत्र मान्छन् । शुरूमा होटेल व्यवसायमा लगानी गर्न नमानेका बैंक, वित्तीय संस्था अहिले यो क्षेत्रमा लगानी गर्न उत्सुक हुनुको कारण पनि अतिथि सत्कार उद्योगको प्रगतिलाई नै मान्छन्, न्यौपाने । अहिले नबिल, प्रभु र नेपाल एसबिआई बैंकको वित्तीय सहयोगमा व्यवसाय विस्तार भइरहेको उनले सुनाए ।

सिद्धार्थ ग्रूपले काठमाडौंको बौद्धमा चारतारे स्तरको बुटिक होटेल र हेटौंडामा तीनतारे स्तरको होटेल सञ्चालन गरेको छ । बुटवल, काठमाडौं, भैरहवा, सुर्खेत, कर्णालीको चिसापानी, चितवनको तुम्लिङटार र इलामको कन्याममा गुणस्तरीय होटेल निर्माण गरिरहेको छ ।

‘हस्पिटालिटी अफ हार्ट’ भावनाका साथ सिद्धार्थ ग्रूपले होटेल, रेस्टुराँ, रिसोर्ट, बेकरी र क्याफे, होटेल म्यानेजमेन्ट इन्स्टिच्युट जस्ता व्यवसाय गरिरहेको छ ।

तारे होटेलबाहेक ग्रूपले कफी फार्मिङ, १५ महीने हस्पिटालिटी तालिम, व्यापार, होटेल सेटअप संरचना निर्माणमा पनि काम गरिरहेको छ । सिद्धार्थ ग्रूपको शाखा कैलालीको टीकापुर, कर्णालीको चिसापानी, नेपालगञ्ज, सुर्खेत, विर्तामोड, बुटबल, चितवनको तुम्लिङटार, काठमाडौं उपत्यकाको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारालगायत स्थानमा छन् । ग्रूपअन्तर्गतका कम्पनीमा १५ हजार हाराहारीले रोजगारी पाएका छन् । यीमध्ये १ हजार हाराहारी स्थायी छन् । निर्माणाधीन परियोजनाले पनि ५०० भन्दा बढीलाई रोजगारी दिएका छन् ।

न्यौपानको अनुसार आगामी दशैंसम्ममा भैरहवामा २०० करोड रुपैयाँ लगानीको सय कोठे तारे होटेल सञ्चालन गर्ने तयारी छ । शुरूमा लुम्बिनी आउने बौद्धमार्गी पर्यटकलाई लक्ष्य गरेर डिलक्स होटेल निर्माण शुरू गरेकामा अहिले भारतको गोरखपुर क्षेत्र हुँदै आउने भारतीय र आन्तरिक पर्यटकका लागि बास बस्न सहज हुने गरी उपयुक्त प्याकेजमा होटेल सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सिद्धार्थ ग्रूपका २५ भन्दा बढी क्षेत्रीय र शाखा कार्यालय छन् । आज नभए, भोलि हुन्छ, कर्म निरन्तर गर्नुपर्छ भन्ने सकारात्मक सोचले आफूलाई सधैं आशावादी बनाएको उनले सुनाए । आत्मविश्वास र धैर्यलाई सफलताको सूत्र मान्ने लक्ष्मण आफूमाथि साझेदारहरूले गरेको विश्वास कायम राख्न थप योजनाका साथ अगाडि बढेको बताउँछन् । आर्थिक अभियान

Translate »