खोई औद्योगिक वातावरण ?

समृद्धिका लागि औद्योगिकीकरण अपरिहार्य हुन्छ । विकसित देशहरुले जे जति प्रगति, उन्नति गरे ती सबै उद्योगधन्दा मार्फत नै गरेका हुन् । युरोपलाई नयाँ युगमा प्रवेश गराएकै औद्योगिक क्रान्तिले थियो । उनीहरुले उता औद्योगिक क्रान्ति सुरु गर्दा नेपालमा पनि उद्योग निर्माणको क्रम सुरु भएको थिए । उद्योग विस्तारका क्रममा सुर्खेतसम्म आईपुग्दा कर्णाली प्रदेशकै एक मात्र वीरेन्द्रनगर औद्योगिक क्षेत्र अहिले केही टुटपूँजिया व्यापारीहरुको हातमा पुगेको छ । प्रजातन्त्रको पुनर्बहाली हुँदै लोकतान्त्रिक गणतन्त्रको राजनीतिक फड्को मार्दासम्म पनि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगधन्दामा खास उन्नति हुन सकेको छैन् । औद्योगिक वातावरण नबन्नुको प्रमुख कारण स्थायी राजनीति, स्थायी नीति नियमको सर्वथा अभाव रहनु नै प्रमुख कारण देखिन्छ । अनि राजनीतिमा कहिल्यै पनि आर्थिक एजेन्डा प्रमुख भएको छैन । पूर्वी नेपालमा उद्योगधन्दा जति फस्टाएका छन्, त्यसको राज त्यहाँ उपलब्ध अनुकूल वातावरण हो । उद्योगमैत्री नीति र सस्तो ज्याला, दक्ष जनशक्ति अनि उद्योगका लागि छुट्टै क्षेत्रको निर्माणबाट लगानी भित्र्याउन पूर्वी क्षेत्रका उद्यमीहरु सफल भएँ । तर, सुर्खेतकोे औद्योगिक क्षेत्र राजशाहीको पतनसँगै ओझेलमा पर्यो ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र कतिपय उद्योग अहिले पनि जेनतेन अवस्थामा सञ्चालनमा रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले राम्रोसँग सञ्चालनमा रहेका उद्योगलाई सहयोग पनि गर्न नसक्ने र रुग्ण उद्योगलाई हटाउन पनि नसक्दा औद्योगिक वातावरण वन्न नसकेको हो । यद्यपि ! यो नाम मात्रको औद्योगिक क्षेत्रमा पर्याप्त जग्गा पनि छैन् । हाल भएको जग्गा भरी व्यापारीको मुठ्ठीमा छ । नाम मात्रका उद्योगलाई हटाउन नसक्नु नै कानूनी अड्चनसँगै राजनीतिक हस्तक्षेपले औद्योगिक वातावरण तयार हुन सकिरहेको छैन् । उद्योगका नाममा सस्तोमा जग्गा लिजमा लिने र अर्कोलाई महँगोमा बेच्ने चलनले नै सुर्खेतमा उद्योगको विकासको मुख्य बाधक हो । अहिले पनि औद्योगिक तथा बजार क्षेत्रका अधिकांस सरकारी जमिन सस्तोमा लिजमा लिएर महँगोमा भाडा लगाएर कमाइ खाने वा विक्री गर्ने चलन कायमै छ । यसतर्फ स्थानीय तथा प्रदेश सरकारको समेत ध्यान पुग्न सकेको छैन् । उद्योगधन्दा स्थापना गर्न चाहनेले अहिले पनि सरकारी प्रक्रियाहरुमा अनेक हण्डर र ठक्कर व्यहोर्न बाध्य हुन्छ । उद्योग खोल्नभन्दा सरकारी प्रक्रिया पूरा गर्न कठिन छ । उद्यमीलाई सहज बनाउनेभन्दा उसलाई अप्ठेरो पार्ने प्रवृत्ति छ ।

उद्यम गर्न आवश्यक जग्गा सजिलै पाइन्न । कच्चा पदार्थ पाउन मुस्किल हुन्छ । ऊर्जाका लागि आज पनि सास्ती नै व्यहोर्नुपर्छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भएको सुर्खेत डेरी उद्योग हो । उसलाई सरकारले वर्षौंदेखि चाहिनेजति बिजुलीको व्यवस्था समेत गर्न सकेको छैन् । उद्योगधन्दा खुल्न र फुल्न नपाएकैले यो क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा योगदान दिन नसकेको हो । सरकारले नत पूर्वाधार तयार पार्छ, नत अनुकूल नीतिनियम बनाइदिन्छ । उद्यम गर्छु भन्नेले बैंक ऋण लिन पनि उस्तै धामा छ । ऋण पाएपनि ब्याजदर चर्काे हुन्छ । तर पनि राजनीतिक नेतृत्व समृद्धिको नारा लगाउन छोड्दैनन् । तर उद्योगधन्दाको विकासबिना कर्णालीको समृद्धि सम्भव छैन् । सरकार स्वयम् आफैले घोषणा गरेका  नयाँ औद्योगिक क्षेत्र निर्माणदेखि प्रत्येक स्थानीय तहमा एउटा औद्योगिक ग्राम निर्माण गर्ने योजनाहरु अलपत्र छन् । कर्णालीमा औद्योगिक वातावरण निर्माणका लागि अब खुद उद्योगी, व्यापारदेखि प्रदेश सरकार कम्मर कसेर जुट्न अति आवश्यक भइसक्यो ।

Translate »