कर्णालीमा वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याईने

स्काई न्यूज /मंसिर २९, सुर्खेत । खाद्यान्न अभाव झेल्दै आईरहेको कर्णालीमा अब वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारी मार्फत वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । पहिलो चरणमा कर्णालीका सुर्खेत र दैलेखमा वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरिएको विहीबार सुर्खेतको वीरेन्द्रनगरमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको कार्यक्रम मार्फत जानकारी दिइएको छ । यसअघि सरकारले चाडपर्वका समयमा मात्र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने दाल, चामल, नुन, चिनी, लगायतका खाद्य वस्तुहरु बजार भाउभन्दा कम मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेशन मार्फत विक्री वितरण गर्दै आईरहेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले स्थानीय उत्पादनलाई नै बढी प्रोत्साहन दिने गरि पहिलो चरणमा सुर्खेतको रामघाट स्थित भेरीपशु तथा कृषि सहकारी र दैलेखको नारायण नगरपालिका स्थित शतप्रतिशत प्रगतिशील सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको बताएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले आयातित खाद्यान्न भन्दा स्थानीय स्तरमै उत्पादित खाद्यान्न खरिद गरेर स्थानीय स्तरमै सुपथ मूल्यमै सहकारी मार्फत आम उपभोक्तालाई विक्री वितरणको व्यवस्था मिलाईने जानकारी दिए । उनले स्थानीय कृषिजन्य वस्तुको उत्पादन बृद्धि गरी रोजगारीसँगै निर्यातलाई प्रोत्साहन दिनु अर्को मुख्य उद्देश्य रहेको बताए ।
‘स्थानीय उत्पादनलाई स्थानीय स्तरमै खपत गरी बचेको खाद्यान्नलाई निर्यात गर्न प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘वर्षभरि नै सञ्चालनमा ल्याईने त्यस्ता सुपथ मूल्य पसलबाट स्थानीय आवश्यकतालाई परिपूर्ति गर्दै उत्पादकलाई व्यवसायी बन्न प्रेरित बनाईने छ ।’ उनले कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन दुर्गममा रहेका उच्च मूल्य कृषिजन्य वस्तुलाई खरिद गरि सहज बजारको पहुँचसँगै उपभोक्ताको मागलाई सम्बोधन गर्ने लक्ष्य रहेको जनाए ।
संघ, प्रदेश, स्थानीय तह र सरोकारवाला निकायको समन्वय तथा सहयोगमा कर्णालीमा रहेको खाद्य असुरक्षा तथा कुपोषण हटाउन सहुलियत मूल्य पसल प्रभावकारी हुने उनको भनाइ थियो । विश्व खाद्य कार्यक्रमका सुर्खेत प्रमुख पूर्णबहादुर नेपालीले कर्णालीका दुर्गम, ग्रामीण खाद्य असुरक्षित क्षेत्रहरुमा उचित मूल्यमा सुरक्षित तथा पौष्टिक खाद्यान्न उपलब्ध गराउन उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको बताए ।

उनले खाद्य असुरक्षा कुपोषण समस्याग्रस्त क्षेत्रलाई लक्षित गरि नियमित आपूर्ति सुनिश्चित गर्ने प्रर्णालीको विकास गर्दै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन स्थानीय तह, सहकारी र किसानलाई तालिम दिन लागिएको जानकारी दिए । यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले आम उपभोक्तालाई लक्षित गरि खोलिने सहुलियत मूल्य पसलमा विक्री वितरणका लागि राखिने खाद्यान्न तथा तरकारीजन्य वस्तुको गुणस्तर, मापन, भण्डारणलगायतका विषयहरुमा बढी ध्यान दिनुपर्नेमा जोड दिए । सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर विसीले कर्णालीका उपभोक्तालाई लक्षित गरी खोलिने सहुलियत मूल्य पसलबाट विपन्न नागरिकलाई बढी लाभ पुग्ने अपेक्षा व्यक्त गरे ।
राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले बजारमा व्याप्त कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई राहत दिन गाउँ–गाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न आग्रह गरे । ‘उपभोक्ताको पहुँच बढाउन यस्ता पसलहरु शहरमा मात्र केन्द्रित नगरि अझ धेरै ठाउँमा खोल्नु प¥यो,’ उनले भने, ‘व्यापारीहरुको एकाधिकार र कालोबजारी तोड्न यस्ता पसलहरु वर्षभरि शहरदेखि गाउँसम्म सञ्चालन गरिनु पर्छ ।’ उनले यसअघि चाडपर्वमा मात्र खोलिने सहुलियत मूल्य पसलबाट नजिकै घर हुनेलाई मात्रै बढी लाभ लिने गरेको सर्वसाधारणले गुनासो गर्दै आईरहेको जनाए ।
उनका अनुसार कतिपयले सुपथ मूल्य पसल खोलिएको थाहा पाएपनि टाढाका उपभोक्ताका लागि त्यहाँ आएर सामान किनेर लैजानु बजार बजारमूल्य जस्तै हुने गरेको थियो । दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमलाई दक्षिण–दक्षिण सहयोग विश्व खाद्य कार्यक्रम चीनका प्रमुख डा. जिया यान, विश्व खाद्य अन्तर्गत सुपथ मूल्य पसल कार्यक्रम अधिकृत सिलु शाक्य, खाद्य तथा गुण नियन्त्रण अधिकृत श्रद्धा भट्टराई, स्वास्थ्य अधिकृत अमृत गुरुङलगायतले तालिमको सहजिकरण गरिरहेका छन् ।