टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो,उद्दार कार्य जारी
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ ।
भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन् । यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्दार र राहतलाई तिब्रता दिइरहेको बताए ।
उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ ।
सिरियामा उद्दारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए । राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। देशभरि हजारौं घाइते भएका छन् ।
टर्कीको भूकम्प प्रभावित क्षेत्रमा धेरै सिरियाली युद्ध शरणार्थीहरू पनि छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार टर्कीले ३।६ मिलियन सिरियाली शरणार्थीलाई राखेको छ। जुन कुनै पनि अन्य देश भन्दा बढी छ।
उद्दारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्दारका लागि सहयोग पठाउने क्रम जारी छ ।
कतिपयले पीडितहरू पानी परेपछि घर छोडेर बाहिरिएका छन् ।
सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका दश वटा प्रान्त नराम्ररी प्रभावित भएका हुन् ।
भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्दार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ । टर्की र सिरियाका उद्दारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन् ।
विश्वका शीर्ष नेताहरुले टर्कीलाई सहायता गर्ने वचन दिँदै अन्तर्राष्ट्रिय सहयोगको आव्हान गरेका छन् ।
भूकम्पले ठूलो जनधनको क्षति भएपछि टर्कीले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। साथै आगामी फेब्रुअरी १२ सम्म राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो ।
भूकम्पविद्हरूले सोमबार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्। भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो ।
पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो ।
यसको धक्का साइप्रस, इजिप्ट, इजरायल र लेबनानमा पनि महसुस गरिएको थियो ।
एजेन्सी