चिसो बढेपछि मौसमविदले भने – ‘हुस्सु र शीतलहरबाट बच्न अहिलेबाटै पूर्वतयारी गर्नुस’

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको र चिसो महशुस भएको बताए । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गरे ।

तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महीनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने उनको अनुमान छ । उनले डिसेम्बर महीनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।
उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । आगामी एकहप्ता वर्षा भने नहुने तर जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाई छ । वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महीनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए । आर्थिक अभियान