सुउवा संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको सुउवा संघले जनाएको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलले महासचिव भण्डारी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएको जानकारी दिए ।

उनले महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको बताए । भण्डारीको खोजीका लागि अध्यक्ष कँडेल पनि कञ्चनपुर पुगेका छन् । ‘हामी महासचिव ज्यूको खोजी कार्यका लागि कैलालीको अत्तरिया आइपुगेका छौं । सीसीटीभी हेर्दे आइरहेका छौं,’ उनले भने ।

यता भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको ईलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए ।

उनका अनुसार भण्डारीले प्रयोग गर्ने बा१८च– ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको हो । गाडीमा मोवाइल पनि भेटिएको छ ।

‘मोवाइल गाडिभित्रै कपडाले बेरेर राख्नु भएको रहेछ । चाबी पनि गाडीको डिकिमै भेटियो,’ उनले भने, ‘उहाँ गाडीबाट निक्लियर गएको सीसीटिभीमा देखिन्छ । अहिलेसम्म उहाँको अवस्था अज्ञात नै छ, हामीले उहाँको हुलिया सार्वजनिक गरेर खोजीका लागि सबै ठाउँमा खबर गरेका छौं ।’ अनलाईन खबर

 

Translate »