बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ को मृत्यु
नयाँदिल्ली — मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो बिहार । मुख्यमन्त्री नितिश कुमारले ७ वर्षअगाडि बिहारलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका थिए । तर, मदिरा निषेधित त्यही बिहारमा ‘विषालु रक्सी’ सेवनले मृत्यु हुनेको संख्या डरलाग्दो छ ।
पछिल्लो दुई दिनमा सारण जिल्लामा रक्सी सेवनकै कारण मृत्यु हुने संख्या ४३ पुगेको छ । छपराको यो घटनाले बिहारको राजनीतिलाई तताएको छ । नितिश कुमारको मदिरा निषेध कार्यक्रम फेल रहेको विपक्षीहरूले आरोप लगाएका छन् । प्रहरी प्रशासन र राज्य संयन्त्रकै संरक्षकमा रक्सीको उत्पादन तथा तस्करी भइरहेको आरोप छ ।
छपराको मसरक बजारमा यतिबेला शोक छाएको छ । स्थानीय अस्पतालको बेडमा रक्सी सेवनकै कारण मृत्यु हुनेको संख्या एकपछि अर्को थपिँदै गएको छ । उपचारका लागि आउनेको क्रम रोकिएको छैन । मंगलबार मध्यरातिबाट बिरामी आउन सुरु भएको थियो । जुन अझै थामिएको छैन । पछिल्लो दुई दिनमा हरेक एक घण्टामा रक्सी सेवन गरेका व्यक्तिको अस्पतालमा मृत्यु भएको देखिएको छ । ‘देशी शराब’ अर्थात् घरेलु प्रविधिबाट स्थानीय तहमा बनाइएका रक्सीको सेवनपछिको घटनाले त्यहाँको गरिब बस्ती पूरा शोकाकुल बनेको छ ।
रक्सीको सेवन आफैंमा दण्डनीय अपराध रहेकाले कतिपय मानिस अस्पतालसमेत पुगेका छैनन् । स्थानीय प्रशासनले घरघर पुगेर बिरामीलाई अस्पताल ल्याउने कोसिस थालेको छ । प्रशासनले माइकिङ गरेर उपचारका लागि आउन आह्वान गर्दै छ । मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन भएका उक्त घटनाले रक्सीको उत्पादन कुनै एकै स्थानबाट भएको हुन सक्ने प्रशासनको अनुमान छ । प्रहरी प्रशासनले घटनाको छानबिनका क्रममा १ सय २६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ । अहिलेसम्म उक्त विषालु रक्सी कहाँबाट आएको हो, खुल्न सकेको छैन ।
विपक्षीद्वारा सरकारमाथि आरोप
विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले घटनाका लागि मुख्यमन्त्री नितिश कुमार जिम्मेवार भन्दै आलोचना गरेको छ । भाजपा सांसदले विधानसभामा सरकार र मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले रक्सीको बिक्री वितरण रोक्न सरकार असफल रहेको र त्यसैको परिणाम स्वरूप धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै नितिशको राजीनामा मागेका छन् । मुख्यमन्त्री नितिशले भने ‘रक्सी पिउनेको मृत्यु हुन्छ नै’ भन्ने हल्का टिप्पणी गरेर आफ्नो नीतिको बचाउ गरेका छन् । आफूविरुद्ध नाराबाजी गरिरहेका विपक्षी भाजपाका सांसदलाई उनले ‘शराबी’ भन्ने शब्द प्रयोग गरेपछि विपक्षीले माफी माग्नुपर्ने अडान लिएका छन् ।
अर्कोतिर, मदिरा निषेधको नीतिमाथि प्रश्न उठ्न थालेको छ । बिहारका सांसद केन्द्रीय मन्त्री गिरिराज सिंहले बिहारमा विषालु रक्सीको सेवनले हरेक दिन मानिसको मृत्यु भइरहेको र सरकारले लिएको नीति विफल भइसकेको बताएका छन् । उनले सफल हुन नसकेको नीतिमाथि पुनर्विचार गर्नुपर्ने र यस नीतिलाई प्रतिष्ठाको विषय बनाउन नहुने भन्दै रक्सीमाथिको प्रतिबन्ध हटाइनुपर्ने राय दिएका छन् । उनले बिहारमा रक्सीलाई भगवान्को दर्जा प्राप्त भएको व्यंग्य गरेका छन् । ‘रक्सी भगवान् जस्तो भएको छ । जुन देखिँदैन । तर हरेक ठाउँमा उपलब्ध छ,’ उनले भनेका छन् ।
राजनीतिज्ञ प्रशान्त किशोरले ४८ घण्टाभित्र रक्सीमाथिको प्रतिबन्ध हटाइनुपर्ने माग गरेका छन् । उनले मदिरामाथिको प्रतिबन्ध (शराबबन्दी) नीति विफल भइसकेको र विफलताको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् । उनले मुख्यमन्त्रीको वरिपरि बस्नेहरूले नै रक्सी सेवन गर्ने गरेको आरोपसमेत लगाएका छन् ।
एक रिपोर्टअनुसार १ अप्रिल २०१६ मा नितिश कुमारले रक्सीमाथि प्रतिबन्ध लगाएयता विषालु रक्सी तथा ड्रग्सको सेवन बढेर गएको छ । गत वर्षसम्मको तथ्यांकअनुसार मदिरा निषेधको कानुन तोड्ने विषयमा २ लाख बढी मुद्दा चलाएको छ । ती मुद्दामा ३ लाख बढी व्यक्तिहरूलाई हिरासतमा लिएर कारबाही चलाइएको छ । गत वर्ष सन् २०२१ मा विषालु रक्सी सेवनले पश्चिम चम्पारणमा ५२ जनाको मृत्यु भएको थियो । इकान्तिपुर