लुम्बिनीको मुख्यमन्त्रीमा चौधरी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ८ दलका सांसदहरूको समर्थनमा चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले बैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो ।
केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ ।