बस्तीसँगै सरेको संस्कृति : पगनाथको पैचरी वीरेन्द्रनगरमा (भिडियो सहित)
स्काई न्यूज /कार्तिक ११, सुर्खेत । वीरेन्द्रनगर–१२ स्थित चार बाहिनी रोडमा दैलेखको परम्परागत लहरे पैचरी खेल (खैँजेडी) खेलिएको छ । दीपावलीको अन्तिम दिन भूमितिहारको अवसरमा शुक्रवार साँझ पैचरी अन्तर्गतको घोडा नचाउने नाच गरिएको हो । केही वर्षयता हरेक तिहारका यहाँ तीन–चार दिन यसैगरी लहरे पैचरी खेलिँदै आएको छ । दैलेखको भगवतीमाई गाउँपालिका (साविक पगनाथ, रुम, मेहलतोली, जगनाथ, कट्टी, बडाभैरवलगायत स्थानबाट वीरेन्द्रनगरमा बसाइँसराइ गरेको समुदायले लहरे पैचरी खेल्ने गरेका छन् ।
भगवतीमाई गाउँपालिकाबाट आएका समुदायको वीरेन्द्रनगरका विभिन्न ठाउँमा बाक्ला बस्ती रहेको छ । लहरे पैचरी दमाह, झ्याली लगायतका बाजा बजाएर खेलिन्छ । जहाँ रहेपनि परम्परागत कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै नियमित र थप व्यवस्थित बनाउने अभियानमा सामूहिक प्रयास थालिनु सराहनीय काम भएको नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् निवर्तमान कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले जनाए ।
पैचरी खेलमा सहभागि बनेका नेता रेग्मीले यस्ताा कला संस्कृति जोगाउन आफूले सक्दो सहयोग र सहकार्य गर्ने बचन दिए । पैचरी खेल संरक्षणकर्ता मध्येका एक वीरेन्द्रनगर–१२ का वीरबहादुर खड्काले दैलेखबाट बसाइँ सरेसँगै आफूहसँग कला संस्कृत पनि स्थानान्तरण भएको बताए । अर्का पैचरी संरक्षणकर्ता कमल अधिकारीले भगवतीमाइमा यसलाई खैँजेडी खेल पनि भन्ने चलन रहेको र विशेषगरी भगवतीमाइको गन्म तथा पगनाथमा यो खेल बढी प्रचलित रहेको जनाए ।