चकलेटमा पोषक तत्व थप्दै प्रतिभा

साउन २५, काठमाडौं । फूड टेक्नोलोजीमा स्नातक सकेर पोषणसम्बन्धी विषयमा स्नातकोत्तर पढ्दै गरेकी प्रतिभा पराजुली चकलेटमा पोषक तत्त्व थप्ने काम गर्दै छिन् । चकलेटमा अत्यधिक मात्रामा चिनी र कार्बोहाइड्रेट हुने तथा त्यसले मानव शरीरका लागि फाइदाभन्दा बेफाइदा धेरै गर्ने भएकाले उनले त्यसमा मानव स्वास्थ्यलाई आवश्यक पर्ने भिटामिन, मिनरललगायत पोषक तत्त्व थप्ने काम गरिरहेकी छन् ।

उनले एक चरणमा यस्तो चकलेट उत्पादन गरेर नजीकका आफन्त र साथीभाइलाई चखाइसकेकी छन् । आफन्तबाट राम्रो प्रतिक्रिया पाएपछि कम्पनी नै खोलेर चकलेट, मस्यौरालगायतमा पोषक तत्त्व थप्ने काम गर्ने योजना बनाएकी छन् । उनले भर्खरै हेल्थवे फूड्स प्रालि नामको कम्पनी दर्ता गरेको जानकारी दिइन् । कामलाई व्यावसायिकता दिने उद्देश्यले आफूले कम्पनी दर्ता गरेको प्रतिभाको भनाइ छ ।

उनी भन्छिन्, ‘हामीले हरेक दिनजसो चकलेट खाइरहेका हुन्छौं । त्यसबाट हाम्रो शरीरमा चिनीको मात्रा बढी जान्छ । त्यसैले भिटामिन, मिनरललगायत तत्त्व चकलेटका माध्यमबाट हाम्रो शरीरमा पुगोस् भन्ने हिसाबले मैले कदम चालेकी हुँ ।’ विशेषगरी गर्भवती र सुत्केरी महिलाका साथै कुपोषणबाट ग्रस्त बालबालिकाका लागि आफूले यस्तो काम गर्न लागेको उनले सुनाइन् ।

यही कामका लागि थप आइडिया सिक्न उनी महावीर पुनले खोलेको राष्ट्रिय आविष्कार केन्द्र पनि पुगिन् । त्यहाँबाट थप जानकारी प्राप्त भएको उनको भनाइ छ । अहिले प्रतिभा नबिल बैंकले आयोजना गरेको नबिल स्कूल अफ सोसियल आन्त्रप्रेनरशिपमा आबद्ध भएर उद्यमशीलतासम्बन्धी थप ज्ञान प्राप्त गर्दै छिन् । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत वा अध्ययन सकेर बसेका ५० वर्ष उमेर ननाघेका विद्यार्थीलाई लक्ष्य गरेर उक्त कार्यक्रम ल्याएको हो । हाल यसमा २० जना विद्यार्थीले उद्यमशीलतासम्बन्धी तालीम लिइरहेका छन् ।

नबिल स्कूल अफ सोसियल आन्त्रप्रेनरशिपले सामाजिक उद्यमशीलताको प्रयोग गरी उद्यमीलाई जटिल सामाजिक समस्या समाधानमा सहयोग गर्छ । यो कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत तथा अध्ययन गरिसकेका विद्यार्थीका लागि उद्यमशीलता तालीम दिन शुरू गरिएको हो । समाजमा सकारात्मक प्रभाव पार्ने खालका व्यावसायिक काम गरेका विद्यार्थीले यहाँ मौका पाउँछन् ।

नबिल बैंकको यस कार्यक्रममा सहभागी भएपछि आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘मलाई उद्यमी बन्नु थियो तर कसरी बन्ने, कहाँबाट शुरू गर्ने, शुरू गरे पनि आफूले गरेको उत्पादनको बजारीकरण कसरी गर्ने, धेरैभन्दा धेरै मान्छेसम्म उत्पादन पुर्‍याउन के गर्ने भन्नेमा केही पनि ज्ञान थिएन । यहाँ आएपछि मैले यी कुराबारे ज्ञान प्राप्त गर्ने अवसर पाएकी छु । त्यसैले अब चाहिँ मैले काम शुरू गर्न ढिला गर्नु हुँदैन भन्ने सोचेर भर्खरै कम्पनी खोलेकी हुँ ।’

यसका साथै परम्परागत नेपाली खानेकुरामा समेत पोषक तत्त्व थप्ने काम गर्ने योजना रहेको उनले बताइन् । चकलेटसँगै उनले मस्यौरामा समेत पोषक तत्त्व थप्ने काम गरिरहेकी छन् । आफूले गर्न खोजेको काममा नबिल बैंकको साथले थप ऊर्जा र हौसला मिलेको उनको भनाइ छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि त्रिभुवन विश्वविद्यालयसँग मिलेर समाजमा केही गरौं भन्ने चेत भएका विद्यार्थीका लागि उद्यमशीलता शीपका साथै त्यसका लागि चाहिने आवश्यक कुरा सिकाउन पाउनु नबिल बैंकका लागि खुशीको विषय भएको बताए । यी विद्यार्थी भोलि गएर सफल उद्यमी बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । आर्थिक अभियान

Translate »