रोनाल्डोमाथि अर्बौं खर्चेर साउदीले के पाउँछ ?

काठमाडौं । कतारमा आयोजित फिफा विश्वकप फुटबलमा पोर्चुगाली फुटबल स्टार रोनाल्डोले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । टिमले खेलेको अन्तिम दुई खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा रहे । विश्वकपलाई आँसुले बिदा गरेका रोनाल्डो भर्खरै साउदी अरबको अल नस्र क्लबमा अनुबन्धित भएका छन् । अल नास्रले रोनाल्डोलाई वर्षेनी २८ अर्ब ८० करोड रूपैयाँ दिँदै सन् २०२५ सम्मका लागि करार गरेको छ । मंगलबार क्लबले आफ्नो रंगशालामा रोनाल्डोको भव्य स्वागत गरेको थियो । आफ्नो करियरको उत्तरार्द्धमा रोनाल्डो साउदी क्लबसँग जोडिनुलाई धेरैले राम्रो भनेका छैनन् ।

क्लब स्तरमा पनि उनको पछिल्लो प्रदर्शन पनि खासै राम्रो देखिएको थिएन । तर उनी साउदी क्लबमा अनुबन्धित हुँदा मध्य पूर्वी देशहरू उत्साहित देखिन्छन् । आफूले युरोपमा धेरै कीर्तिमान बनाएको अनि अब साउदी अरबमा केही कीर्तिमान बनाउन चाहेको रोनाल्डोले मंगलवार भनेका थिए । अहिले धेरैको चासो साउदी अरबले रोनाल्डोमाथि यति धेरै खर्च किन गर्यो भन्नेमा छ । रोनाल्डो अल–नास्रबीचको सम्झौतालाई साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको सुधारवादी नीतिसँग पनि जोडेर पनि हेरिएको छ । सलमानले पश्चिमी देशहरूलाई उछिन्दै साउदी अरबलाई विश्वव्यापी शक्तिको रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन् ।

फिफा विश्वकप २०२२ को पहिलो खेलमा साउदी अरेबियाले यो संस्करणको विश्वकप विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो । यो आश्चर्यजनक नतिजापछि साउदीले एक दिन सार्वजनिक बिदा दिएको थियो । खेलको दिन पनि त्यहाँका मन्त्रालयहरू, सरकारी निकायहरू, विद्यालयहरू र विश्वविद्यालयहरू समेत समयअगावै बन्द गरिएको थियो ।

साउदी अरबको जितले मध्य पूर्वसमेत उत्साहित देखियो । पछिल्लो समय साउदी अरब स्थानीय फुटबलको विकासमा लागि परेको छ । खेलकुद सलमानले सन् २०१६ मा सार्वजनिक गरेको महत्वकांक्षीय योजना ‘भिजन २०३०’ को महत्वपूर्ण हिस्सा पनि हो । भिजन २०३० सार्वजनिक भएयता साउदी अरबको खेलकुद क्षेत्रमा व्यापक परिवर्तन देखिएको छ । यसमा सन् २०३० सम्मका खेलकुदमा सार्वजनिक सहभागिता ४० प्रतिशतले बढाउने, साउदी खेलाडीहरूको प्रदर्शनमा सुधार गर्ने र खेलकुदको अर्थतन्त्रलाई बढावा दिने तीन थरी लक्ष्य छ ।

रोनाल्डो साउदी अरब जानुलाई फुटबल पत्रकार उरी लेवीले ठूलो परिवर्तनको संकेत भनेका छन् । एक भिडियोमा सलमानले साउदी अरब फुटबलका लागि नयाँ युरोप बन्ने बताएका थिए । विभिन्न खाले मतभेद भए पनि साउदी अरबसँगै बहराइन, कुवेत, कतार पूरै फेरिने अनि  युएई, ओमान, लेबनान, जोर्डन, इजिप्ट, इराकमा अवसरहरू पनि फेरिने बताएका थिए ।

आगामी पाँच वर्षमा साउदी सफल भयो भने धेरै देशले आफूहरूले चालेको कदम पछ्याउने अनि आगामी ३ दशकमा मध्यपूर्वमा नयाँ विश्वव्यापी पुनर्जागरण हुने उनले भनेका थिए । मध्यपूर्वले विश्वको नेतृत्व गरिरहेको नदेख्दासम्म आफू मर्न नचाहेको पनि उनले बताएका थिए । यसलाई सलमानको नेतृत्वमा साउदी अरबले धर्मलाई दिँदै आएको प्राथमिकता छोडेर महाशक्तिको रूपमा उदाउन चाहेको रूपमा अर्थ्याइएको छ ।

रोनाल्डोबाट साउदी अरेबियालाई के फाइदा होला ? 

‘इतिहास बनेको छ । यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो लिग, हाम्रो देश र भावी पुस्ता, केटाकेटीलाई पनि प्रोत्साहन दिनेछ’ रोनाल्डोलाई अनुबन्ध गरेपछि अल–नास्रले एक ट्विटमा भनेको थियो । विश्वकपअघि नै बेरोजगार बनेका रोनाल्डो पनि कीर्तिमानी मूल्यमा नयाँ क्लबमा भित्रिन पाउँदा कम्ती उत्साहित छैनन् । यो सम्झौताले रोनाल्डोलाई इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबलर बनाएको छ ।

साउदी अरबले उनको स्टारडमबाट फाइदा लिनकै लागि यो सम्झौता गरेको आँकलन व्यापक बनेको छ । रोनाल्डोले २०३० फिफा विश्वकप आयोजना गर्ने साउदी अरबको योजनालाई बलियो बनाउन सक्ने मिडल इस्ट इकोनोमी वेबसाइटले एक समाचारमा उल्लेख गरेको छ । रोनाल्डोको आगमनसँगै अहिले सारा विश्वभरका मिडियाको पूरै ध्यान साउदी फुटबलमाथि केन्द्रित भएको छ । साउदी अरबले इजिप्ट र ग्रिससँग मिलेर सन् २०३० को फिफा विश्वकपको संयुक्त आयोजनाको प्रस्ताव गर्न सक्ने पनि समाचारमा भनिएको छ ।

यी तीन ओटै देश पूर्वाधारमा ठूलो लगानी गरेर २०३० को फिफा विश्वकप आयोजनाको लागि प्रस्ताव गर्ने शुरमा छन् । साउदीले यसअघि नै फर्मुला वान रेस र एसियाली विन्टर खेलकुद २०२९ लगायत अन्य अन्तरराष्ट्रिय खेलकुद कार्यक्रम आयोजनामा अग्रसरता देखाइसकेको छ । रोनाल्डोले एक अन्तरवार्तामा म्यान्चेष्टर युनाइटेडका व्यवस्थापक विरुद्ध अभिव्यक्ति दिएपछि क्बलले उनीसँगको सम्झौता रद्द गरेको थियो । गत वर्ष नै साउदीको अर्को फुटबल क्लब अल–हिलालले रोनाल्डोलाई अफर गरेको थियो । तर, आफू म्यान यूसँग खुसी रहेको भन्दै उनले सो अफर अस्वीकार गरिदिए । अहिले उनी साउदीकै अर्को क्लबमा यसअघि कुनै पनि फुटबलरले नपाएको पारिश्रमिक लिएर अनुबन्धित भएका छन् । साउदीमा उनले के कस्ता रेकर्ड बनाउँलान् ? यो भने हेर्न बाँकी नै छ । तर, रोनाल्डोको उपस्थितिले साउदी फुटबल जगतलाई निकै फाइदा हुने देखिन्छ । आर्थिक अभियान/एजेन्सी

Translate »