घट्यो हिराको भाउ

अझै घट्छ भन्छन् विश्लेषकहरु

काठमाडौं । हिराको गरगहना मन नपर्ने महिला संसारमा कमै होलान् । तपाईले पनि सक्कलीरनक्कली हिराका गरगहना किनेर राख्नु भएको होला । लगानीको दृष्टिले भने अहिले हिरा उत्तम साधन होइन ।

गएको केही महीनायता हिराको भाउ उल्लेख्य रुपमा घटिरहेको छ । सन् २०२२ को फेब्रुअरीमा हिराको भाउ कीर्तिमानी उच्च स्तर छोएको थियो । तर सो बिन्दुबाट अहिले हिराको भाउ १८ प्रतिशतले घटिसकेको ग्लोबल रफ डाइमन्ड प्राइस इन्डेक्सले देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने मूल्य साढे ६ प्रतिशत तल छ ।

बजार विश्लेषकहरुका अनुसार भाउ झनै घट्ने क्रममा छ । औसत गुणस्तरभन्दा केही राम्रो १ क्यारेट प्राकृतिक हिराको भाउ एक वर्ष अघि ६ हजार ७०० डलर थियो । अहिले सोही आकारको हिरा ५ हजार ३०० डलर आसपास छ । कोरोना भाइरसको महामारीको बेलामा अन्य बहुमूल्य गरगहनाको भाउ बढेकै बेलामा हिराको भाउ पनि बढेको थियो ।

गएको वर्ष फेब्रुअरीमा भाउ बढेर उत्कर्षमा पुग्यो । शेयर बजारमा भएको वृद्धि अनि अर्थतन्त्रलाई टेवा दिन चालिएका प्रोत्साहन कार्यक्रमका कारण उपभोक्ताहरुको गोजीमा अटाई नअटाई पैसा थियो । उपभोक्ताहरु हरहमेशा खर्च गर्न तयार थिए । कोभिड प्रतिबन्धबीच घुम्न वा बाहिर गएर खान नपाएपछि अधिकांश पैसा विलासी वस्तु र गरगहनामा खर्च भए । कोभिड नियन्त्रण खुकुलो बनेर आर्थिक गतिविधि विस्तारै पुरानै लयमा फर्किदै गर्दा हिराको भाउ विस्तारै घट्न थाल्यो अनि तीव्र कमी बेहोरेको देखिन्छ ।

मानव निर्मित हिराका कारण बजारमा प्रतिस्पर्धा चुलिएको, चीनमा अपेक्षा गरिएभन्दा सुस्त आर्थिक वृद्धिदर अनि अनिश्चित आर्थिक परिदृश्यले पनि हिरा बजार झनै दबाबमा परेको उद्योगका विज्ञहरु बताउँछन् । अहिले उपभोक्ताहरुको ध्यान जति प्रयोगशालामा बनाइएको हिरातिर तानिएको छ । हिरा बजारमा प्राकृतिक हिराको दाँजोमा मानव निर्मित हिराको विक्री बढ्दो छ ।

सन् २०२० मा मानव निर्मित हिराको विक्री २ दशमलव ४ प्रतिशतले मात्रै बढेको थियो । अहिले यो वृद्धि दोहोरो अंक नजिक पुगेको छ । मानव निर्मित हिरा हरेक स्वरुपमा प्राकृतिक जस्तै देखिन्छ । यो प्राकृतिक हिरा भन्दा सस्तो छ । गएको तीन वर्षमा मानव निर्मित हिरोको भाउ ५९ प्रतिशतले घटेको छ । रुस विश्वको सबैभन्दा ठूलो हिरा निर्माता हो ।

रुसी हिरामा प्रतिबन्ध लागेको छैन । भारत, यूएईले रुसको अप्रशोधित हिरा आयातमा बन्देज लगाएका छैनन । ईयूले पनि रुसी हिरा आयातमा कुनै रोकटोक लगाएको छैन । अहिले विश्व बजारमा हिराको आपूर्ति सहज छ । त्यसैले पनि भाउ बढ्ने भन्दा पनि झन ओरालो लाग्ने विश्लेषकहरु बताउँछन् । एजेन्सी

Translate »