गठबन्धन अहिलेको ऐतिहासिक आवश्यकता हो : प्रधानमन्त्री देउवा

स्काई न्यूज /कार्तिक ६, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले जिते संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा हुने जिकिर गरे । कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएको बताउँदै उनले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको समेत बताए ।

सभालाई पूर्व प्रधानमन्त्री तथा नेकपा माआवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मिलेको शिक्षाले अहिलेको गठबन्धन बनाउन धेरै मद्दत पुगेको जनाए । उनले कर्णालीमा सयमा सय प्रतिशत गठबन्धनले जित्ने दावी गरे । त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको संविधान कुल्चेर व्यक्ति केन्द्रित राजनीति, सत्ता चलाउँदै अधिनायकवादले देश अस्तव्यस्त बनाउन थालेपछि अहिलेको गठबन्धन जन्माउनु परेको बताए ।
उनले संविधान र संघीयतालाई बचाउन परिवर्तनकारी शक्तिहरुलाई गठबन्धन मार्फत एक ठाउँमा उभ्याईएको जनाए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरे । उनले गठबन्धन लोकतन्त्रको रक्षा, दिगो शान्ति कायम गर्न र राष्ट्रलाई अन्धकारतर्फ धकेल्नबाट जोगाउन गठबन्धन गरिएको बताए ।


