कमाऊँ राजनीति !


विडम्बना भन्नुपर्छ, हामीकहाँ राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवा गरेका वा समाजसेवी पृष्ठभूमि भएका राजनीतिकर्मी भेटिन प्रायः मुस्किल पर्छ । समाजको सेवा गरेर भन्दा पनि राजनीतिक घटनाक्रमले जन्माएका र अनेकन तिकडम गरी राजनीतिकर्मी बनेकाहरूले राजनीतिलाई समाजसेवा होइन, पेसाका रूपमा लिने प्रवृत्ति बढ्दैछ । देश र जनताको सेवा गरेर भन्दा पनि अनेक तिकडमबाजी गरेर राजनीतिमा प्रवेश गरेका राजनीतिकर्मीहरूको पछिल्लो सुविधाभोगी प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार र नागरिक समाज असफल हुने हो कि भन्ने चिन्ता आम नेपालीमा बढ्दै गएको छ । सरकारी ढुकुटीमा बक्र आँखा गाँड्ने प्रवृत्ति राजनीतिकर्मीमा मौलाएकोले व्यवसायी लगायत हुनेखानेहरू कोही आफै उम्मेदवार बन्ने कोही निर्वाचनताका राजनीतिमा प्रत्यक्ष वा परोक्ष रूपमा अर्थको लगानी रहेका छन् भने पछिल्लो समय जुनसुकै पृष्ठभूमि भएका यस्ता हुनेखानेले सहजै टिकट पाउने गरेको देखियो । नेपाली राजनीतिमा हुनेखानेहरूको हालिमुहाली बढिरहेकाले निर्वाचन महङ्गिदै गएको छ ।अरू बेला समाजको हितबारे नसोच्ने तर निर्वाचनताका विकासको आश्वासन देखाएर जनताको अमूल्य मत हत्याउन अनेकन तिकडम गर्ने राजनीतिकर्मीबाट नेपाल र नेपाली पटक–पटक ठगिँंदै आएका छन् ।

त्यसो त राजनीतिलाई समाजसेवा हैन, पेसा सम्झनेहरूको मनोबल बढाउनमा पार्टीका अग्रज नेता र कार्यकर्ताको मुख्य भूमिका रहँदै आएको छ । फेरि यस्तो प्रवृत्ति विरुद्ध मतदाता पनि जागरुक हुनसकेका छैनन् । अब कैले जाग्ने होलान् ? निर्वाचन सम्बन्धी आचारसंहिता बनाउने तर उल्लंघन गर्ने राजनीतिकर्मीलाई कारबाही नगर्ने निर्वाचन आयोगको पछिल्लो रमिते भूमिकाले पनि राजनीतिलाई पेसा सम्झनेहरूको मनोबल बढ्दै गएको देखिन्छ । अन्यत्र निर्वाचनमा कस्तो पृष्ठभूमि भएका उम्मेदवार उठ्दैछ भन्ने सामान्य तर महत्वपूर्ण कुरा मतदाताले थाहा पाउँछन् । विडम्बना भन्नुपर्छ, हामीकहाँ सातादिन अघि पनि कस्तो पृष्ठभूमि भएको व्यक्ति उठ्दैछ भन्ने कुरा मतदातालाई थाहा हुँदैन । कम्तीमा समाजको हितका लागि काम गर्ने व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको गरिमामात्र बढ्दैन, राजनीतिलाई समाजसेवा सम्झनेहरूको मनोबल बढ्छ भन्ने आधारभूत कुरा पार्टीका नेता–कार्यकर्ताले बिर्संदै गएको देखिन्छ । यस्तै राजनीतिलाई पेसा हैन, समाजसेवा ठान्ने राजनीतिकर्मीहरूले समाज र देशलाई भ्रष्टाचारमुक्त बनाई समृद्धिको बाटोमा हिँडाउँछन् भन्ने कुरा अग्रज नेता–कार्यकर्ताले बुझ्न ढिला भएपनि जनताले अब आफ्नो मतबाट बुझाई दिन आवश्यक भईसकेको छ । राजनीतिलाई कमाऊँ धन्दा बनाउनेलाई चोट दिने भनेकै आउँदो मंसिर ४ गते हो । समय छ, जागौं र दलाल नेतालाई पाखा लगाऊँ ।
अहिले कार्यपालिका र न्यायपालिकाबीच बढिरहेको द्वन्द्व र यी संस्थामा मौलाइरहेको कुशासन तथा भ्रष्टाचार मूल रूपमा आर्थिक असुलीकै परिणाम हो । राजनीतिमा यस्तो परिस्थिति किन र कसरी सिर्जना हुन्छ भन्ने कुरा असुलीको अन्तर्निहित स्वार्थ र त्यसका पात्रहरूको सम्बन्धबाट अझ प्रस्टिन्छ । दलालीको राजनीतीकरणले ‘ब्रोकर कल्चर’ लाई अनुकूल वातावरण बनाइदिएको छ । खास गरी यस्ता विषयलाई राजनीतिक लाभका पदहरूमा व्यक्तिको नियुक्ति र अन्य लेनदेन मार्फत व्यवस्थापनको प्रयास भएको देखिन्छ । जसमा राजनीतिक रूपमा असुली धन्दालाई तीव्र पारेका बिचौलियाहरूले भूमिका खेलेका हुन्छन् । यस्ता बिचौलिया राज्यका तीनै अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा अहिले सञ्चार क्षेत्रमा पनि छन् । दलालीको यस्तै सम्पर्क–जालोले नेपालमा विकास, शान्ति, सुरक्षा र राजनीतिक आकांक्षा व्यवस्थापनको जिम्मा पाएको छ । अहिलेको राजनीतिक परिदृश्यले समाज र राष्ट्रबीचको यस्तै चरित्रलाई प्रस्ट्याउँछ जो आफैंमा समस्याग्रस्त छ । यस्तो प्रवृत्ति हटाउन एउटा युगान्तकारी राजनीतिक परिवर्तन गर्न आउँदो मंसिर ४ गते महत्वपूर्ण दिन हो । मतदान अघि एक पटक सोचौं र गम्भीरतापूर्वक आफ्नो मत दिऔं ।

