पर्यटक लोभ्याउँदै कुपिन्डे दह


बैशाख ६, सल्यान । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या दैनिक बढ्न थालेको छ।
अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वन जङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पर्दै रमाउने गर्दछन् ।
एक हप्ताअघि उक्त दहमा भेटिनु भएकी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी सुशिला भटृराई त्यहाँको वातावरण देखेर निकै खुसी भईन् ।
उनले भने ‘यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टि मिलेको छ। आफ्नी बहिनी र छोराछोरीसँगै पुग्नु भएकी भट्टराईले चार घण्टा दह क्षेत्रमा बिताउन पाउँदा जति आनन्दको अनुभूति गर्न पाए त्यहाँको सुन्दरदहे स्वर्गको वर्णन गरेजस्तै देखिने बताए ।
“यति कञ्चन दहलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचार प्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके यसले कर्णाली जिल्लाको सल्यानका साथै आसपास जिल्लाका गाउँको विकासमा समेत टेवा पुग्न सक्ने देखिन्छ,’ उनले भने, ‘सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आराधना गर्न गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ देख्दा निकै मनमोहक लाग्यो ।’
बाँकेको कोहलपुरबाट उक्त दह हेर्नकै लागि साथीहरूसँगै पुगेकी कालिका रेग्मी पनि यहाँको वातावरण देख्दा निकै खुसी थिईन् । उनले दहमा ढुङ्गा चढेर जलविहार गर्नाका साथै फोटो खिची टिकटक बनाउन पाउँदा निकै आनन्द भएको बताए । अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गको बीचमा यति ठूलो र निलो देखिने दह देख्दा यात्राको थकान मेटिनाका साथै शीतलताको अनुभूति भएको उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५की निरा ढुङ्गानाले पनि यो दह अद्वितीय सम्पदा भएकाले यसको संरक्षणका लागि सबै जना लाग्नु पर्नेमा जोड दिए । दहसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न र दहदेखि केही टाढा चमेना गृह तथा होटल सञ्चालन गरिएमा पर्यटकलाई सुविधा हुनाका साथै पर्यटकहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्छ त्यसैले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन उनले आग्रह गरे । सास्ती खेपेर यहाँ आइपुगे पनि त्यहाँको वातावरणले सबै थकान मेटाउने रहेछ ढुङ्गानाले भने ।
कुपिन्डे दहमा डुङ्गा चलाउँदै आएका हरिशचन्द्र पुरीले यस दहको पानीले वर्षमा तीन पटकसम्म रङ्ग बदल्ने गरेको जानकारी गराए । प्राय निलो देखिने दहको पानी माघ–फागुन महिनामा रङ्ग खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उहाँले बताउनुभयो । गर्मी महिनामा दहको अवलोकन गर्न र ढुङ्गा चढेर सयर गर्न टाढा टाढाबाट आउने पर्यटकहरूको सङ्ख्या बढ्ने गरेको डुङ्गा चालक पुरीले उल्लेख गर्नुभयो । डुङ्गा चढेर पुरै दह अवलोकन गरेबापत रु दुईसय शुल्क लिने गरिएको र मासिक कम्तीमा पनि २० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ थियो ।
कुपिन्डे दह संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले २०६७ सालदेखि मात्रै यो दहको चर्चा सुरु भएको बताए । उनका अनुसार उक्त दहको छुट्टै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ यो दह चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो ।
कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २ सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेको छ। दहले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताइन्छ ।
दहमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने पनि स्पष्ट जानकारी यहाँका बासिन्दामा छैन । यो दहको देखिने मुहान पनि छैन र निकास पनि छैन तर वर्षामा दहमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए। यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ।
दहमा स्वदेशी तथा विदेशी पर्यटकलाई धेरै सङ्ख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे दह संरक्षण समितिका पदाधिकारी बताउँछन् । त्यसका लागि दह क्षेत्रमा पुग्ने बाटो कालोपत्रे हुनुपर्ने, पर्यटकहरूका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र दह क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्नेमा सरोकारवालाले जोड दिए । रासस

