सुर्खेतमा दूध तथा दुग्धजन्य वस्तुको मूल्यवृद्धि


स्काई न्यूज /बैशाख ६, सुर्खेत । सुर्खेतमा दूध तथा दुग्धजन्य वस्तुको मूल्य वृद्धि भएको छ । बुधवारदेखि लागु हुने गरी दूध, दही, पनिर, घ्यूलगायतको मूल्य वृद्धि गरिएको हो । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला डेरी व्यवसायी र किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम् मूल्य निर्धारण गरेपछि यसको भार सिधै उपभोक्तामा पर्नेछ ।

अब उपभोक्तालाई दुधको मूल्य प्रतिलिटर रू. ८० बाट बढाएर ९०, दहीको मूल्य प्रतिलिटर रू.१२० बाट बढाएर रु १३०, घ्यूको मूल्य प्रतिकिलो रु. १ हजार २०० बाट बढाएर १ हजार ३०० निर्धारण गरिएको कर्णाली डेरी उद्योगी व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद जैसीले बताए ।
त्यस्तै पनिर प्रतिकिलो रु. ९००, खुवा प्रतिकिलो रु. ९००, कुराउनी प्रतिकिलो रु. ११००, छुर्पी प्रतिकिलो रु.१३००, नौनी प्रतिकिलो रु. ११५०, कच्चा क्रिम प्रतिकिलो रु.९००, मही प्रतिलिटर रु.७० निर्धारण गरिएको छ । डेरी व्यावसायीको हालै बसेको बैठकबाट मूल्य समायोजन गरिएको अध्यक्ष जैसीले जानकारी दिए ।


तर, यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले उपभोक्तालाई जानकारी नै नदिएर डेरी व्यवसायीहरुले आफुखुशी दूध तथा दुग्धजन्य वस्तुको मूल्य बृद्धि गरेको गुनासो गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालयमा डेरी व्यवसायी, दुग्ध उत्पादक कृषक, उपभोक्ताकर्मी, जिल्ला स्थित सरकारी अधिकारीहरु वीच मूल्य समोजन सम्बन्धि बैठक बस्यो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले डेरी व्यवसायीहरुले दुध तथा दुग्धजन्य वस्तुको खरिद विक्री गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, दुग्ध उद्योगी व्यवसायीहरुले खाद्य अनुज्ञापत्र लिएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने, दूध तथा दुग्धजन्य वस्तुको गुणस्तर मापदण्ड पालन भए/नभएको अनुगमन गर्न तत्काल अनुगमन टोली परिचालन गरिने निर्णय भएको हो ।
बैठकमा सहभागि डेरी व्यवसायीहरुले दूधमा बृद्धि गरेको प्रतिलिटर रु. १० रुपैयाँ मध्ये ८ रुपैयाँ ८० पैसा कृषकलाई र १ रुपैयाँ २० पैसा मात्र आफुहरुले लाभ लिने सहमति गरेको बताएका छन् । सुर्खेत जिल्लामा दैनिक करीब १५ हजार लिटर दुध खपत हुने गरेको छ । तर यो मागभन्दा कम हो । उपभोक्ताको माग अनुसार खपत करीब ४ हजार लिटर न्यून हो ।


